राजनीति


ओलीको टिप्पणी : प्रचण्ड धोकेबाज हुन्, तान्त्रिक जस्तै छन्, उनको मोहजालमा नपर्नू

ओलीको टिप्पणी : प्रचण्ड धोकेबाज हुन्, तान्त्रिक जस्तै छन्, उनको मोहजालमा नपर्नू

नेपालखबर
भदौ २९, २०७८ मंगलबार १६:५, काठमाडौँ

प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'माथि आक्रोश पोखेका छन् ।

गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रचण्डलाई धोकेबाज र छट्टु नेताको आरोप लगाए।

प्रचण्ड असल बाबु, काका, ससुरो, सम्धी भए पनि धोकेबाज नेता भएको उनले बताए। 

'प्रचण्ड असल बाउ, काका, असल ससुरो हुन् । राम्रो सम्धी हुन्, राम्रो ससुरा हुन्, राम्रो ज्वाइँ हुन् तर धोकेबाज नेता हुन्', उनले भने, 'प्रचण्ड सबै हिसाबले राम्रो तर एउटै मात्र खराबी छट्टु नेता हुन्। कार्यकर्तालाई झुक्याएर, छक्याएर आफ्नो राजनीतिक दुनो सोझ्याउने मात्रै हुन्।'

आफ्नै कार्यकर्ताको हत्याकाण्ड मच्चाउने उपेन्द्र यादवसँग प्रचण्डले गठबन्धन गरेर लेनदेनको राजनीति गरेको ओलीले आरोप लगाए। 

'प्रचण्ड यस्तो तान्त्रिक, मायावी मान्छे हो । जादुगरले जस्तो यस्तरी मान्छे भुल्याउने अलमल्याउने गर्छन् । मान्छेलाई हो कि जस्तो पारेर भुल्याउँछन्', उनले भने, '०६४ मा सरकार बनाएर के गरे ? सहिद फालिएका छन् । गौरमा २४ जना मारिएका छन् । तिनैसँग सौदाबाजी गरिरहेका छन् । कार्यकर्ता मारिरहेका छन् । लेनदेनको राजनीति गरिरहेका छन्।'

प्रचण्डले एमालेबाट एक चोइटो मात्रै लगेर जान सकेको ओलीले बताए। 'प्रचण्डले एउटा चोइटो लगेर गएका माओवादी केन्द्रको नाममा माधव गुट मात्रै हो', उनले भने, 'माओवादी केन्द्र होइन। प्रचण्डको मोहजालमा नपर्नुस्। फर्किनुस्।'

जनाधार गुमाइसकेर अझै प्रचण्डले धम्क्याउने गरेको ओलीले बताए। 'धम्क्याउनुपर्‍यो भने म आगो हुँ नजिक्याऊ भन्ने । मैले पनि दुई बाल्टी पानी हाल्दिउँला भने', उनले भने, 'केको आँटले धम्क्याउन खोजेको हो?'

प्रचण्डको पछाडि लागेर जिन्दगी बर्बाद नपार्न पनि उनले माओवादी केन्द्र कार्यकर्तालाई अपिल गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .