ad ad

राजनीति


सभामुख नहुँदा विधेयक प्रभाणित गर्ने काम समेत रोकियो

सभामुख नहुँदा विधेयक प्रभाणित गर्ने काम समेत रोकियो

नेपालखबर
कात्तिक ५, २०७६ मंगलबार १०:३६,

प्रतिनिधिसभाका सभामुख नहुँदा संघीय संसदबाट पारित भएका विधेयकहरु प्रमाणित गर्ने काम नै रोकिएका छन्।

संसद सचिवालयका कर्मचारीमाथि बलात्कार गरेको आरोपमा सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रतिनिधिसभा र राष्ट्रिय सभाबाट पारित पाँच वटा विधेयक प्रमाणिकरण गर्न राष्ट्रपति समक्ष पठाउने काम नै रोकिएको हो। सभामुखले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने भएकाले संसदबाट पारित गरिएको ती विधेयकहरु प्रमाणीकरणको काम पनि रोकिएको संसद सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए। संवैधानिक व्यवस्था अनुसार सभामुखले दुवै सदनबाट पारित भएको विधेयक प्रमाणित गरी प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गर्नुपर्ने हुन्छ। तर सभामुख नहुँदा ती सबै कामहरु रोकिएको अवस्थामा रहेको पनि संसद सचिवालयले जनाएको छ।

संघीय संसद सचिवालयले सभामुख पद रिक्त हुँदा प्रतिनिधिसभाका सांसदहरुको देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको स्पष्ट पारेको छ। प्रवक्ता पाण्डेले सभामुख नहुँदा प्रतिनिधिसभाका सांसदहरुले देश भित्र र बाहिर हुने औपचारिक कार्यक्रमहरु पनि रोकिएको बताए। त्यसैगरी सभामुख नहुँदा संसदीय समितिका बैठकहरु पनि अघि बढन सकेका छैन। सभामुखको निर्देशनमा बन्ने एजेन्डाका आधारमा मात्रै संसदीय समितिका कामहरु अघि बढ्नुपर्ने संवैधानिक व्यवस्था भएकाले सभामुखको अभावमा संसदीय समितिका गतिविधिहरु पनि ठप्प रहेको संघीय संसद सचिवालयले जनाएको छ।

संवैधानिक व्यवस्था अनुसार सरकारले सिफारिस गरेपछि मात्रै संघीय संसदको हिउँदे अधिवेशन राष्ट्रपतिले आह्वान गर्नेछिन्। संघीय संसद सचिवालयले संघीय संसदको हिउँदे अधिवेशन बोलाउने आवश्यक तयारी भने गरिएको जनाएको छ। प्रवक्ता पाण्डेले सभामुख निर्वाचनका लागि पनि संसदको हिउँदे अधिवेशन सरकारको सिफारिसमा राष्ट्रपतिले आह्वान गर्ने व्यवस्था भएको उल्लेख गर्दै त्यसका लागि सचिवालयले गर्ने प्राविधिक तयारीको कामलाई भने अघि बढाइएको बताइन्।

संसद सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपमा महराले पदबाट राजीनामा दिएपछि सभामुख पद रिक्त रहेको छ। उपसभामुख डा. शिवमाया तुम्बाहाङफेले प्रतिनिधिसभाको बैठकको अध्यक्षतामा गर्ने बाहेक अन्य काम गर्न नमिल्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .