नेकपा एमालेको माधव कुमार नेपाल पक्षले राखेको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ।
नेता नेपालले आज बुधबार शंखमूलस्थित क्वालिटी ब्यान्क्वेटमा आफूपक्षीय केन्द्रीय कमिटीको बैठक राखेका थिए।
नेपालपक्षका केन्द्रीय सदस्य मेटमणि चौधरीले धेरै केन्द्रीय सदस्य काठमाडौं बाहिर रहेकाले बैठक स्थगित गर्नुपरेको बताए।
‘अध्यक्ष केपी ओलीले एकलौटी रुपमा पार्टीका गतिविधि अगाडि बढाउने निर्णय गरेपछि हाम्रो पक्षबाट पनि कसरी अगाडि बढ्ने भन्ने निर्णय गर्नका लागि बैठक बोलाइएको थियो’, सांसद समेत रहेका चौधरीले भने, ‘धेरै साथीहरु उपत्यका बाहिर हुनुभएकाले बैठक स्थगित गरिएको छ।’
ओलीले एकपक्षीय रुपमा पार्टीको गतिविधि अगाडि बढाएपछि नेपालपक्षको पनि रणनीति अगाडि बढाउन बैठक बोलाइएको थियो।
स्थायी कमिटी सदस्यले अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान दबाब दिएपछि नेता नेपालले केन्द्रीय कमिटी बैठक राखेर छलफल गर्ने बताएका थिए।
केन्द्रीय कमिटीमा उनी बहुमतमा छन्। साथै केन्द्रीय सदस्यहरुले अध्यक्ष ओलीसँग मिलेर जाने कुरालाई अस्वीकार गर्ने भएकाले नेता नेपालले केन्द्रीय सदस्यहरुसँग छलफल गरी नयाँ पार्टी गठन गर्ने कि ओलीसँग मिलेर जाने निर्णय गर्ने अपेक्षा गरिएको थियो।
Shares

प्रतिक्रिया