राजनीति


सेनाद्वारा तीन जनालाई ‘हल अफ फेम’ सम्मान

सेनाद्वारा तीन जनालाई ‘हल अफ फेम’ सम्मान

नेपालखबर
कात्तिक १, २०७६ शुक्रबार १३:५८,

नेपाली सेनाले तीन जना विशिष्ट व्यक्तित्वलाई ‘हल अफ फेम’ उपाधिबाट सम्मानित गरेको छ। नेपाली सेनाको आर्मी कमान्ड एन्ड स्टाफ कलेज शिवपुरीमा सञ्चालित कमान्ड तालीम पूरा गरी सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल भएका व्यक्तित्वलाई पहिलो पटक सो उपाधिले सम्मानित गरिएको हो।

यसरी सम्मानित हुनेमा प्रधान सेनापति पूर्णचन्द्र थापा, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र सोही बलका पूर्वमहानिरीक्षक शैलेन्द्र श्रेष्ठ छन्। स्वदेशभित्र नै उच्च कमाण्ड तालीम पूरा गरी राष्ट्रका लागि उत्कृष्ट सेवा पु¥याउँदै सुरक्षा निकायको उच्च नेतृत्वमा पुग्न सफल व्यक्तित्वलाई ‘हल अफ फेम’बाट सम्मान गर्ने प्रचलन रहेको छ।

आफ्नै स्टाफ कलेजबाट कमान्ड तालीम लिई प्रधानसेनापति पदमा पुग्नु सफल भएका प्रधानसेनापति थापा पहिलो प्रधानसेनापति हुन्। विशेष गरी सेनाभित्र ‘कमान्ड तालीम’लाई विशेष महत्वका रुपमा लिइन्छ। कमान्ड तालीम पूरा भएपछि मात्र वृत्ति विकासका थप ढोकाहरु खोलिने गर्दछ।

पूर्व प्रधानसेनापति राजेन्द्र क्षत्रिले अमेरिकाबाट कमान्ड तालीम लिएका थिए। शिवपुरीमा रहेको सो कमान्ड कलेज विश्वको उत्कृष्ट तालीम केन्द्रभित्र पर्दछ। सन् १९९२ मा स्थापना भएको सो कलेजमा हाल २६औँ व्याँजको कमान्ड तालीम जारी रहेको छ। कमान्ड तालीमका साथमा पछिल्लो सयम कलेजले सेना, सुरक्षा र सामरिक महत्वका विषयमा अनुसन्धान तथा तालीम पनि सञ्चालन गर्दै आएको छ।

साथै सोही कलेजबाट कमान्ड तालीम लिई सशस्त्र प्रहरी बलको महानिरीक्षक पदमा खनाल र श्रेष्ठ पुगेका छन्। महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो सेवा नेपाली सेनाको सेकेन्ड लेफ्निटेन्टबाट शुरुआत गरी पछि सशस्त्र प्रहरी बलमा गएका थिए।

प्रधानसेनापति थापा र पूर्वमहानिरीक्षक श्रेष्ठले सो कलेजको चौथो व्याँच तथा महानिरीक्षक खनालले १३औँ व्याचमा कमान्ड तालीम पूरा गरेका थिए। कलेजद्वारा आज शिवपुरीमा आयोजित कार्यक्रमका ती विशिष्ट व्यक्तित्वलाई कलेजका शिक्षाध्यक्ष एवं उपरथी ईश्वर हमालले सो सम्मान तथा कलेजबाट प्रदान गरिने प्रमाणपत्र समेत प्रदान गरे।

सो अवसरमा प्रधानसेनापति थापाले आगामी दिनमा आर्मी कमान्ड एन्ड स्टाफ कलेजको तालीमलाई समयानुकूल बनाउँदै जाने जानकारी दिँदै आफूले कलेजबाट तत्कालीन समयमा तालीम लिने अवसर पाएकोमा खुसी व्यक्त गरे। सो अवसरमा उनले कलेज परिसरमा स्थापना गरिएको तालीमे सैनिकको मूर्ती अनावरण समेत गरेका थिए।

सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल र पूर्वमहानिरीक्षक श्रेष्ठले आफ्नो जीवनमा व्यावसायिक र दक्ष सुरक्षाकर्मी बनाउन तालीमले कोशेढुङ्गाको रुपमा काम गरेको स्मरण गर्दै सिकेका सीप देशका लागि उपयोग भएको बताए। शिक्षाध्यक्ष हमालले कलेजको गतिविधिका बारेमा जानकारी दिँदै विशिष्ट व्यक्तित्वलाई हल अफ फेमबाट सम्मानित गर्नु कलेजका लागि गौरवको विषय रहेको बताएका थिए।

कार्यक्रममा रक्षा सचिव रेश्मीराज पाण्डे, नेपाली सेना र सशस्त्र प्रहरी बलका उच्च नेतृत्वको सहभागीता रहेको थियो।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad