संघीय संसदको रिक्त सभामुख पदका लागि ‘दाबेदार भनिएका’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले त्यस विषयमा पार्टीले आफूसँग कुनै परामर्श नगरेको बताएका छन्।
गुरुङले रिक्त सभामुख चयनबारे प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग कुनै सल्लाह नै नभएको दाबी गरेका हुन्।
संसद सचिवालयकै कर्मचारी रोशनी शाहीलाई बलात्कार प्रयासको आरोपमा कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएपछि असोज १४ गतेदेखि उक्त पद रिक्त छ। पद रिक्त भएपछि पार्टी अध्यक्ष प्रचण्ड र गुरुङबीच खुमलटारमा दुईपटक भेटवार्ता भने भएको छ।
नेकपामा पुर्वमाओवादी केन्द्रको बादल समूहका केही नेताहरुले गुरुङलाई सभामुखमा पठाउन ‘लबिङ’ सुरु गरेका छन् । तर, सचेतक गुरुङ आफैँ भने यस विषयमा खुल्न चाहेका छैनन्।
‘मैले दाबी गर्ने भन्दापनि नेतृत्वले बुझ्ने कुरा हो’, नेपालखबरसँग कुरा गर्दै गुरुङले भने, ‘रिक्त सभामुखमा कसलाई कसरी लैजाने भन्ने विषयमा कुनै पनि नेताले अहिलेसम्म कुरै गरेका छैनन्।’
नेकपाको प्रमुख सचेतकको जिम्मेवारीमा भएकाले संसदीय राजनीति र सांसदहरुको बारेमा आफूलाई धेरै नै जानकारी हुने भए पनि यस वियषयमा पार्टीभित्र औपचारिक रुपमा कुरा नउठेको उनको दावी छ। त्यसो त पूर्वमाओवादी र एमालेमध्ये सभामुख कसले लिने भन्ने टुंगो नलागेका कारण पनि आधिकारिक नामका विषयमा नेताहरु खुल्न नचाहेको बताइन्छ।
सभामुख पद रिक्त भएपछि संसदभित्र थुप्रै समस्या देखिन थालेको भन्दै यसको छिटो समाधान नगरे समस्या निम्तिन सक्ने भन्दै गुरुङले नेताहरुको ध्यानाकर्षण गराए।
‘सभामुखको अनुपस्थितिमा संसदमा ‘डेडलक’को अवस्था सृजना हुँदैछ, संविधानमा कामु सभामुखको परिकल्पना नगरेका कारण थुप्रै कानुन प्रमाणीकरण गर्नुपर्ने छ तर अहिले रोकिएको छ’, उनले भने, ‘संसदका विभिन्न समितिका प्रतिवेदन कहाँ बुझाउने भन्ने पनि समस्या देखिन थालेको छ, सभामुख नभएपछि बैठक बस्ने कि नबस्ने अन्योल भइरहेको छ।’
प्रमुख सचेतक गुरुङले यस्ता विषयमा पार्टीले कुनै छलफल नगरेको भन्दै असन्तुष्टि जनाए।
पार्टीभित्र प्रमुख सचेतक भएपनि संसदीय गतिविधिको आफूले रिपोटिङ गर्न नपाएकोमा उनी असन्तुष्ट बनेका हुन्। सभामुख पद रिक्त भएपछिको अवस्था, संसदमा सांसदको भूमिका बारेमा एकपटक पनि छलफल भएको आफूले थाहा नपाएको भन्दै उनले नेताहरुको आफ्नो तालले छलफल भएको हो भने त्यसबारेमा आफ्नो कुनै प्रतिक्रिया नभएको बताए।
‘संविधानमा रहेको फरक दलको सभामुख हुने भन्ने विषयमा राजनीतिक सहमति आवश्यक छ’, उनले भने, ‘सभामुख बन्नैको लागि राजनीतिक दलबाट राजीनामा दिएपछि त्यसलाई कसरी कुनै दलको भनेर परिभाषित गर्न मिल्छ?’
यस्ता केही जटिलताका विषय हल तत्काल गर्न आवश्यक रहेकोमा जोड दिँदै उनले अन्योल रहेको विषयमा तत्काल राजनीतिक सहमति कायम गर्न पार्टी नेतृत्वलाई सुझाव दिए।
सभामुख पदका लागि नेकपाका केही नेताहरुले इच्छा देखाएका छन्। तर, गुरुङ भने एकपटक पनि पार्टी नेतृत्वले परामर्श नगरेको कारण असन्तुष्ट छन्। सभामुखको अनुपस्थितिमा भएको संवैधानिक जटिलताका विषयमा पनि पार्टीभित्र छलफल कसरी भइरहेको छ थाहा पाउन नसकेको उनको भनाइ छ।
‘मसँग यस विषयमा प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्डले कुनै सल्लाह गर्नुभएको छैन, उहाँहरुले कोसँग कसरी परामर्श गर्नुभयो मैले कसरी थाहा पाउन सक्छु र?’
सभामुख पद आफैले राख्नुपर्ने अडानसहित नेकपाभित्र अहिले छलफल भइरहेको छ। त्यो सँगै सभामुखका लागि संभावित उम्मेदवारबारेमा पनि चर्चा चलिरहेको छ।
नेता गुरुङ यसबारेमा कुनै कुरै नभएको जिकिर गर्छन्। सभामुखका लागि दाबेदार भनिएका पूर्वसभामुख सुवास नेम्वाङ र ओनसरी घर्तीले सभामुख नबन्ने प्रष्ट पारिसकेका छन् भने नेकपाका स्थायी कमिटी सदस्य अग्नी सापकोटा भने पार्टीले जिम्मेवारी दिए आफू तयार रहेको बताइसकेका छन्।

प्रतिक्रिया