संघीय प्रतिनिधिसभाको अर्थसमितिमा आज आगामी मौद्रिक नीतिबारे छलफल भएको छ।
समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय बमबहादुर मिश्र र निलम ढुंगाना तिम्सिनालाई बोलाएर आगामी मौद्रिक नीतिबारे छलफल गरेको हो।
छलफलमा गभर्नर अधिकारीले मौद्रिक नीतिले बजेट संशोधन कुरिरहेकाले आउन ढिलाइ भएको स्पष्ट पारे।
उनले आगामी मौद्रिक नीतिले कोरोनाको तेस्रो लहरसमेत हेरेर नीति ल्याउने बताए।
पछिल्लो समय बढिरहेको व्यापारघाटाबारे पनि गभर्नर अधिकारीले नियन्त्रण गर्ने उपाय पनि सुझाएका छन्।
उनले भने, ‘व्यापारघाटा बढेको छ, त्यसलाई रेमिट्यान्सले धानेको छ। सरकारले अब यसलाई कम गर्न विलासिताका वस्तु नियन्त्रण गर्नुपर्ने देखिन्छ।’
सांसद वर्षमान पुनले कम्पनी रजिष्ट्रारको तथ्यांकअनुसार साना उद्यमीहरु धेरै रहेकाेले ठूला उद्यमभन्दा मझौला र साना उद्यमलाई ध्यान दिएर कर्जा प्रवाहको नीति लिनुपर्ने बताए।
उनले कोरोनाको पहिलो लहरले खराब कर्जा बढाएको, दोस्रोले रिपेमेन्टमा समस्या ल्याएको र तेस्रोले के गर्छ राष्ट्र बैंकले अध्ययन गर्नुपर्ने बताए।
सांसदले शैक्षिक कर्जा दिने व्यवस्था कार्यान्वयन हुन नसकेको प्रश्न गरेका थिए। गभर्नरले भने सबै योजना सफल नहुने बताउँदै असफल हुने दिशामा अघि बढेको बताए।
यसको जोखिम बैंकले नै लिने नीति भएकाले यो योजना सफल नहुने बताए। सरकारले जोखिम वहन गरिदिने हो भने यसलाई सफल पनि पार्न सकिने गभर्नरको भनाइ छ।
Shares

प्रतिक्रिया