राजनीति


एमाले बैठकमा पुगेर बाहिरिए भीम रावलसहितका माधव पक्षीय नेता

बैठक रोक्न आग्रह, तर ओलीले मानेनन्
एमाले बैठकमा पुगेर बाहिरिए भीम रावलसहितका माधव पक्षीय नेता

नेपालखबर
साउन १, २०७८ शुक्रबार १२:५५,

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका दुई नेता अध्यक्ष केपी शर्मा ओलीले राखेको स्थायी कमिटीको बैठकमा पुगेर बाहिरिएका छन्। ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसिरहेको बैठकस्थलमा पुगेर माधव पक्षीय नेताहरु बाहिरिएका हुन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भूमिका खेलेको भन्दै नेपाल पक्षसँग ओली आक्रोशित छन्। यस्तोमा शुक्रबार बसेको स्थायी कमिटी बैठक रोक्न आग्रहसहित पुगेका नेताहरु केही बेर बसेर बाहिरिएका हुन्। 

एमाले स्थायी कमिटी बैठकमा नेपाल पक्षका भीम रावल, गोकर्ण विष्ट, घनश्याम भुसाल र भीम आचार्यसहितका नेता पुगेका थिए। बैठकस्थलमा प्रवेश गर्दै गर्दा नेता नेपालले आफूहरु बैठक रोक्ने माग गर्न आएको जवाफ दिएका छन्। 

‘पार्टी एकताका लागि थप गृहकार्य आवश्यक छ। हामी पार्टी एकता बचाउन लागिरहेका छौं, त्यसका लागि यहाँ आएर बैठक रोक्न भन्यौं', रावलले सञ्चारकर्मीसँग भने, 'तर, अध्यक्षले मान्नुभएन।’

एमालेको पार्टी विवाद समाधान गर्न गठित कार्यदलले असार २७ गते १० बुँदे सहमति गरेको थियो। तर दुई पक्षबीचको विवाद समाधान भएको भनिएको भोलिपल्टै सर्वोच्च अदालतको आदेशबाट ओलीले प्रधानमन्त्री पद त्याग्नु परेको थियो।

त्यसपछि एमालेको विवाद फेरि बल्झिएको अनुमान गरिएका बेला ओलीले स्थायी कमिटी र दलको बैठक डाकेका हुन्। ओलीले बालुवाटारबाट बालकोट पुगेर अब वरिष्ठ  नेता माधवकुमार नेपाल एमालेमा रहने कुनै सम्भावना नरहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad