राष्ट्रिय खेलाडी कल्याणकारी कोषले विभिन्न ४ खेलका खेलाडीलाई सोमबार उपचार खर्च उपलब्ध गराएको छ।
कोषले ब्याटमिन्टन, टेबलटेनिस, जुडो र उसुका चार खेलाडीलाई २ लाख ९ हजार ६ सय ५५ रुपैयाँ प्रदान गरिएको नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष तथा कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिए।
खेलाडी संघका उपाध्यक्ष समेत रहेका राष्ट्रिय खेलकुद परिषद्का सदस्य हरि खड्काले खेलाडीलाई सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे।
ब्याडमिन्टनकी रञ्जना भट्ट र टेबलटेनिसकी मारिया थापा मगरलाई समान ८० हजार तथा जुडोकी सुनिता बोहरालाई ३० हजार तथा उसुकी सिलु डंगोललाई १९ हजार ६ सय ५५ रुपैयाँ दिएको कोषले जनाएको छ।
सुदूरपश्चिम प्रदेशमा रहेकी जुडोकी सुनिताको रकम नेपाल जुडो संघका अध्यक्ष दीपकहर्ष वज्राचार्यलाई हस्तान्तरण गरिएको थियो।
कोषले चालु आर्थिक वर्षमा यी ४ खेलाडीसहित १३ जनालाई उपचार खर्चवापत ११ लाख ३४ हजार ६ सय ५५ रुपैयाँ वितरण गरिसकेको छ।
विभिन्न ५ खेलका खेलाडी र पूर्व खेलाडी गरी ९ जनालाई ९ लाख २५ हजार रुपैयाँ प्रदान गरिसकेको कोषले जनाएको छ।
Shares

प्रतिक्रिया