ad ad

राजनीति


देउवालाई विश्वासको मत: यसरी माेडिए महन्थ

देउवालाई विश्वासको मत: यसरी माेडिए महन्थ

सागर न्यौपाने
साउन ४, २०७८ सोमबार २१:४९,

आइतबार प्रतिनिधि सभाको बैठक सुरू हुनै लाग्दा संसदभित्रको अनुमानित गणितमा एकाएक फेरबदल आयो । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्षले समेत देउवालाई मत दिने खबर प्रतिनिधिसभाको बैठक सुरू हुनुभन्दा केहीअघि मात्रै बाहिरियो।  

जसपामा अध्यक्ष उपेन्द्र यादव पक्ष र ठाकुर पक्ष छन्। उपेन्द्र पक्ष देउवालाई प्रधानमन्त्री बनाउने प्रक्रियादेखि नै सँगै छ तर, ठाकुर पक्ष भने प्रतिनिधि सभाको दोस्रो विघटनयता ओलीसँग खुलेरै लाग्यो। सो समूह ओलीको नेतृत्वको सरकारमा समेत सहभागी भयो। 

शनिबार दिउँसो मात्र उनकै नीजि निवास बालकोट पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हामी तपाईँसँगै छौं भन्ने  आश्वासन दिएको  ठाकुर समूहले क्याम्प नै फेरेर प्रधानमन्त्री देउवालाई विश्वासको मत देलान् भनेर कसैले अनुमान नै गरेका थिएनन्। 

आइतबार पनि संसद भवन छिरेर बैठकमा नबसी प्रतिपक्षी दलको कार्यकक्षमा गएर बसेका ओलीलाई ठाकुरलगायत नेताहरुले भेटेका थिए। उक्त भेटबारे जानकार स्रोतका अनुसार नेपाल पक्षले देउवालाई भोट नदिने र उनले विश्वासको मत नपाउनेमा ओली विश्वस्त देखिन्थे। 

प्रतिनिधि सभा बैठकको पहिलो दिनको दोस्रो बैठकमा देउवाले विश्वासको मत मागे। त्यसबारेमा आफ्ना धारणा राख्दै ठाकुरले मत दिने बताएपछि दिनभरी चलेको चर्चा पुष्टि भयो। तर ठाकुरको यो घोषणाको पृष्ठभूमिमा थियो शनिबार रातिको बैठक, जुन बैठकमा ठाकुर समूहले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निधो गरेको थियो। 

स्रोतका अनुसार शनिबार देउवा र ठाकुरबीचको कुराकानीमा देउवा सरकारलाई समर्थन गर्न सहमत भएका हुन्। केहि बिग्रेला कि भन्ठानेरै हो सायद, त्यसलाई गोप्य राख्न कांग्रेसले हरसम्भव प्रयास ग¥यो। यद्यपी आइतबार दिउँसो भने त्यो खबर एक कान दुई कान भइहाल्यो। 

पछिल्लो समय ओलीको कट्टर समर्थकको रूपमा चिनिएको ठाकुर समूह एकाएक देउवालाई दह्रिलो बनाउन कसरी तयार भयो त? अन्तर्यमा छ, ठाकुर र देउवाबीच शनिबार भएको त्यही कुराकानी।  

असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले त्यसअघि नै जसपालाई एक राख्ने सोच बनाएका थिए। सोही आधारमा उनले आफ्ना निकट केही नेताहरुलाई ठाकुर पक्षसँग निरन्तर संवादमा रहन निर्देशन नै दिए। किन भने जसपा बलियो भने आफू पनि बलियो हुन्छु भन्ने आकलन देउवाको हो। अर्कातिर मधेसवादी दलहरू भन्दा पनि कम्युनिस्ट दल विभाजन भए आफ्नो संसदीय राजनीति बलियो हुने विश्वास कांग्रेसजनलाई छ।

 त्यसैले ठाकुर समूहसित संवाद गर्न कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का र कांग्रेसकै प्रदेश २ बाट प्रतिनिधित्व गर्ने केही नेताहरु खटिए। कांग्रेस प्रतिनिधिले पटक पटक ठाकुर र उनको समूहका नेतासँग छलफल गरेका थिए। अर्कातिर पाँच दलीय विपक्षी गठबन्धनमा कांग्रेसको सशक्त उपस्थिति छँदै थियो। त्यही छलफलको सिलसिला स्वरुप शनिबार प्रधानमन्त्री देउवा र ठाकुरबीच भेट भयो। साँझ भएको सो भेटपछि भने विश्वासको मत दिन ठाकुर राजी भएको स्रोतले जनायो। 

‘ठीक छ म भोलि (आइतबार) पार्टीको बैठक राखेर निर्णय गराउँछु,’ ठाकुरको भनाई उधृत गर्दै स्रोतले भन्यो। बेलुका घर आएपछि पनि देउवा निकट केही नेताले ठाकुरलाई टेलिफोन गरेका थिए, कन्फर्म गर्न। 
उनीहरुले मिलेर जान आग्रह गरेको ठाकुर निकट स्रोतले जनायो ।

जेठ ८ गते प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदममा साथ दिँदै ठाकुर पक्षमा ११ जना मन्त्री भएका थिए। जेठ २१ गते मन्त्री बनाइएका उनीहरू सबैको मन्त्री पद भने सर्वाेच्च अदालतले असार ८ को फैसलाले गुमेको थियो । 

प्रतिनिधि सभा विघटन गरेपछि मन्त्रीपरिषद् विस्तार गरेको भन्दै सर्वाेच्चमा रिट परेपछि त्यसलाई तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो।  असन्तुष्ट चार नेताहरुले अर्का अध्यक्ष उपेन्द्र यादवसँग समेत छलफल रहेको सूचना पाएका ठाकुर उनीहरुलाई रोक्ने रणनीतिमा थिए। 

संसदीय दलमा ठाकुर पक्ष बहुमतमा थियो। ३२ मध्ये २० सांसद उनको पक्षमा थिए।  तर, केही नेताहरुलाई मन्त्री नबनाएपछि असन्तुष्ट भए। यता प्रतिनिधि सभा विघटन विरुद्धमा परेको सर्वाेच्चको रिट निवेदनमाथि बहस सकेर सर्वाेच्चले आदेश सुनाउने मिति असार २८ गतेलाई तोक्यो। 

त्यसपछि ठाकुर समूहका नेताहरु उपेन्द्र यादवसँग निरन्तर छलफलमा लागे।  देउवालाई प्रधानमन्त्री बनाउन यादव पक्षका जम्मा १२ जनाले मात्र हस्ताक्षर गरेका थिए।  तर, ठाकुर पक्षका रहेका केही नेताहरु सर्वाेच्चको फैसला आउने दिन नजिकिए पछि बढ्न थाले। 

एक नेताका अनुसार ठाकुर पक्षमा रहेका ८ जना निरन्तर सम्पर्कमा थिए।  उनीहरु सिधै अध्यक्ष यादवसँग कुराकानीमा थिए। असार २८ गते सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापनाको फैसला सुनायो।  त्यसपछि उपेन्द्रसँग निरन्तर सम्पर्कमा रहेका ठाकुर पक्षका नेताहरु उपेन्द्रतिर खुल्न थाले। 

आफ्ना पक्षका नेता तथा सांसदहरु उपेन्द्रतिर खुल्न थालेपछि दवावमा रहेका ठाकुर उनीहरुलाई जोगाउन चाहन्थे,तर उपाय भेटिरहेका थिएनन्।  त्यही बेला नेपाली कांग्रेसका नेताहरुले भेटघाट बढाए।  ठाकुर पहिला कांग्रेसमा लामो समय राजनीति गरेका नेता हुन्। उनी मधेस आन्दोलन ताका २०६३ मा कांग्रेस छोडेर तराई मधेस लोकतान्त्रिक पार्टी गठन गरेर लागेका हुन्।

कांग्रेसकै पूर्व नेता भएकाले उनीसँग कुरा गर्न कांग्रेसकै नेताहरु सक्रिय भए। सर्वाेच्चको फैसला आएको भोलिपल्ट अर्थात असार २९ गते देउवा प्रधानमन्त्री नियुक्त भए । संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्त भएका देउवालाई एक महिनाभित्र विश्वासको मत लिनुपर्ने थियो । 

एमालेको माधव नेपाल पक्षका नेताहरुले विश्वासको मत दिने भनेकै थिए। तैपनि देउवाले सकभर जसपाको सिंगो मत लिने योजना लिए।  याे निर्णयमा देउवा निकै परिपक्व देखिए।  त्यही अनुसार ठाकुरसँग देउवा निकटका नेताहरुको छलफल भएको हो ।

‘हामीले ठाकुरसहित उनी पक्षका सबै सांसदहरुलाई विश्वासको मत हाल्न सहमत बनाउन केही मिहिनेत गरेका छौं,’ ती नेताले भने, ‘महन्त ठाकुरसँग चार पटक कुराकानी भएको थियो।’ त्यसअघि नै चार चरणमा देउवाका निकट नेताहरु र ठाकुरबीच छलफल भएको थियो।

सो छलफलमा सहभागी एक नेताका अनुसार ठाकुरसँग तीन चरणमा एक्लै र एक चरणमा उनी पक्षीय नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी, लक्ष्मणलाल कर्ण र अनिल झालगायत सँग भेटघाट भयो।  कांग्रेस सभापति देउवालाई समर्थन गरेर जानुपर्ने पक्षमा शरतसिंह भण्डारी पनि थिए। 

शुक्रबार कोभिड परिक्षण गर्न संसद भवन पुगेका बेला माओवादी अध्यक्ष जसपाका नेताहरूका बीचमा भएको छलफलले समेत ठाकुर पक्षलाई तान्न भूमिका खेलेको थियो। उनले पनि ठाकुरलाई कन्भिन्स गराएका थिए । केपी ओलीले पूरा गर्छु भनेका माग मुद्दा देउवाले पनि पूरा गर्ने आश्वासन दिनु भएपछि सहयोग गरेर जानुपर्ने निष्कर्षमा आफूहरु पुगेको उनी बताउँछन्।

‘हामीले माग र मुद्दा हेर्ने हो, त्यो पूरा गर्ने सर्तमा ओलीलाई पनि समर्थन गरिएको हो,’ भण्डारीले भने, ‘शेरबहादुर देउवाले पनि माग मुद्दा सम्बोधन गर्ने प्रतिवद्धता जनाएपछि हामीले साथ दिनुपर्छ भनेर निर्णय गरायौँ।’
देउवा निकट नेताका अनुसार शनिबार साँझ भएको छलफल नै निर्णायक हो । 

आइतबार बस्ने प्रतिनिधि सभाको बैठक र सोही बैठकमा विश्वासको मत लिने योजनामा रहेका देउवाले ठाकुरसँग सोही योजना अनुसार भेटेका हुन्। शनिबार उनीहरुबीच भेट भयो, सो भेटमा देउवाले लामै कुरा गरे, ठाकुरले पनि अहिलेसम्मको परिस्थितिबारे आफ्ना धारणा राखे। ‘हामीले पटक पटक गरिएको छलफलले शनिबार साँझ सार्थकता पाएको हो,महन्थ जी पोजिटिभ भएर जानुभयो,’ छलफलमा सहभागी एक नेताले भने। 

ओली पक्षमा लागेर आफ्नै पार्टी जसपा समेत विभाजन गर्न पछि नपरेका महन्थ ठाकुर पक्षले पनि मत दिएपछि देउवाले १ सय ६५ मत लिएर विश्वासको मत पाएका छन्। अब उनी १७ महिनासम्म अर्थात प्रतिनिधि सभाको पूर्ण कार्यकाल प्रधानमन्त्री रहन्छन्। 

संकट टारे ठाकुरले

त्यसो त कांग्रेसले केपी शर्मा ओलीको बहिर्गमनसँगै महन्थ ठाकुर पक्ष समेत संकटमा परेको विश्लेषण गरेको थियो। 

‘ठाकुर पक्षमा रहेका केही नेताहरु आदर्श र सिद्धान्तबाट भन्दापनि अलि अलि पदीय लाभ खोज्ने खालका पनि थिए,’ एक नेताले भने, ‘ओलीको बहिर्गमनसँगै उहाँ आफ्ना पक्षमा रहेका साथीहरु जोगाउन नै नसक्नेगरी संकटमा पर्नुभयो।’ 

सोही कारण फेस सेभिङका लागि पनि देउवालाई मत दिएर आफ्ना साथीहरु रोक्न खोजेको विश्लेषण पनि कांग्रेस वृत्तमा भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .