राजनीति


सुदूरपश्चिममा कांग्रेस अधिवेशन : कुन जिल्लामा को दाबेदार?

सुदूरपश्चिममा कांग्रेस अधिवेशन : कुन जिल्लामा को दाबेदार?

केशव सावद
भदौ १९, २०७८ शनिबार १३:२५, काठमाडौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको गृहप्रदेश सुदूरपश्चिमका नौमध्ये चार जिल्लामा वडा अधिवेशन सुरु भएको छ। 

सुदूरपश्चिमका कञ्चनपुर, डोटी, अछाम र बझाङमा शुक्रबार वडा अधिवेशन भएका हुन्। केन्द्रीय निर्वाचन समिति क्रियाशील सदस्यहरुको नामावली प्रकाशन गरिसकेकामध्ये दार्चुला र बैतडीले तयारी नपुगेको भन्दै वडा अधिवेशन गरेका छैनन्। 

बैतडीमा भदौ २१ र दार्चुलामा भदौ २२ गते वडा अधिवेशन गरिने बताइएको छ। 

यस्तै सभापति देउवाको गृहजिल्ला डडेल्धुरा, कैलाली र बाजुराको क्रियाशील सदस्यता नामावली प्रकाशित भइनसकेका कारण वडा अधिवेशन सुरु नभएको हो।   

वडा अधिवेशन गरिएका चार जिल्लाका अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व चयन भएको छ।

सर्वसम्मत नभएका वडाहरूमा चुनावी प्रक्रियाबाट वडा कार्यसमिति गठन भएको छ। केही वडाहरूमा वडा कार्यसमितिदेखि क्षेत्रीय प्रतिनिधिका लागि शनिबार मतदान हुँदैछ।  

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाको गृह प्रदेशका नौ जिल्लाको नेतृत्वका लागि तीन दर्जन बढी नेताहरुले आकांक्षा देखाएका छन्। 

सुदूरपश्चिममा संस्थापन समूहको वर्चश्व रहेको छ। दार्चुला, बैतडीबाहेकका सात जिल्लाका सभापतिहरु संस्थापननिकट छन्। 

आकांक्षी
देउवाको गृहजिल्ला डडेल्धुराका सभापति कर्णबहादुर मल्ल समय–समयमा वरिष्ठ नेता रामचन्द्र पौडेलनिकट जिल्ला सभापतिहरूको भेला र आन्दोलनमा सहभागी हुँदै आए पनि उनी आफू पौडेल समूहमा नरहेको दाबी गर्दै आएका छन्। 

कांग्रेसको विधानतः जिल्ला सभापतिको प्रतिस्पर्धाबाट बाहिरिएका मल्लको जिल्ला डडेल्धुरामा तीन जना सभापतिका आकांक्षी देखिएका छन्। 

डडेलधुरा कांग्रेसको नेतृत्वका लागि जिल्ला उपसभापति करुणाकर भट्ट, परशुराम नगरपालिका प्रमुख भीमबहादुर साउद र महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट आकांक्षी छन्। यी तीनै जना संस्थापन समूहनिकट छन्।

कांग्रेस केन्द्रीय कार्यसमितिमा दुई जना केन्द्रीय सदस्य भएको कञ्चनपुरमा पनि तीन जना नेताहरुले सभापतिमा उम्मेदवारी दिने बताउँदै आएका छन्। 

कञ्चनपुरका सभापति हरिप्रसाद बोहरा आसन्न जिल्ला अधिवेशनमा दोहोरिने तयारीमा जुटेका छन्। 

यस्तै यसअघि बोहोरासँगै पराजित महाधिवेशन प्रतिनिधि पदम बोगटीले पनि सभापति पदको उम्मेदवार बन्ने चाहना राखेका छन्। 

बोहरा र बोगटी दुवै संस्थापन पक्षीय नेताहरु हुन्। यस्तै कञ्चनपुरमा पौडेल समूहमा रहेका महाधिवेशन प्रतिनिधि गोपाल गुरुङले पनि दाबी गरिरहेका छन्।

सुदूरपश्चिमको राजधानी रहेको कैलालीमा जिल्ला सभापतिमा सात जना आकांक्षी देखिएका छन्।

कैलालीमा संस्थापन समूहभित्र बाटै सात जनाले दाबेदारी पेस गरेका छन्। दाबेदारमा उपसभापति प्रकाशबहादुर बम, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता रणबहादुर रावल, धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृप ओड, क्षेत्रीय सभापति खेम चौधरी, महासमिति सदस्य भीम बडुवाल, महाधिवेशन प्रतिनिधि गणेश देउवा र नारायणदत्त भट्ट छन्। 

संस्थापन समूहकै प्रभाव रहेको डोटीमा जिल्ला सभापति प्रदीप देउवाले दोहोरिने चाहना राखेका छन्। 

देउवा समूहकै शिखर नगरपालिका प्रमुख सीताराम जोशी, महासमिति सदस्य नरेन्द्र सिंह र भूमिराज बडू तथा महाधिवेशन प्रतिनिधि रामप्रसाद उपाध्यायले पनि आकांक्षा राखेका छन्। 

यस्तै जोरायल गाउँपालिकाको अध्यक्षमा पराजित दिपक विष्ट र केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र शाही पनि डोटीको नेतृत्वका लागि दाबी पेस गरिरहेका छन्। डोटीमा संस्थापन इतर समूहबाट लक्ष्मीराज पाठकको पनि चर्चा छ। 

अछाममा अहिलेसम्म सात जना आकांक्षी देखिएका छन्। जसमध्ये एक जनामात्रै संस्थापन इतर मानिन्छन्। 

अछाममा संस्थापन समूहबाट वर्तमान जिल्ला सभापति भरतकुमार स्वाँरले पुनः उम्मेदवार बन्ने बताएका छन्। यस्तै पूर्वसभापतिद्वय मेघराज खड्का र पुष्प शाहले पनि आकांक्षा राखेका छन्। 

संस्थापननिकट जिल्ला सचिव नमबहादुर शाही, महाधिवेशन प्रतिनिधि गणेश विष्ट र पञ्चदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउनेले पनि बन्ने घोषणा गरेका छन्। 

महामन्त्रीमा उम्मेदवारी घोषणा गरेर वरिष्ठ नेता पौडेलको समूहनिकट देखिएका युवा नेता गगन थापानिकट मानिने महासमिति सदस्य राजन कुँवरले पनि अछाम कांग्रेसको सभापतिमा दाबी पेस गरेका छन्। 

बाजुरामा वर्तमान सभापति कविराज पण्डित र महाधिवेशन प्रतिनिधि पदम शाहीले उम्मेदवार बन्ने आकांक्षा राखेका छन्। 

पौडेल समूहमा रहेका त्रिवेणी नगरपालिका प्रमुख रामसिंह रावल र सिटौला समूहका महासमिति सदस्य जनक गिरीले पनि दाबी गरेका छन्।

बझाङमा संस्थापन समूहबाट चार र संस्थापन इतर समूहबाट तीन जनाले उम्मेदवारको आकांक्षा व्यक्त गरेका छन्। संस्थापननिकट वर्तमान जिल्ला सभापति हर्कजंगबहादुर सिंहले दोहोरिन चाहेका छन्। 

उनीसँगै एउटै समूहमा रहेका क्षेत्रीय सभापति भक्तराज जोशी, कार्यसमिति सदस्य खड्कबहादुर बोहरा र पुष्कर बोहरा पनि दाबी गरिरहेका छन्। 

संस्थापन इतर समूहका जिल्ला उपसभापति ज्ञानबहादुर बोहरा, महाधिवेशन प्रतिनिधिद्वय देवराज जोशी र रमेश भण्डारी पनि सभापतिका आकांक्षी हुन्।

संस्थापन इतर समूहमा रहेका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडूको गृहजिल्ला दार्चुलामा दुई जना आकांक्षी देखिएका छन्। 

दार्चुलामा बडूनिकट वर्तमान सभापति ललित बोहरा र संस्थापननिकट जगदीश पालले उम्मेदवार बन्ने बताएका छन्।

बैतडीमा अहिलेसम्म सात आकांक्षी देखिएका छन्। जसमध्ये चारजना संस्थापन पक्षीय र तीन जना संस्थापन इतरनिकटका हुन्। 

संस्थापन समूहबाट पूर्वसभापति शिवराज भट्ट, पाटन नगरपालिका प्रमुख केशवबहादुर चन्द, सिँगास गाउँपालिकाका अध्यक्ष हरिसिंह धामी, महाधिवेशन प्रतिनिधि दीपक बमले उम्मेदवारी दिने तयारी गरेका छन्। 

यस्तै संस्थापन इतर समूहबाट वर्तमान उपसभापति नरेन्द्र थापा र उपसभापति चतुरबहादुर चन्दले पनि उम्मेदवारी दिने बताएका छन्। महामन्त्रीको उम्मेदवारी घोषणा गरिसकेका युवा नेता गगन थापा निकट जिल्ला सचिव वीरबहादुर विष्ट पनि सभापतिको दौडमा देखिएका छन्। 

बैतडीमा पूर्वसभापति भट्टले कांग्रेस विभाजन भएको समयमा सभापति देउवालाई साथ दिएका थिए। संस्थापन समूहबाट भट्टले टिकट पाए बैतडीमा सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना रहेको स्रोतले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .