ad ad

राजनीति


प्रदेश १ : एकीकृत समाजवादीले प्रमाणपत्र पाउनासाथ मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

प्रदेश १ : एकीकृत समाजवादीले प्रमाणपत्र पाउनासाथ मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव

सागर न्यौपाने
भदौ २५, २०७८ शुक्रबार ७:३५, काठमाडौँ

पाँच दलीय गठबन्धनले प्रदेश १ मा पनि सरकार परिवर्तनको तयारी गरेका छन् ।

सबैभन्दा ठूलो दल एमाले विभाजनपछिको प्रभावस्वरुप उक्त प्रदेशमा पनि चाँडै सत्ता परिवर्तनकाे अभ्यास भएको हो।

मुख्यमन्त्री भएको एक महिना नबित्दै अल्पमतमा परेका मुख्यमन्त्री भीम आचार्यलाई बिदा गरेर विपक्षी गठबन्धन सरकार बनाउने दाउमा जुटेको हो। 

निर्वाचन आयोगले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) लाई प्रदेशमा प्रमाणपत्र लिएलगत्तै संसदीय दलको नेता चुन्नेछ। 

त्यसपछि सरकार परिवर्तनको औपचारिक प्रक्रिया सुरु हुने नेपाली कांग्रेस प्रदेश १ का एकजना सांसदले नेपालखबरलाई जानकारी दिए।

केन्द्रमा जस्तै प्रदेश १ मा पनि नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी (जसपा), संघीय लोकतान्त्रिक मञ्च मिलेर नयाँ सरकार गठन गर्न लागेका हुन्।

भदौ ९ गते नेकपा एमाले विभाजन भएको थियो। विभाजन भएपछि एमालेका १० सांसद प्रदेश १ मा एकीकृत समाजवादी पार्टीमा लागेका छन्। 

एमाले विभाजन नहुन्जेल आचार्यसँग एमालेका ५१ सांसदसहित बहुमत थियो। तर एमालेका १० सांसद नयाँ पार्टीमा लागेपछि मुख्यमन्त्री आचार्य अल्पमतमा परिसकेका छन्।

आचार्य गत भदौ १० गते मुख्यमन्त्री बनेका थिए। प्रदेश १ मा ९३ जम्मा सांसद छन्। विभाजन भएपछि १० जना सांसदले नयाँ दल रोज्दा अब एमालेसँग ४१ सांसद बाँकी छन्। उनलाई बहुमतका लागि ४६ सांसद आवश्यक पर्छ।

प्रदेशमा कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादी पार्टी १०, जनता समाजवादी पार्टीका ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च १ जना प्रदेश सांसद गरेर जम्मा संख्या ५० हुन्छ। सरकार बनाउन ४६ सांसद चाहिने भएकाले अहिले प्रतिपक्षसँग बहुमत देखिएको छ

आचार्यलाई विश्वासको मत लिन अझै २ हप्ता समय छ। तर, पाँच दलीय गठबन्धनले त्यो समय पनि नकुर्ने रणनीति बनाएको छ।

प्रदेशबाट पनि समाजवादी पार्टीले दलको प्रमाणपत्र लिएपछि मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव अघि बढाउन छलफल भइरहेको प्रदेश सांसद राजन राईले जानकारी दिए । 

प्रदेशमा रहेका एमाले बाहेकका दलहरुबीच नयाँ सरकार गठनका विषयमा निरन्तर छलफल भएको उनले बताएका छन्। 

आचार्य मुख्यमन्त्री बनेको हप्ता दिनपछि विपक्षी सबै दलका नेताहरुबीच नयाँ सरकार गठनबारे छलफल भएको थियो। अनौपचारिक रुपमा दैनिक संवाद जारी रहेको नेताहरु बताउँछन् ।
‘प्रदेश १ मा पाँच दलीय गठबन्धनले नयाँ सरकार बनाउँछ', कांग्रेसका ती सांसदले नेपालखबरसँग भने, ‘एकीकृत समाजवादीले दलको मान्यता पाएको प्रमाणपत्र पाउनेबित्तिकै प्रक्रिया सुरु गर्छौं।’

केन्द्रमा कांग्रेस नेतृत्वमा माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले गठबन्धन बनाएका छन्। त्यही गठबन्धनले प्रदेशमा पनि सरकारमाथि दाबी गरिरहेको छ।

स्रोतका अनुसार प्रदेश १ मा पनि एकीकृत समाजवादी पार्टीले नै सरकारको नेतृत्व गर्ने सम्भावना बलियो छ। 

प्रदेश १ मा कांग्रेसले पनि सरकारको नेतृत्व गर्न इच्छा राखेको छ। तर, केन्द्रको गठबन्धन भत्कने गरी कुनै कदम नचाल्ने उनीहरुबीच समझदारी बनेको छ। 

‘केन्द्रमा बनेको अन्डरस्ट्यान्डिङ बागमती र प्रदेश १ मा माधवकुमार नेपालको पार्टी नेतृत्व गर्ने भन्ने छ,’ अर्का एक सांसदले भने, ‘ त्यहीअनुसार नेतृत्व टुंगो लगाउँछौं।’

स्रोतका अनुसार परिस्थितिमा कुनै फेरबदल नभए नेकपा एकीकृत समाजवादी पार्टीका भोजपुरबाट निर्वाचित सांसद राजेन्द्र राई मुख्यमन्त्री हुने बढी सम्भावना छ। 

त्यसो त मुख्यमन्त्री आचार्यले नैतिकताका आधारमा राजीनामा दिने विश्वासमा पनि पाँच दलीय गठबन्धन बसेको छ। यसअघि भोजपुरबाट नै निर्वाचित एमाले सांसद शेरधन राईले तीन वर्षसम्म मुख्यमन्त्री चलाएपछि आचार्यलाई सरकारको बागडोर सुम्पेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .