जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुँजीवादीका एउटा पात्रको संज्ञा दिएका छन्।
समाजवादी केन्द्रले बिहीबार काठमाडौंमा गरेको एक कार्यक्रममा बोल्दै भट्टराईले आफूहरूलाई परिवर्तन गराउन नसकेमा केपी ओली जस्तै हुने पनि टिप्पणी गरेका छन्।
'हामी पनि केपीओली जस्तै हुन्छौँ। उही तरिकाको पार्टी चलाएमा त्यही हुन्छौँ', उनले भने, 'केपी ओली कम्युनिष्ट होइनन्, उनी पूँजीवादीका एउटा पात्र हुन्। हामी पनि नसुध्रिए उही केपी ओली हुनेछौँ।'
डा. भट्टराईले अफगानिस्तानमा तालिबानको आगामले दक्षिण एसियामा धार्मिक कट्टरपन्थी बढ्न सक्ने चिन्ता पनि व्यक्त गरेका छन्।
उनले एमाले भित्र माधवकुमार नेपालहरुले गरेको विद्रोहले देशलाई नयाँ समाजवादको मोडलेतिर लैजान सकिने पनि बताए। 'एमाले भित्र पनि विद्रोह भएकाले अब नयाँ समाजवादको मोडेल खोज्नेतर्फ देश गएको छ,' उनले भने, 'अब हामी समाजवादी शक्तिहरु विस्तारै एकै ठाउँमा आउन सक्नुपर्छ।'
डा. भट्टराईले बाघ बुढो भएर पनि घाँस नखाए जस्तै आफहरुले पनि त्यसो गर्न नहुनेमा जोड दिए। 'बाघ बुढो भए पनि घाँस खाँदैन। हामीले घाँस खानु हुँदैन घाँस नखाइ निकास दिन सक्छौँ', उनले भने, 'हामी त ७० आसपास भइसक्यौँ अब नसकौँला तर नयाँ पुस्तालाई हामीले बाटो देखाउनुपर्छ।'
Shares
प्रतिक्रिया