प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतोले बहुलवादी राष्ट्र आफूहरुको पार्टीको एजेन्डा भएको बताएका छन्।
बुधबार निर्वाचन आयोगमा सनाखत गर्न पुगेका महतोले बहुल राष्ट्र संविधानले नै स्वीकारेकाले त्यसकै आधारमा अधिकार र संविधानका लागि लड्ने पनि जिकिर गरेका छन्।
'नेपाल एउटा देश हो । देशमा विवधता छ । नेसनालिटी बहुल छ । बहुल राज्य हो । त्यो अनुसार, शासन, संविधान र अधिकार चाहिएको छ', उनले भने, 'एउटाको देश होइन के विभिन्न नेशनालिटी बसेको छ। देशलाई खण्डित गर्ने कुरा नबुझेर प्रचार भयो । बुझ पचाउनेले गरेको प्रचार हो त्यो।'
बहुल राष्ट्र नयाँ कुरा नभएको महतोले जिकिर गरे। उनले आफ्नो पार्टीको एजेण्डा जनताको पहिचान, अधिकार, राष्ट्रिय मुक्ति आन्दोलन भएको पनि बताए।
'नेपाल सबै नेपालीको हो । चार जात छत्तिस वर्णको फूलबारी हो', उनले भने, 'सबैको भावना समेटिनु पर्यो। यो सबैको देश हो । सबै नेपालीको देशको मान्यता स्थापित गर्न लोसपा अगाडि बढ्छ।'
नेता महतोले आफूहरुको वैचारिक गणतन्त्र नै भएको बताए । 'यो देशमा राजा छैन राजावादी कहाँबाट आउँछ?', उनले भने, 'यो भूत भगाउनुस् । हामी गणतन्त्रवादी हो।'
महतोले सरकारमा सहभागी हुन प्रस्ताव नआएको पनि बताए।
'सरकारमा जाने प्रस्ताव आएको छैन । आएको अवस्थामा हाम्रो मूल्यमान्यता, मागको अवस्था हेरेर उचित निर्णय गर्छ', उनले भने, 'माग मुद्दाका लागि सरकारलाई समर्थन गरिसकेका छौं। माग पूरा गर्यो भने जान पनि सकिन्छ।'
फरक प्रसंगमा महतोले भद्रगोल पार्टीबाट मुक्ति पाएको बताए। महतोले छिट्टै पदाधिकारीको कार्यविभाजन गर्ने पनि बताए।
नेताहरु शरतसिंह भण्डारीले रेशम चौधरीबाहेक १४ सांसद र कार्यकारिणी समितिका १७ जनाले सनाखतको गरेको बताए। 'सनाखत भयो । दल दर्ता निर्वाचन आयोगले दिने हो । आजै दिन्छ होला,' उनले भने ।
भण्डारीले सरकारमा जाने टुंगो नभएको पनि बताए । 'हाम्रो पार्टी दर्ताको टुंगो लागेपछि बस्छौं । विश्वासको मत दिएकाले सरकारको सहयोगी पार्टी हुन्छौं', उनले भने, 'माग मुद्दाको सम्बोधनमा भर पर्छ । मुद्दा सम्बोधन प्रतिबद्धता गरेको आधारमा विश्वासको मत दिएको हो।'
Shares

प्रतिक्रिया