चालू आर्थिक वर्षमा शोधनान्तर स्थिति (नेपालमा भित्रने र बाहिरिने रकम) ६८ अर्ब २० करोडले घाटामा रहेको छ।
अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १८ अर्ब ९३ करोडले घाटामा रहेको थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको दश महिनामा १८ करोड ४८ लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ६० करोड २ लाखले घाटामा रहेको छ। यो चालू आर्थिक वर्षको बैशाख सम्मको तथ्याङ्क हो।
राष्ट्र बैंकले जारी गरेको तथ्याङ्कमा भनिएको छ ‘पुँजीगत ट्रान्सफर १३ अर्ब ४८ करोड र प्रत्यक्ष वैदेशिक लगानी ९ अर्ब ४७ करोड रुपैंया रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर १४ अर्ब १५ करोड र प्रत्यक्ष वैदेशिक लगानी १५ अर्ब ५१ करोड रहेको थियो।’
त्यस्तै गरि विदेशी विनिमय सञ्चिति कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा ११ खर्ब २ अर्ब ५९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा १० खर्ब ६० अर्ब ७० करोड कायम भएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा ९ अर्ब ४२ करोड रहेको छ।
बैंक तथा वित्तीय संस्थाहरू (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा १खर्ब १३ अर्ब १९ करोड रहेकोमा २०७६ वैशाख मसान्तमा १खर्ब ४५ अर्ब ३१ करोड पुगेको छ। २०७६ वैशाख मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३ दशमलव ६ प्रतिशत रहेको छ।
बैशाखसम्म चालु खाता घाटा विस्तार भई २ खर्ब२१ अर्ब ४० करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १ खर्ब ९२ अर्ब ५ करोड रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको दश महिनामा १ अर्ब ८६ करोड रहेको चालु खाता घाटा समीक्षा अवधिमा १ अर्ब ९५ करोड पुगेको छ।

प्रतिक्रिया