ad ad

राजनीति


जसपा ठाकुर समूहले देउवालाई भन्यो : विश्वासको मत दियौँ, अब प्रतिवद्धता पूरा गर्नुस्

जसपा ठाकुर समूहले देउवालाई भन्यो : विश्वासको मत दियौँ, अब प्रतिवद्धता पूरा गर्नुस्

नेपालखबर
साउन ५, २०७८ मंगलबार १७:३२,

जनता समाजवादी पार्टी नेपाल समूहले आफूहरूसँग गरिएका प्रतिवद्धता पूरा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासँग आग्रह गरेको छ। उक्त समूहका अध्यक्ष महन्थ ठाकुर पक्षले मंगलबार एक वक्तव्य निकालेर प्रधानमन्त्रीका लागि विश्वासको मत दिनुअघि गरेका प्रतिवद्धता पूरा गर्न देउवालाई आग्रह गरेका हुन्। 

अध्यक्ष ठाकुरले टीकापुर घटनाका मुख्य दोषी एवम् निलम्बित सांसद रेशम चौधरीसहितका बन्दीहरूलाई रिहाइको पहल गर्न पनि देउवालाई भनेका छन्। उनले यी विषयमा गरिएको प्रतिवद्धता अनुसार प्रधानमन्त्री देउवाले माग पूरा गर्ने विश्वास पनि लिएका छन्। आफूहरुका माग पूरा गर्ने प्रतिवद्धता देउवाले गरेकै कारण विश्वासको मत दिएको कुरा ठाकुरले उल्लेख गरेका छन्। 

‘रेशम चौधरीसहित राजबन्दीहरूको रिहाइ, मधेस आन्दोलनपछि गठित लाल आयोगको प्रतिवेदन सार्वजनिकसहित काम हुनुपर्यो', ठाकुरले भनेका छन्, 'हामीले उठाएका अन्य समस्या समाधान गर्ने प्रतिवद्धता प्रधानमन्त्रीजीले गरिसकेकाले जसपाले विश्वासको मत दिएको हो। अब हाम्रा माग पूरा गर्नेतर्फ प्रधानमन्त्रीले काम गर्नुपर्यो।'

जसपा अध्यक्ष ठाकुरले नागरिकतासहितका समस्या समाधानका लागि संविधान संशोधनको मुद्दा पनि उठाएका छन्। आफूहरुका केही माग पूरा गरिदिएकोमा जसपाले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई पनि धन्यवाद दिएको छ। 

जसपाले आफ्ना मागसहित कोरोना संकटका कारण संकटमा परेर समस्यामा रहेका नागरिकलाई राहत दिन पनि भनेको छ। जसपाले केही महिनायता देशमा आइरहेको बाढी पहिरो पीडितको राहत कार्यक्रममा पनि प्रभावकारी बनाउन सरकारलाई भनेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .