राजनीति


‘नेपाल-भारत-चीन’अघि नै ‘नेपाल-भारत-बंगलादेश’ सहकार्य

‘नेपाल-भारत-चीन’अघि नै ‘नेपाल-भारत-बंगलादेश’ सहकार्य

मणि दाहाल
कात्तिक १, २०७६ शुक्रबार ८:४७,

नेपाल–चीन–भारतबीच त्रिदेशीय सहकार्यको विषयमा निकै चर्चा भए पनि पहिलो त्रिदेशीय सहकार्य नेपाल, भारत र बंगलादेशबीच हुने देखिएको छ।

नेपाल, भारत र बंगलादेश विद्युत् व्यापारको विषयमा त्रिदेशीय सहकार्यनजिक पुगेका हुन्। त्रिदेशीय विद्युत् व्यापारबारे नेपाल, भारत र बंगलादेशका अधिकारीहरुबीच छुट्टाछुट्टै द्विपक्षीय बैठक भएपछि त्रिदेशीय बैठक हुनलागेको हो।

नेपाल र भारतका ऊर्जासचिवहरुको मंगलबार सम्पन्न बैठकमा त्रिपक्षीय विद्युत् व्यापारको विषयमा नेपाल, बंगलादेश र भारतबीच बैठक आयोजना गर्ने सहमति भएको छ। ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले पनि नेपालखबरसँगको अन्तर्वार्ताका क्रममा बंगलादेशलाई नेपालमा उत्पादित बिजुली बिक्री गर्नेबारे नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी त्रिपक्षीय बैठकमा भारतमा गर्ने सहमति भएको बताएका छन्।

‘नेपाल र बंगलादेशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी भएको थियो। त्यहीअनुसार हामीले सचिवस्तरीय पहिलो बैठक आयोजना ग¥यौं, दोस्रो बैठक बंगलादेशले आयोजना गर्‍यो। संयुक्त बैठकमा ‘नेपाल, भारत, बंगलादेश भएर बंगलादेशका लागि डेडिकेटेड ट्रान्समिसन लाइन बनाउने समझदारी भएको छ’, ऊर्जामन्त्री पुनले नेपालखबरसँग भने, ‘भर्खरै आगामी तीन महिनाभित्र नेपाल, भारत र बंगलादेशबीच ऊर्जा सहकार्यसम्बन्धी त्रिपक्षीय बैठक भारतमा गर्ने सहमति भएको छ। त्यो त्रिपक्षीय बैठकमा भारत हुँदै डेडिकेटेड लाइन बंगलादेश लैजाने, त्यसका लागि छुट्टै डेडिकेटेड लाइन बनाउने वा भारतीय ट्रान्समिसन लाइन प्रयोग गर्ने लगायत ऊर्जा सहकार्यका एजेण्डामा छलफल गर्न सक्छौं।’

यता सहभागी भएर काठमाडौं फर्केका ऊर्जासचिव दिनेश घिमिरेले पनि ‘विद्युत् व्यापारका विषयमा छलफल गर्नका लागि त्रिदेशीय बैठक तीन महिनाभित्र आयोजना हुने बताएका छन्। उनले नेपालखबरसँग भने, ‘बैठकको आयोजना भारतले गर्नेछ।’

बैठकमा भारतीय ऊर्जा अधिकारीहरुले भारतीय विदेश मन्त्रालयमार्फत त्यस प्रकारको बैठक आयोजना गर्ने जानकारी दिएका छन्। नेपाल, भारत र बंगलादेशबीच त्रिदेशीय विद्युत् व्यापार सम्झौता भए यस क्षेत्रमा यस प्रकारको पहिलो सहयोग हुनेछ। सन् २००० को दशकमा भारत, पाकिस्तान र इरानबीच ग्यास पाइपलाइनको विषय आएको थियो।

तर भारत र पाकिस्तानबीचको बढ्दो तनावका कारण यो त्रिदेशीय सहकार्य सफल हुनसकेको छैन। नेपाल र बंगलादेशबीच यसअघि भएका बैठकमा त्रिदेशीय विद्युत् व्यापारको विषय भारतीय पक्षसँग द्विदेशीय संयन्त्रहरुमा उठाउने सहमति भएको थियो। हालै भारतको भ्रमणका क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले पनि यो विषयलाई उच्च भारतीय नेतृत्वसामु उठाएकी थिइन्।

नेपालबाट बिजुली लैजाने विषयमा बंगलादेशले जोड दिँदै आएको छ। पछिल्लो एक दशकदेखि तीव्र आर्थिक विकास गरिरहेको बंगलादेशले विभिन्न विकल्पहरुमध्ये एकमा नेपालबाट बिजुली किनेर आपूर्ति सुनिश्चित गर्ने पनि रहेको छ। सत्तारुढ दल अवामी लिगको चुनावी प्रतिबद्धतामा समेत नेपालबाट बिजुली किन्ने विषय महत्वका साथ समावेश गरिएको थियो।

नेपाल र बंगलादेशबीच सीमा नजोडिएको कारण विद्युत् आदानप्रदान गर्नका लागि भारतीय भूभाग प्रयोग गर्नुपर्ने हुन्छ। नेपाल र बंगलादेशबीच सिलिगुडी कोरिडोर सबैभन्दा नजिक रहेको छ। ‘चिकेन नेक’ पूर्वाेत्तर राज्यहरुलाई भारतको मुख्यभूमिसँग जोड्ने यस क्षेत्रलाई भारतले संवेदशील क्षेत्रको रुपमा लिन्छ।

सचिव घिमिरेले त्रिदेशीय बैठकमा भारत हुँदै नेपाल र बंगलादेशले विद्युत् व्यापार गर्न अपनाउनुपर्ने प्रक्रिया, भारतीय प्रसारणलाइनको प्रयोगको विधि तथा त्यसको शुल्कसहितको विषयमा छलफल हुने बताए। नेपाल र भारत तथा भारत र बंगलादेशबीच द्विदेशीय विद्युत् व्यापार सम्झौता भए पनि पहिलोपटक त्रिदेशीय सहकार्यको विषयमा छलफल हुनलागेको हो।

‘पछिल्लो समयमा बंगलादेशमा ऊर्जा क्षेत्रमा ठूला कम्पनीहरु रिलायन्स र अदानी समूहले समेत लगानी सुरु गरेको छ। दुवै देशबीचको सम्बन्ध पनि उच्च विन्दुमा रहेको छ’, एसियन इन्स्टिच्युट अफ डिप्लोमेसी एन्ड इन्टरनेशनल अफेयर्सका अध्यक्ष सुनिल केसीले भने, ‘भारतले राजनीतिक र व्यापारिक दृष्टिले फाइदा हुने देखेरै यसमा सहमति हुनलागेको हो।’

पाकिस्तानबाहेकका सार्कका अन्य राष्ट्रलाई साथ लिने नीति लिएको भारतले पछिल्लो समय बीबीआईएन (भुटान, बंगलादेश, भारत, नेपाल)बीच सहकार्यलाई जोड दिँदै आएको छ। भुटानी संसदले अनुमोदन नगरेको कारण कार्यान्वयनमा आउन नसकेको बीबीआईएनमा यातायात सञ्चालनदेखि विद्युतीय प्रसारणलाइनसम्मका विषयहरु रहेका छन्। त्यसैगरी भारतले पूर्वोत्तर राज्यहरुको विकासमा छिमेकी राष्ट्रहरुको समेत सहयोग लिन खोजेको छ।

गत महिना बंगलादेशी प्रधानमन्त्री शेख हसिनाको भारत भ्रमणका क्रममा बंगलादेशी बन्दरगाहहरुको प्रयोगबाट भारतका पूर्वोत्तर राज्यहरुमा सामान आपूर्ति गर्नेसम्बन्धी सम्झौता भएको थियो। यसले भारतले छिमेकसँग कनेक्टिभिटीलाई उच्च महत्व दिएको देखिन्छ।

त्रिदेशीय विद्युत् व्यापारका विषयमा भइरहेको छलफलबारे जानकारहरुले विद्युत् व्यापारका लागि नेपाल, भारत र बंगलादेशको स्वामित्व रहने गरी विद्युतीय प्रसारणलाइन निर्माण गरिने बताएका छन्। यसमा भारतको स्वामित्व नेपाल र बंगलादेशको भन्दा बढी हुनेछ।

भुटानी पत्रकारको प्रश्न – सीको प्रभाव हो?
नेपाल, भारत र बंगलादेशबीच विद्युत व्यापारबारे त्रिदेशीय बैठक हुनलागेका समाचार सार्वजनिक भएपछि त्यस विषयमा भुटानीहरुले समेत चासो व्यक्त गरेका छन्। भुटानको निजी क्षेत्रको पत्रिका द भुटानिजका सम्पादक तथा भुटान मिडिया एसोसिएसनका अध्यक्ष तेन्जिङ लामसाङले नेपाल–भारत र बंगलादेशबीच हुनलागेको सहमति चिनियाँ राष्ट्रपति ‘सी चिनफिङको प्रभाव हो ?’ भनेर सोधेका छन्।

ट्विटरमा उनले भुटानले सन् २०१४ र सन् २०१६ मा दुईपटक भुटानमा बंगलादेशको लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने र भारत हुँदै बंगलादेश पुर्‍याउने विषयमा गरेको प्रस्तावमा ‘धूलो जमेको’ बताएका छन्। ‘नेपाल, भारत र बंगलादेशबीच नेपालमा उत्पादित बिजुली भारत हुँदै बंगलादेश पठाउनेसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तीनवटै देश नजिक पुगेका छन्। सन् २०१४ र २०१६ मा बंगलादेशसँग मिलेर भुटानमा जलविद्युत् परियोजना निर्माण गर्ने र भारत हुँदै बंगलादेश पुर्‍याउने प्रस्तावमा धूलो जमेको छ। के यो सी भ्रमणको असर हो ?’, लामसाङले ट्विट गर्दै लेखेका छन्।

दोस्रो ट्विटमा उनले भनेका छन्, ‘यदि यो समाचार सत्य हो भने भारतले सबै प्रकारका प्रतिकूलताबीच पनि साथै रहनेभन्दा जुन छिमेकीले चाइना कार्ड खेल्छ त्यसप्रति बढी ध्यान दिएको देखिन्छ। भुटानभन्दा अघि नेपालसँग सम्झौता भयो भने भुटानमा लामो समयदेखि भारतकेन्द्रित भुटानको विदेश नीतिमाथि चर्को÷कडा आवाज उठ्न सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad