नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले सर्वाेच्च अदालतको परमादेशले शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि उनलाई प्रतिनिधि सभामा हराउन सक्ने सम्भावना जीवितै रहेको दाबी गरेका छन्।
देउवासमेत १४६ सांसदले हालेको मुद्दामा सोमबार सर्वाेच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गर्दै देउवालाई प्रधानमन्त्रीमा नियुक्ति गर्न परमादेश जारी गरेको हो।
गत जेठमा बहुमत १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपतिको कार्यालयमा पेस गरेको दाबीबमोजिम देउवा संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्ने भएका हुन्। देउवालाई प्रधानमन्त्री बनाउन पेसदाबीपत्रमा एमालेकै माधव नेपाल पक्षका २७ सांसदले पनि हस्ताक्षर गरेका छन्।
यसरी बनेको प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने हुन्छ। त्यसबेला अहिले समर्थन गरेका सबै सांसदले मत नहालेका खण्डमा देउवाले संसदको विश्वास नपाउन पनि सक्छन्। त्यसो हुँदा उनको पद जान पनि सक्छ।
यसैलाई संकेत गर्दै ओली समूहका एमाले नेता रिजालले एमाले एक भएका खण्डमा देउवालाई बहुमत पुर्याउनबाट वञ्चित गर्न सकिने बताएका हुन्।
आइतबारको सहमतिअनुसार पार्टीलाई एकताबद्ध गराउन सकियो भने संसदमा एमाले नै पहिलो नम्बरको दल हुने उनको दाबी छ।
अदालतको फैसला सार्वजनिक हुनासाथ रिजालले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सरकार आउने जाने नियमित कुरा हो। हामी एमालेका लागि मुख्य कुरा हाम्रो पार्टी एकता हो। हिजो भएको सहमतिअनुसार पार्टीलाई बचाउन सक्दा सदनमा देउवाको बहुमत पुग्दैन। एमाले नै निर्णायक रहन्छ। सदनमा पनि एमाले एक नम्बर, चुनावमा पनि एमाले एक नम्बर। किनकि, चुनावको विकल्प छैन।’
तर आइतबार राति एमाले कार्यदलले जुटाएको १० बुँदे सहमतिप्रति स्वयं माधव नेपाल भने सन्तुष्ट छैनन्। नेपाल पक्षकै नेताबाट फरक फरक धारणा आइरहेका छन्।
यी पनि :
१० बुँदे सहमतिप्रति रामकुमारी झाँक्रीको ४ बुँदे टिप्पणी
सर्वोच्च अदालतको फैसलाप्रति शंकर पोखरेलको टिप्पणीः अब देश ठूलो दुश्चक्रमा फस्यो!
Shares

प्रतिक्रिया