ad ad

राजनीति


एकीकृत समाजवादी सुदूरपश्चिम दलको बैठक, नेता चयन गरिँदै

एकीकृत समाजवादी सुदूरपश्चिम दलको बैठक, नेता चयन गरिँदै

गोकुल जोशी
भदौ २८, २०७८ सोमबार १२:१२, काठमाडौँ

माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश संसदीय दलको बैठक सोमबार बस्दैछ। 

नेकपा एमाले विभाजन पछि प्रदेश सभामा सबैभन्दा ठूलो दल बनेको एकीकृत समाजवादी पार्टीको पहिलो पटक संसदीय दलको बैठक बस्न लागेको हो।

दिउँसो १ बजेका लागि प्रदेश सभा सचिवालयस्थित संसदीय दलको कार्यालयमा बैठक डाकिएको आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले बताइन। 

‘आज पहिलो पटक सांसदहरु भेटघाट गर्दैछौँ। सबै माननीय ज्यूहरुलाई खबर गरिएको छ। बैठकको एजेण्डा त खासै तय भएका छैनन्।’ उनले भनिन्, ‘दलको विधान तयार गर्ने तथा दलको नेता चयन गर्ने विषयमा छलफल हुन्छ।’

एकीकृत समाजवादीका जेष्ठ सदस्य सांसद बल बहादुर सोडारीको अध्यक्षतामा बैठक बस्ने जनाइएको छ। नेकपा एमाले विभाजन पछि १४ सांसद सहित एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो पार्टी बनेको छ।

तत्कालीन माधव नेपाल समूहका सांसदहरु दीर्घ सोडारी, पूर्णा जोशी, माया भट्ट, तारालामा तामाङ, प्रकाश रावल, लालबहादुर खड्का, कुलवीर चौधरी, अमर बहादुर साँउद, बल बहादुर सोडारी, दुर्गा कामी, मनाकुमारी साँउद, चुनुकुमारी चौधरी, सुशिल बुढाथोकी र माया तामाङ बोहरा (ओली समूह) ले एमाले छाडेर समाजवादी रोजेका थिए।

एकीकृत समाजवादी संसदीय दलको नेतामा दाबेदार चार सांसद देखिएका छन्। भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी, आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी, सांसद तारालामा तामाङ र पूर्व उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट दाबेदारका रुपमा देखिएका छन्।

भौतिक पूर्वाधार विकासमन्त्री सोडारी र सांसद तामाङमध्ये एकजना संसदीय दलको नेता बन्ने प्रबल सम्भावना रहेको स्रोतको दाबी छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .