राजनीति


माधव नेपालको घोषणा : अब नयाँ पार्टी निर्माण हुन्छ, क्रान्तिकारी पार्टी बनाइन्छ

माधव नेपालको घोषणा : अब नयाँ पार्टी निर्माण हुन्छ, क्रान्तिकारी पार्टी बनाइन्छ

नेपालखबर
भदौ १, २०७८ मंगलबार १८:३९, काठमाडौँ

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अब नयाँ पार्टी निर्माण गर्ने बताएका छन्। आफू पक्षीय ६ वटा भातृसंगठनले काठमाडौंमा मंगलबार गरेको भर्चुअल बैठकमा नेता नेपालले यस्तो बताएका हुन्।

'अध्यक्ष केपी शर्मा ओलीले सुध्रिने लक्षण देखाएनन्। आत्मआलोचना गरिएको छैन', उनले भने, 'हामी एकता गर्न तयार छौँ तर ओलीले एकताको ढोका बन्द गरे।'

उनले ओलीले ढोका बन्द गरेकाले अब नयाँ पार्टी गठन सुरु भएको पनि बताए। 'अब पार्टी पुनर्गठन हुनेछ। क्रान्तिकारी पार्टी बनाइनेछ', उनले भने, 'समाजवादको झण्डा बुलन्द गरिनेछ। नेकपालाई हामीले अगाडि लैजाने छौँ। अरु पार्टीसँग तत्काल एकता सम्भव छैन। सबै शक्तिलाई मिलाएर लिएर जानेछौँ।'

उनले नयाँ पार्टी खोलिए पनि ओलीसँगको एकताको ढोका बन्द नगरिने बताए। '‌ओलीले एकताको ढोका बन्द गरे तर हामी त्यस्तो गर्दैनौँ। अब नयाँ तरिकाबाट अघि बढ्छौँ', उनले भने, 'ओली सच्चिए अबको तीन महिना, ६ महिना या चुनावसम्म पनि एकता हुन सक्छ। नभए चुनावमा गठबन्धन पनि हुन सक्छ।'

उनले ओलीको कारबाहीबाट नडराउने पनि बताए। 'कारबाहीबाट डराउने छैनौँ। हामीले पार्टी खोलिहाले भने पनि हामी ओलीले गल्ती स्वीकारे भने एकता गरौँला', उनले भने, 'एकताको सम्भावना सकिँदैन। चुनावमा अलग अलग पनि लडौँला, सम्भावनाका सबै विकल्प खुल्ला हुनेछन्।' 

नेता नेपालले पार्टीको आधा पंक्तिलाई माइनस गरेका ओलीले १५ सिटे महन्थ ठाकुरलाई भने सरकारमा ११ वटा मन्त्री दिएको भन्दै आक्रोश पोखे। 

'पार्टीको आधा पंक्तिलाई लत्याउनेले राष्ट्रविरोधी महन्थ ठाकुरलाई चाहिँ ११ वटा मन्त्री दिए', उनले भने, 'हामीलाई पाखा लगाए। मान्छेले अन्याय भोगेपछि विद्रोह गर्छ। प्रदेशमा उनले हामीलाई पाखा लगाए। विद्रोहीहरुले नै नयाँ निर्माण गर्न सक्दा रहेछन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad