राष्ट्रिय सभा सदस्य कोमल ओलीले राष्ट्रियसभाको बैठकमा सरकार विरोधी मोर्चामा सहभागी राजनीतिक दलहरुलाई बाँदरको संज्ञा दिँदै व्यंग्यात्मक कविता बाचन गरेकी छन्।
राष्ट्रियसभाको सोमबारको बैठकको विशेष समयमा बोल्दै राष्ट्रियसभा सदस्य ओलीले मुलुकको कोरोना महामारीको चपेटामा देश र देशबासी परेका बेला सबै राजनीतिक दलहरु एकजुट हुनुपर्नेमा फुटको राजनीतितर्फ उन्मुख भएको बताइन्।
धार्मिक, सांस्कृति र प्राकृतिक सम्पत्तिको चर्चा गर्दै उनले नेपाली जनतालाई व्यवहारिक शिक्षा नदिन तथा जलस्रोतको धनी भइकन जनतालाई जलस्रोतसँग जोड्न नसक्नुको दोषी वर्तमान सरकार नभई विगतका सरकारहरु भएको बताइन्।
उनले भनिन्, ‘यो बेलामा राष्ट्रका सबै शक्तिहरु एक ठाउँमा उभिनु पर्दैन? कुन बेला झगडा गर्ने कुन बेलामा मिल्ने भन्ने प्राथमिकता हुँदैन? यो भन्दा बाँदर चरित्र के हुन्छ? न आफ्नो घर बनाउने न अर्काको घर बन्न दिने? न अरुलाई गर्न दिने न आफूले गरेर देखाउने? यसरी मुलुकको निर्माण कसरी हुन्छ? जनताको सम्मृद्धि कसरी हुन्छ?’
उनले आफूले पनि नगर्ने र अर्कालाई पनि काम गर्न नदिने चरित्र राजनीतिक दलहरुमा भएको भन्दै सरकार विरोधी मोर्चामा सहभागी दललाई लक्षित गर्दै ‘बाँदरको जमात र अमृत पानको सपना’ शिर्षकको कविता बाचन गरिन्।
उनको कविता यस्तो थियो .......
‘बाँदरहरुको आफ्नो देश हुदैन बाँदरहरुको निश्चित भेष हुँदैन।
कहिले मिलेका छन् कहिले फुटेका छन्
इर्स्याको भट्टीमा आफैलाई भुटेका छन्,
आँखाभरी लोभ पापको पिपासा बोकेर
आजकल बेबारिसे बाँदर विनासका मेलामा जुटेका छन्।
अलिकति चेतना भएको भए
हामी र हाम्रो भन्न सक्थे
हालेको जग बचाएको भए
सुन्दर घरबास बन्न सक्थे।
आखिर बाँदर न हुन्,
भोलिको प्रतिक्षा कहाँ गर्छन्?
आफ्नै बासमा आगो फुकेर भागाभाग छ आज यीनको...
बाँदरहरु खेती गर्दैनन्, बाली बिनास गर्छन्।
कहिले ढेडुहरुसँग मिल्छन् कहिले गोईलानहरुसँग मिल्छन्।
कर्मको कुटो नलगाउने यी बाँदरहरु
अमृतपान गर्ने सपना देख्छन्।
बाँदरहरुको आफ्नो देश हुँदैन बाँदरहरुको निश्चित भेष हुँदैन।
छेपारा जस्ता मौसमी रंग बदल्ने बाँदरहरुको स्थायी परिवेश हुँदैन।’
Shares

प्रतिक्रिया