ad ad

राजनीति


१५ दिनमा जसपाको आधिकारिकता टुंगिने, कसले पाउला नाम र चुनाव चिन्ह?

१५ दिनमा जसपाको आधिकारिकता टुंगिने, कसले पाउला नाम र चुनाव चिन्ह?

सागर न्यौपाने
असार २२, २०७८ मंगलबार १९:२,

अबको १५ दिनभित्र जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकता टुंगो लाग्ने भएको छ। 

मंगलबारबाट निर्वाचन आयोगलाई जसपाका नेताहरुले पार्टी विभाजनको प्रक्रिया सुरु गर्न अनुमति दिएका छन्। यससँगै जसपा विभाजनको औपचारिक प्रक्रिया सुरु भएको छ। 

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जसपा विवाद र आधिकारिताको छिनोफानो अबको १५ दिनभित्र हुने बताए। 

‘अबको १५ दिनभित्र जसपाको आधिकारिकता टुंगो लगाउँछौं, र निकास दिइसक्छौँ,’ थपलियाले नेपालखबरसँग भने, ‘कानुन बमोजिम ४५ दिन भन्छ, तर हामीलाई ४५ दिन कुर्ने समय छैन, चुनाव हुने हो भने १५ दिनभन्दा बढी दिनै सकिँदैन। अब चुनावमा जानुपर्छ, त्यसकारण चुनाव हुन्छ नै भन्ने ठानेर हामी तयारी गरिरहेका छौँ।’

सर्वाेच्च अदालतले आगामी २८ गते प्रतिनिधि सभा विघटनको फैसला गर्दैछ। सर्वाेच्चको फैसला आएको एक हप्ताभित्र आयोगले जसपाको आधिकारिकता टुंग्याउनेछ।

अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर पक्षबीच चर्किएको विवाद निर्वाचन आयोगसम्म पुगेको थियो।

निर्वाचन आयोगले मिल्न दिएको सुझावलाई दुई पक्षले अस्वीकार गरेपछि एकता भएको १४ महिनामै जसपा विभाजनको प्रक्रिया अघि बढेको हो। 

विवाद निरुपणका लागि बुधबार इजलास गठन गर्ने आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले जानकारी दिए।

यादव र ठाकुर पक्षका नेताहरुलाई निर्वाचन आयोगले मंगलबार छलफलका लागि बोलाएको थियो। 

सो छलफलमा सहभागी उपेन्द्र यादवले ठाकुरसँग मिलेर जान नसक्ने प्रष्ट पार्दै कानुनअनुसार गर्न निर्वाचन आयोगलाई सुझाव दिए।

‘कानुनअनुसार नै अगाडि बढ्नुस् भनेर निर्वाचन आयोगलाई जिम्मा लगायौँ,’ यादवले नेपालखबरसँग भने।

उता छलफलमा सहभागी ठाकुर पक्षका नेता अनिल झाले पनि पार्टी विभाजन गराइदिने माइन्युटमा हस्ताक्षर गरेर आएको प्रतिक्रिया दिए।

‘सहमति गरेर एक भई अघि बढ्न उहाँहरु मान्नुभएन,’ झाले भने, ‘त्यसपछि पार्टी विभाजन गरादिनुस् भन्ने माइन्युटमा हस्ताक्षर गरेर आयौँ।’ 

प्रमुख निर्वाचन आयुक्त थपलियाले पनि मिल्न दिएको सुझाव दुवै पक्षले अस्वीकार गरेको बताए।

‘मैले आयोगका तर्फबाट तपाईंहरु मिलेर अघि बढ्नुस् भनेँ,’ थपलियाले नेपालखबरसँग भने, ‘यदि तपाईंहरु नमिल्ने हो भने अर्काे प्रक्रियामा जानुपर्ने हुन्छ। तपाईंहरु जसले आधिकारिता पाउनुहुन्न, त्यो पक्षले शून्यबाट सुरु गर्नुपर्छ, अझै पनि मिल्न सक्ने भए मिल्नुस् भनेँ। तर, उहाँहरुले एक हुने अवस्था रहेन भन्नुभयो।’

थपलियाले नमिल्ने हो भनेपनि सहमति गरेरै छुट्टिन सल्लाह दिएका थिए। 

‘सहमति गरेर पनि छुट्टिन पाइन्छ, तपाईंहरु कुनै एक पक्षलाई आधिकारिकता दिनु भन्नुहुन्छ भने अहिले नै सहमति गरेर मान्युट गर्नुस् भन्यौँ। तर, उहाँहरु त्यसमा पनि सहमत हुनुभएन र प्रक्रिया अघि बढाउन आग्रह गरेर जानुभयो,’ थपलियाले थपे।

प्रचलित कानुनबमोजिम विवाद निरुपण र आधिकारिकता प्रदान गर्नेगरी आवश्यक प्रक्रिया आयोगले अगाडि बढाओस् र आयोगले कानुनबमोजिम न्यायसिद्ध निर्णय गरिदेओस् भनेर दुवै पक्ष निस्केको थपलियाले बताए।

जसपामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई साथ दिने कि विपक्षी गठबन्धनमा सामेल हुने भन्ने विषयमा लामो समय विवाद भयो। 

तत्कालीन संघीय समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा) बीच २०७७ वैशाख १० गते मध्यराति पार्टी एकता गरेर जसपा बनेको थियो। पार्टी एकता गरेको एक वर्षसम्म पनि जिल्ला कमिटी तथा संगठनहरुको एकीकरण टुंगो लगाउन सकेन। 

त्यहीबीचमा २०७७ पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गराए। विघटनविरुद्ध पुस ७ गते बसेको जसपा कार्यकारिणी समितिको बैठकले देशव्यापी आन्दोलन गर्ने तय ग¥यो। आन्दोलनमा सम्बोधन गर्ने वक्ताहरु तोकिए। 

तर, सडक आन्दोलनकै क्रममा महन्थ ठाकुरले चुनावमा जाने अभिव्यक्ति दिएपछि जसपाभित्र खैलाबैला मच्चियो। उपेन्द्र यादव र महन्थ ठाकुरबीच दुरी बढ्दै गयो। संसदीय दलमा ठाकुर पक्ष बलियो देखियो भने केन्द्रीय कार्यसमितिमा यादव पक्ष। 

यादवले ठाकुर पक्षसँग बस्न नसक्ने भएकैले निर्वाचन आयोगमा दलको आधिकारिकता माग गर्दै निवेदन दिए।

उता ठाकुर पक्षले पनि आफू पार्टीको पहिलो वरियताको अध्यक्ष रहेको भन्दै २० जना केन्द्रीय कार्यकारिणी सदस्य थप गरेर आयोगमा आधिकारिकताको लागि निवेदन दिएका छन्।

जसपा विवादका विषयमा बुधबार आयोगको बैठक बस्नेछ। बुधबार नै आयोगले इजलास गठन पनि गर्नेछ।

‘हामी न्यायाधीश बन्नुपर्छ,’ प्रमुख आयुक्त थपलियाले भने, ‘दुवै पक्षलाई ७ दिनको समय दिन्छौँ, कानुन बमोजिमको अवधि तोकेर हामी दुवै पक्षलाई तारिख दिन्छौँ र आवश्यकताअनुसार कानुन व्यवसायी मुकरर गरिदिनुस् भन्छौँ।’

त्यसपछि इजलासले काम सुरु गर्छ। दुवै पक्षका वकिलहरुले पेस गरेको बहस नोट, कागजात अध्ययनको लागि आयोगले बढीमा ७ दिनको समय लिनेछ।

यसरी १५ दिनमा जसपाको विवाद समाधान गरेर आधिकारिकता टुंगो लगाउनेछ।

कसले पाउँछ जसपा नाम र चुनाव चिन्ह?
जसपा नाम र चुनाव चिन्ह कसले पाउला, अहिले सबैको चासो यसमै छ। आयोगमा दर्ता गरिएको ५१ सदस्यीय केन्द्रीय समिति नै कायम रहने र त्यही आधारमा बहुमत अल्पमत हेरेर आधिकारिकता टुंगो लगाउने प्रमुख आयुक्त थपलिया बताउँछन्।

‘विवाद सुरु हुनुभन्दा अगाडिको केन्द्रीय कमिटीमा जसको बहुमत छ, त्यो नै आधिकारिक हुन्छ भन्ने कानुनी व्यवस्था छ,’ थपलियाले भने, ‘त्यसभन्दा पछि केन्द्रीय कमिटीलाई फेरबदल गरेर पेस भएको केन्द्रीय कमिटिलाई आयोगले चिनिसकेको छैन।’

अहिले आयोगमा ५१ मध्ये ३० जना केन्द्रीय सदस्यको दस्तखत यादव पक्षले पेस गरेको छ। थप तीन जना केन्द्रीय कार्यकारिणी सदस्य ठाकुर पक्ष छाडेर आफ्नो पक्षमा आएको भन्दै यादव पक्षले पुरक निवेदन पनि दिएको छ। 

यसर्थ, यादवका पक्षमा बहुमत भएकाले यादव पक्षले नै आधिकारिकता पाउने देखिन्छ। 

‘३३ जना यादव पक्षमा देखिएका छन्,’ आयोग स्रोतले नेपालखबरसँग भन्यो, ‘आयोगले कसको सही कहाँ भन्ने हेर्दैन। इजलासमा बोलाउँदा जो जतापट्टि लाग्छ, त्यही हुन्छ। यो संख्या इन्ट्याक्ट रह्यो भने यादव पक्ष बहुमतमा रहेको देखिन्छ।’

इजलासमा सनाखत गरेपछि सच्याउन पाइने व्यवस्था भने हुँदैन। 

त्यसो त आयोगमा ठाकुर पक्षले पनि बहुमत रहेको दाबी गरेर निवेदन दिएको छ। त्यो निवेदन के हुन्छ त भन्ने प्रश्नमा आयोगका प्रमुख निर्वाचन आयुक्त थपलियाले भने, ‘इजलासमै संख्या हेर्छौँ। कसैले गरेको दाबीलाई हामीले अद्यावधिक गरेका छैनौँ।’

पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने ओली कदमलाई ठाकुरले साथ दिएपछि विस्तारै चुलिएको जसपा विवाद २०७८ जेठ १७ गते अध्यक्ष ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई अध्यक्ष उपेन्द्र यादवले पार्टीबाट निस्कासन गरेपछि चुलिएको हो।

आयोगले सोही मितिलाई विवाद सुरु भएको विन्दु मान्ने यादव पक्षका नेताहरु बताउँछन्।

यादव पक्षका नेता नवराज सुवेदीले जसपामा सधैँ आफूहरु बहुमतमा रहेको जिकिर गरे।

‘जसपामा हामी जहिलेपनि बहुमतमा हो,’ सुवेदीले नेपालखबरसँग भने, ‘त्यही आधारमा हामीले आयोगमा विभिन्न समयका डकुमेन्टहरु बुझाएका छौँ।’

ठाकुर पक्षका नेता अनिलकुमार झाले भने पार्टी एक भएदेखि नै विवाद कायम रहेको बताए।

‘जसपा बनेदेखि नै विवाद थियो, कार्यकारिणी समिति बाहेक अरु तह बन्नै नसकेको विवादकै कारण हो,’ झाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .