ad ad

राजनीति


सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरणको जाहेरी

सांसद वलीले दिइन् पूर्वमुख्यमन्त्री पोखरेलसहित ४ जनाविरुद्ध अपहरणको जाहेरी

सुदीप भण्डारी
भदौ २९, २०७८ मंगलबार २१:४६, काठमाडौँ

लुम्बिनी प्रदेश सभा सदस्य विमलाकुमारी खत्री वलीले लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी छन्।

पोखरेल मुख्यमन्त्री रहँदा आफूलाई दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्।

जाहेरीमा उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको त्यहाँबाट जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए।

‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ,’ उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएको र उनले घटनाको शुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिवद्धतासहितको पत्र दिएका छन्।

‘हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने, ‘उहाँले घटनाको शुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौँ भन्ने प्रतिवद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’

दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी आइनपुगेको बताए।

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ मा छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .