ad ad

राजनीति


स्थानीय जनप्रतिनिधिले जोगाइदिए शंकर पोखरेलको साख

स्थानीय जनप्रतिनिधिले जोगाइदिए शंकर पोखरेलको साख

सुदीप भण्डारी
भदौ २२, २०७८ मंगलबार २१:१, काठमाडौँ

तीनवटा संघीय निर्वाचन क्षेत्र रहेको दाङमा गत चुनावमा २ वटा क्षेत्रमा एमाले र एक क्षेत्रमा माओवादी केन्द्र विजयी भएका थिए।

दाङ क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार कृष्णबहादुर महराले जितेका थिए। एमालेका मेटमणि चौधरी क्षेत्र नम्बर १ र हिराचन्द्र केसी क्षेत्र नम्बर ३ बाट निर्वाचन जितेर प्रतिनिधि सभामा सदस्य भएका थिए।

तर अहिले चौधरी र केसी दुवै एमालेमा छैनन्। एमाले विभाजन गरी माधव नेपालले गठन गरेको नेकपा (एकीकृत समाजवादी) मा आबद्ध भएका छन्। 

प्रदेश सभाका ६ वटा निर्वाचन क्षेत्रमध्ये एक क्षेत्रमा कांग्रेस, एक क्षेत्रमा माओवादी केन्द्र र बाँकी चारवटा क्षेत्रमा एमालेले जितेका थिए। एमालेले जितेका चारवटा क्षेत्रमध्ये एउटामा शंकर पोखरेल विजयी भएर लुम्बिनीको मुख्यमन्त्रीसमेत बनेका थिए। 

आफूसँगै जिल्लाबाट प्रदेश सांसद बनेका ३ जनामध्ये २ जनाले पोखरेलको साथ छाडेका छन्। उत्तरकुमार वलीको निधनपछि माओवादी केन्द्र र एमाले एकता भएको अवस्थामा जिल्लाको क्षेत्र नम्बर ३ ख बाट उपचुनाव जितेकी विमलाकुमारी खत्री वलीले पछि नेकपा माओवादी केन्द्र रोजिन्। 

दाङ २ ख बाट निर्वाचित अमरबहादुर डाँगीले राजीनामा दिएर पोखरेललाई मुख्यमन्त्रीबाट हटाउन सहज बनाइदिएका थिए। शंकर पोखरेल दोस्रोपटक मुख्यमन्त्री नियुक्त भएपछि उनले वैशाखमा राजीनामा दिएका थिए। डाँगी अहिले नयाँ मुख्यमन्त्री कुलप्रसाद केसीको प्रमुख राजनीतिक सल्लाहकार छन्। 

अहिले शंकर पोखरेलका साथमा दाङ १ ख बाट चुनाव जितेका प्रदेश सांसद रेवतीरमण शर्मा मात्र छन्।

संघीय सांसद कसैको साथ नपाएका र एक जना प्रदेश सांसद आफूसँग राख्न सकेका ओलीका प्रिय पात्र शंकर पोखरलले स्थानीय तहका कति जनप्रतिनिधिलाई एमालेमा अड्याए त? अहिले धेरैको चासो छ। 

दाङ जिल्लामा २ उपमहानगरपालिका, १ नगरपालिका र ७ वटा गाउँपालिका गरी कूल १० वटा स्थानीय तह छन्। 

जसमध्ये ३ गाउँपालिकामा कांग्रेस, एक गाउँपालिकामा माओवादी केन्द्र विजयी भएका थिए। घोराही र तुलसीपुर उपमहानगरपालिका तथा लमही नगरपालिका र ३ गाउँपालिकामा एमालेले जित हासिल गरेको थियो। 

२०७४ सालको स्थानीय तहको चुनावमा एमालेले टिकट बाँड्दा सबैजसो पालिकामा प्रमुख र उपप्रमुख फरक–फरक पक्षकालाई दिएको थियो। पालिका प्रमुख ओली पक्ष भए उपप्रमुख माधव नेपाल पक्ष अर्थात् पालिका प्रमुख माधव पक्ष भएको ठाउँमा उपप्रमुखमा ओली पक्षकाले टिकट पाएका थिए।

दाङको घोराही उपमहानगरपालिका मेयर नरुलाल चौधरी केपी ओली पक्षका हुन्। उपमेयर सीता सिग्देल न्यौपाने माधव नेपाल पक्षकी थिइन्। 

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डे वामदेव गौतमनिकट हुन्। उनी माधव नेपालसँग पनि निकट थिए। उपमेयर माया शर्मा भने संस्थापन पक्षकै हुन्। 

लमही नगरपालिकाका मेयर कुलबहादुर खत्री क्षेत्री चुनावका बेला माधव नेपाल पक्षका थिए। 

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम अहिर संस्थापन पक्षकै हुन्। उपाध्यक्ष शान्ति चौधरी माधव नेपाल पक्षकी हुन्। चौधरी संघीय सांसद मेटमणि चौधरीकी दिदीसमेत हुन्। 

बबई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर पौडेल एमाले संस्थापन पक्षकै हुन्। उपाध्यक्ष सावित्रा विश्वकर्मा माधव नेपाल पक्षमा थिइन्। 

दंगीशरण गाउँपालिकाका अध्यक्ष भागीराम चौधरी एमाले ओली पक्षमै छन्। उपाध्यक्षमा कांग्रेसकी पिमाकुमारी वली हुन्। 

दाङमा एमालेबाट पालिका प्रमुख र उपप्रमुख गरी ११ जनामध्ये अहिले एक जना मात्र एकीकृत समाजवादी पार्टीमा गएका छन्। 

जिल्लाको गढवा गाउँपालिकाकी उपाध्यक्ष शान्ति चौधरीले मात्र निर्वाचन कार्यालय पुगेर नयाँ पार्टीका पक्षमा सनाखत गरेकी हुन्। एकीकृत समाजवादीका पक्षमा सनाखत गर्ने अरू केही वडा तहका जनप्रनिनिधि मात्र छन्। 

विगतमा माधव नेपाललाई साथ दिएका जनप्रतिनिधिमध्ये केही पुस ५ मा गरिएको प्रतिनिधि सभा विघटनपछि ओली पक्षमा लागेका हुन्।

कतिपयले पार्टी विभाजन अघिसम्म पनि माधव नेपाललाई नै साथ दिइरहेका थिए। एमालेबाट अलग हुनुअघि माधव नेपालका पक्षमा रहेकालाई ल्याउन सांसद मेटमणि चौधरीले प्रयास गरे पनि सफल भएनन्। 

केही दिनअघिसम्म माधव नेपालकै पक्षमा रहेकी घोराही उपमहानगरपालिकाकी उपमेयर सीता सिग्देल न्यौपानेले भने आफू पार्टी विभाजनका पक्षमा नलागेको बताइन्।

‘हिजो संसद् विघटन गर्न हुन्न भन्ने पक्षमा लागेकै हो। तर अब पार्टी विभाजन गर्नुपर्छ भन्नेमा म छैन’, उनले भनिन्, ‘पार्टीभित्र आन्तरिक छलफल, विवाद हुन्छ। विभाजनको पक्षमा जान हुन्न भन्ने हो।’ 
पछिल्लो दिनसम्म माधव नेपालकै पक्षमा रहेकी बबई गाउँपालिकाकी उपमेयर सावित्रा विश्वकर्माले पनि नयाँ पार्टीका पक्षमा सनाखत गर्न मानिनन्। 

माधव नेपालसँगै एकीकृत समाजवादी पार्टीमा लागेका दाङका अर्का प्रतिनिधि सभा सदस्य हिराचन्द्र केसीले पालिकाप्रमुख तथा उपप्रमुखहरू नयाँ पार्टीमा नआएको भए पनि वडा तहका जनप्रतिनिधिहरूले सनाखत गरिरहेको बताए।

संघीय र प्रदेश सांसदको साथ नपाए पनि केपी ओलीका प्रिय पात्र अर्थात् लुम्बिनीका पूर्वमुख्यमन्त्री शंकर पोखरेलले माधव पक्षका समेत स्थानीय जनप्रतिनिधिलाई आफूसँग अड्याउन सफल भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .