राजनीति


बालुवाटारमा प्रचण्ड र देउवालाई एक घण्टा कुराए ओलीले

बालुवाटारमा प्रचण्ड र देउवालाई एक घण्टा कुराए ओलीले

सागर न्यौपाने
कात्तिक ४, २०७६ सोमबार ११:३०,

सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारी चयन गर्नेबारे छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटार गएका सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रतिपक्ष दल नेपाली कांग्रेसका नेतालाई प्रधानमन्त्री ओलीले एक घण्टा कुराए।

सोमबार बिहान आयोगको पदाधिकारी चयनबारे छलफल गर्न गएका नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कांग्रेस सभापति शेरबहादुर देउवासहितको टोलीलाई प्रधानमन्त्री ओलीले एक घण्टा कुराएका हुन्।

छलफलका लागि नेकपा अध्यक्ष प्रचण्ड, संसदीय दलका उपनेता सुवास नेम्वाङ, ऊर्जामन्त्री वर्षमान पुन, कांग्रेसका सभापति देउवा, नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक बिहान साढे ९ बजे नै प्रधानमन्त्री निवास पुगेका थिए। बैठकको समय नै साढे ९ बजे तोकिएको थियो। तर, प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदै साढे १० बजेसम्म बैठकमै ओर्लेनन्।

‘बैठकका लागि हामी साढे ९ बजे नै प्रधानमन्त्री निवास पुगेका थियौँ’, बैठकमा सहभागी कांग्रेस नेता रमेश लेखकले नेपालखबरसँग कुरा गर्दै भने, ‘प्रधानमन्त्री ज्यू अस्वस्थ हुनुहुँदो रै’छ, त्यसैले १ घण्टा कुर्‍यौं।’ उनले प्रधानमन्त्री साढे १० बजे मात्रै बैठकमा आएको र त्यसपछि एक घण्टा बैठक बसेको जानकारी दिए।
प्रधानमन्त्री नै अस्वस्थ भएपछि बैठकमा आयोगका पदाधिकारी चयनबारे सामान्य कुरा उठे पनि गम्भीर छलफल भने नभएको बताए। ‘प्रधानमन्त्रीसहित बालुवाटारमा बसेको बैठकमा आयोगको पदाधिकारी चयनबारे सामान्य छलफल भए पनि ठोस कुनै निर्णय भएन’, उनले भने। उनले आयोगमा रिक्त रहेको पदाधिकारी चयनका लागि बनेको सिफारिस समितिले अहिलेसम्म कुनै नाम नदिएको पनि दाबी गरे।

यता सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता समेत रहेका नेम्वाङले बैठक बसे पनि सत्यनिरुपण तथा बेपत्ता छानबिन आयोगका पदाधिकारी चियनको विषय प्रवेश नै गरेको दावी गरे। ‘आयोगका पदाधिकारी चयनबारे छलफल गर्न नेकपा–कांग्रेको बैठक बसेको हो’, नेपालखबरसँग कुरा गर्दै नेम्बाङले भने, ‘तर, यो विषयमा औपचारिक रुपमा छलफल नै भएन।’

नेकपा र कांग्रेसबीच सहमति नहुँदा आयोग पदाधिकारीबिहीन भएको ८ महिना बितिसक्दा पनि पदाधिकारी चयन प्रक्रिया नै अघि बढेको छैन। गएको चैत ३० गतेदेखि आयोगमा रहेका पदाधिकारीको म्याद सकिएको थियो। सरकारले पदाधिकारी सिफारिस गर्न चैत १२ गते पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको संयोजकत्वमा पाँच सदस्यीय सिफारिस समिति गठन गरेको थियो। तर, समितिले पनि अहिलेसम्म कुनै नाम सिफारिस गर्न सकेको छैन।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख प्रतिपक्षी कांग्रेसले पदाधिकारी नियक्तिमा आ–आफ्नै दाबी गरेपछि पदाधिकारी चयन प्रक्रिया अन्योलमा परेको हो। आयोग पदाधिकारीको म्याद सकिएपछि नेकपा र कांग्रेसबीचमा तीनपटक बैठक बसेको थियो।

जेठ, असार र भदौमा पदाधिकारी चयनका विषयमा छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन।

भदौ १ गते संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एक हप्तामा टीआरसीका पदाधिकारी नियुक्त गरिसक्ने घोषणा गरेका थिए तर उनले घोषणा गरेको दुई महिना बितिसक्दा पनि अझै आयोगमा पदाधिकारी चयन हुन सकेको छैन।

कांग्रेसले टीआरसीको अध्यक्ष आफ्नो पार्टीले पाउनुपर्ने अडान लिएको थियो भने नेकपा अध्यक्ष प्रचण्डले पनि आफ्नो पक्षबाट अध्यक्ष बनाउन लविङ गरेका थिए। प्रचण्डले पूर्व महान्याधिवक्ता रमण श्रेष्ठलाई अगाडि सारे पनि उनले उक्त प्रस्ताव अस्वीकार गरेका थिए।

यस विषयमा मंगलबार फेरि बैठक बस्न सक्ने नेता लेखकले बताए।

दुई आयोगमा ६६ हजार पाँच सय उजुरी
सत्य निरुपण तथा मेलमिलाप आयोगमा ६४ हजार र बेपत्ता आयोगमा दुई हजार ५०० उजुरी परेका छन्। पदाधिकारीविहीन भएपछि उक्त उजुरी अलपत्र अबस्थामा छ। आयोग पदाधिकारीविहीन भएपछि द्वन्द्वकालिन मुद्दाहरुको किनारा लाग्न सकेको छैन, जसले गर्दा द्वन्द्वपीडितहरुले घटना भएको लामो समय बितिसक्दा पनि यथार्थ जानकारी नपाएको भन्दै सरकारको आलोचना गर्ने गरेका छन्।

सरकारले द्वन्द्वकालिन मुद्दाको यथार्थ जानकारी पत्ता लगाउन २०७१ साल माघ २७ स्थापना गरिएको आयोगको म्याद तीन पटक थप गरिसकेको छ। २०७५ माघ २७ गतेसम्म रहेको दुवै आयोगको म्याद सरकारले एक वर्षका लागि थप गरेपनि चैत्रसम्म रहेको पदाधिकारीको म्याद भने थप नगरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad