ad ad

कारोबार


टेलिकमले घटायो इन्टरनेट लिज लाइनको शुल्क

टेलिकमले घटायो इन्टरनेट लिज लाइनको शुल्क

नेपालखबर
कात्तिक ४, २०७६ सोमबार ११:३५,

नेपाल टेलिकमले इन्टरनेट लिज लाइनको महसुल घटाएको छ। पहिले न्यूनतम ५१२ केबीपीएसदेखि माथिको क्षमतामा सेवा उपलब्ध गराइरहेकोमा अब न्यूनतम २ एमबीपीएस क्षमतामा सेवा उपलब्ध गराइने टेलिकमले जनाएको छ।

यही कात्तिक १ गतेदेखि लागू हुने गरी लिज लाइनको शुल्क घटाइएको हो। यसअघि १ देखि १० एमबीपीएस ब्याण्डविथ रेन्जको महसुल दर प्रतिएमबीपीएस ४ हजार २ सय रुपैयाँ रहेकोमा अब २ देखि २० एमबीपीएसको व्याण्डविथ रेन्जको महसुल दर प्रति एमबीपीएस २ हजार ५ सय रुपैयाँ मात्र कायम गरिएको छ। त्यसैगरी पहिले ११ देखि १०० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस ४ हजार रुपैयाँमा उपलब्ध गराइरहेकोमा अब २१ देखि ५० एमबीपीएस ब्याण्डविथ रेन्जको प्रतिएमबीपीएस २ हजार ३ सय रुपैयाँमा र ५१ देखि १०० एमबीपीएस रेन्जको प्रतिएमबीपीएस मात्र २ हजार १ सय रुपैयाँमा उपलब्ध गराइनेछ।

पहिले १०० एमबीपीएसभन्दा माथिका लागि प्रतिएमबीपीएस ३ हजार ८ सय रुपैयाँ महसुल दर तोकिएकोमा अब यो प्रतिएमबीपीएस १ हजार ९ सय रुपैयाँमै उपलब्ध हुनेछ। कम्पनीले उपलब्ध गराउने इन्ट्रानेट लिज लाइनको महसुल दर भने यथावत् रहेको छ। नेपाल टेलिकमले विभिन्न व्यावसायिक ग्राहकका मागअनुसार उच्च क्षमताको इन्टरनेट तथा इन्ट्रानेट लिज सेवा प्रदान गरिरहेको छ । यस सेवामा इन्टरनेटको अपलिंक र डाउनलिंक क्षमता सधँै बराबर रहन्छ भने यो सेवा चौबीसै घण्टा निरन्तर डेडिकेटेड रुपमा उपलब्ध भइरहन्छ। 

लिज सेवाको प्रयोगद्वारा कुनै पनि किसिमका अनलाइन सर्भिसहरु सञ्चालन गर्न एवं कार्यालय तथा शाखा कार्यालयहरुलाई ई–कनेक्टिभिटीबाट आबद्ध गर्न सकिन्छ। त्यसकारण, मूलतः बैंक, वित्तीय संस्था, शिक्षण संस्था, पुस्तकालय, सरकारी कार्यालयहरु तथा बढी ब्यान्डविथ चाहिने र धेरै शाखाहरुको सूचना, तथ्यांक तथा हिसाब अनलाइन गर्नुपर्ने संघ÷संस्था र कम्पनीहरुका लागि यो सेवा निकै नै उपयोगी छ। पछिल्लो समयमा व्यक्ति तथा साइबर क्याफे र होटल तथा कलकारखानाहरुका लागि समेत यो सेवा फलदायी बनेको छ।

मुलुकभरका नेपाल दूरसञ्चार कम्पनी लिमिटेडका कुनै पनि कार्यालय तथा क्षेत्रीय निर्देशनालयमा सम्पर्क राखी यो सेवा प्राप्त गर्न सकिने टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिइन्। त्यसका लागि चाहिएको क्षमताको इन्टरनेट लिज सेवाको मागसहितको निवेदन पेस गर्नुपर्ने हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .