राजनीति


गण्डकीको स्थगित बर्खे अधिवेशन आजदेखि

गण्डकीको स्थगित बर्खे अधिवेशन आजदेखि

वाशुदेव मिश्र
असार २७, २०७८ आइतबार ८:५६,

गण्डकीको स्थगित बर्खे अधिवेशन आजबाट सुरु हुँदैछ। बिहान ११ बजेबाट सुरु हुने अधिवेशनमा आर्थिक वर्ष २०७८/०८९ को बजेटबारे छलफल हुनेछ। 

नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले असार ४  गते विश्वासको मत पाएसँगै गण्डकी प्रदेशसभा स्थगित भएको थियो। 

सत्ता गठबन्धनमा आएको दरार तथा रातो किताबको तयारीका कारण सरकारले बजेट ल्याएको २७ दिनपछि मात्रै अधिवेशन सुरु गर्न लागेको हो। सरकारका प्रवक्ता मन्त्री कुमार खड्काले जेठ २९ गते सत्तारोहण गरेको नयाँ गठबन्धन सरकारले हतारमा बजेट ल्याउनु परेकाले रातो किताब तयारीका कारण सदन लामो समय स्थगित गर्नुपरेको जिकिर गर्दै आएका छन्।
स्वेतपत्र ल्याउँदै 

नयाँ सरकारले आइतबार नै स्वेतपत्र जारी गर्दैछ। पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले हालसम्म सम्पादन गरेका कामहरु, हन्तारण भएका वित्तीय दायित्वलगायतका विषय स्पष्ट पार्नुपर्ने भएकाले स्वेतपत्र जारी गर्न लागिएको सरकारले जनाएको छ। यसअघि नै सरकारका प्रवक्ता कुुमार खढ्काले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले जाँदाजाँदै ४ अर्ब ५९ करोडका नयाँ आयोजनाको ठेक्का लगाएर थप वित्तीय दायित्व सिर्जना गरेको आरोप लगाइसकेका छन्। 
 विपक्षी पनि आक्रामक 
बर्खे अधिवेशनको अघिल्लो दिन विपक्षी एमालेले सत्तापक्षको भनाइको खण्डन मात्रै गरेन, नयाँ सरकार भ्रष्टाचारमा लिप्त भएको आरोपसमेत लगाएको छ। 

गण्डकी प्रदेशसभामा विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विभिन्न १० वटा योजनाहरुको ठेक्का लगाइएको स्वीकार गरेका छन्। तर ती सबै नियमित परियोजना नै भएको उनको दाबी छ।

बजेट अभावले ठूला योजनाहरुलाई टुक्र्याएर ठेक्का लगाउनुपर्ने बाध्यताका बीच क्रमागत योजनाहरुलाई निरन्तता दिइएको उनले बताएका छन्। ती योजनाहरुमा संघीय सरकारको समपूरक अनुदान आएको र ठेक्का नलगाए रकम फिर्ता हुने अवस्था रहेकोले हतारमा ठेक्का लगाउनुपरेको उनले बताएका छन्। 

नयाँ सरकारले १६ करोड गैरबजेटरी रकम कार्यकर्तालाई बाँडेको आरोप लगाउँदै उनले त्यो प्रकरण आझेलमा पार्न नयाँ प्रपञ्च रचिएको बताए। अघिल्लो सरकारले तयार पारेका योजनाहरुलाई काट्ने वा रकम विनियोजन नगरिए विपक्षी चुप लागेर नबस्ने चेतावनीसमेत उनले दिएका छन्।

‘मलाईजस्तो उहाँहरुलाई सरकार चलाउन सजिलो छैन,२७ जनाको गोला हामीसँग छ’ उनले भने, ‘रातो किताबमा योजनाहरु काटिएको सुनेको छ, त्यस्तो भए हामी सशक्त प्रतिवाद गर्नेछौँ।’

आचार्य र मनाङेलाई मन्त्रालय
 मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आफूसहित कांग्रेसका कुमार खड्का,माओवादी केन्द्रकी मधुमाया अधिकारी गुरुङ, जनता समाजवादी पार्टीका हरिशरण आचार्य र स्वतन्त्र सांसद दीपक मनाङेलाई मन्त्री बनाएका छन्। तर, उनीहरुलाई मन्त्रालयको जिम्मा लगाइएन। 

विश्वासको मत लिने दिन अर्थात् असार ४ गते जनता समाजवादी पार्टीले अर्थ मन्त्रालयसहित २ जना मन्त्री नदिए सरकारमा नजाने अडान लियो। मुख्यमन्त्री कृष्णचन्द्रले सहमतिपत्रमा हस्ताक्षर गरे । भौतिक योजना मन्त्रालयमा त्यसअघि नै दीपक मनाङेको दावी थियो। 

कांग्रेसले सत्ताको ‘मुख्य चावी’ मानिएका मनाङेलाई पनि रोजेको मन्त्रालय दिने मौखिक सहमति गरिदियो। तर, विश्वासको मत लिएसँगै ठूला र वजनदार मन्त्रालय गठबन्धनका साना दललाई दिँदा कांग्रेस र माओवादी केन्द्रले कुन मन्त्रालय लिने भन्ने प्रश्न खडा भयो। अर्थ कांग्रेसले लिए भौतिक माओवादी र भौतिक माओवादीले लिए अर्थ कांग्रेसले लिने सहमति भएपनि दुबै मन्त्रालय अर्काले लगेपछि समस्या पर्ने देखियो। मुख्यमन्त्री नेपाली अप्ठेरोमा परे। 

उनले जनता समाजवादीका हरिशरण र स्वतन्त्र सभासद दीपक मनाङेलाई लामो समयसम्म विनाविभागीय मन्त्रीमै राखिरहे । हरिशरणले आफूलाई अफर गरिएको उर्जा, जलस्रोत तथा खानेपानी र मनाङेले युवा तथा खेलकुद मन्त्रालयमा रुचि देखाएनन्। 

तर, जसपाले आफ्ना दुबै सभासद मन्त्री हुने अवस्था आएपछि संसदीय दलका नेता हरिशरणले उर्जा, जलस्रोत तथा खानेपानीमै चित्त बुझाए भने दीपक मनाङे पनि युवा तथा खेलकुद मन्त्रालय सम्हाल्न राजी भए। 

दुबै मन्त्रीले आइतबार अधिवेशन सुरु हुनुअघि मन्त्रालय सम्हाल्ने कार्यक्रम छ। मनाङे यसअघि २ पटक खेलकुद मन्त्री भइसकेका थिए। ११ वटा मन्त्रालय रहेको गण्डकीमा यसअघि मधुमायाले स्वास्थ्य र कुमार खड्काले सामाजिक विकास मन्त्रालय सम्हाल्दै आएका छन् । ११ मन्त्रालयमध्ये बाँकी भने खाली छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .