ad ad

राजनीति


सांसदहरूलाई बधाई दिँदै रामकुमारी झाँक्रीले गरिन् केपी ओलीको कडा आलोचना

सांसदहरूलाई बधाई दिँदै रामकुमारी झाँक्रीले गरिन् केपी ओलीको कडा आलोचना

नेपालखबर
असार २८, २०७८ सोमबार १५:५९,

सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेपछि नेकपा एमालेकी नेता रामकुमारी झाँक्रीले खुसी प्रकट गरेकी छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक गत जेठ ७ गते मध्यराति प्रतिनिधि सभा विघटन गरेकी थिइन्। त्यसविरुद्ध नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा १४६ सांसदले हालेको मुद्दामा सर्वाेच्च अदालतले आज सोमबार फैसला सुनाउँदै प्रतिनिधि सभा पुनःस्थापना गर्नाका साथै देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो।

गत जेठमा संविधानको धारा ७६ (५) बमोजिम बहुमत १४६ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्री पदमा दाबी गरे पनि राष्ट्रपति भण्डारीले बहालवाला प्रधानमन्त्री केपी शर्मा ओलीबाट पनि १५३ सांसद आफ्नो समर्थनमा रहेको दाबी आएको भन्दै देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति दिन अस्वीकार गरेकी थिइन्। अदालतको परमादेशसँगै अब देउवा त्यही दाबीका आधारमा प्रधानमन्त्री हुने भएका हुन्।

अदालतको आदेशसँगै आफू पनि सांसदमा पुनर्बहाली भएकी माधव नेपाल पक्षकी नेता झाँक्रीले हर्षित हुँदै फैसला गर्ने न्यायाधीश, विघटनविरुद्ध बहस गर्ने अधिवक्ता, खबरदारी गर्ने नागरिक समाज, सञ्चारमाध्यमलाई धन्यवाद दिँदै सांसदहरूलाई बधाई दिएकी हुन्। 

दोस्रोपटक भएको विघटन बदरले राजनीतिक नेतृत्व चयनको निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ भन्ने शिक्षा दिएको पनि उनले उल्लेख गरेकी छन्। 

साथै राजनीतिक नेतृत्व गलत मानिसको हातमा पर्यो भने यसैगरी अदालतको शरणमा जानुपर्ने अवस्था आउने उल्लेख गर्दै उनले नाम नलिईकन ओलीको कडा आलोचना पनि गरेकी छन्।

यसअघि पनि गत पुस ५ गते प्रधानमन्त्री ओलीकै सिफारिसमा राष्ट्रपति भण्डारीले गरेको प्रतिनिधि सभा विघटन बदर गर्दै सर्वाेच्च अदालतले पुनःस्थापना गरेको थियो।

यस्तो छ, उनको वक्तव्यको पूरा पाठ :
जब राजनीतिक नेतृत्वले विवेक गुमाउछ, अहंकार र दम्भबाट ग्रसित हुन्छ। जनताको सार्वभौम सत्ता, कानुन र विधि आफूमा निहीत रहेको राज्य ठान्छ नि, राजनीतिका सबै मामिलाः लोकतन्त्र, संविधान र संसद सहित दलको आन्तरिक व्यवस्था विधान, विधि र निर्णयहरूमा अदालत प्रवेश मात्र गर्दैन, परीक्षण गर्न जानुपर्ने अवस्था आउने रहेछ। 

त्यसैले राजनीति नेतृत्व कस्तो हुने भन्ने निर्णय गर्नु धेरै ठूलो कुरा रहेछ। न्यायपालिकाले आफ्नो गरिमा बढाएको छ। संवैधानिक इजलासका माननीय न्यायमूर्तिहरू, स्वस्थ बहस र पैरवी गर्ने विद्वान वरिष्ठ अधिवक्ता र अधिवक्ता मित्रहरू यो प्रक्रियाको राजनीतिक नेतृत्व, मिडिया र नागरिक समाज सबैप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु। लोकतन्त्रको पक्षधर नेपाली जनता र माननीय सांसदज्यूहरूलाई हार्दिक बधाई!
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .