ad ad

राजनीति


चीनको मुखर कूटनीति झेल्न नेपाल सक्षम छ?

चीनको मुखर कूटनीति झेल्न नेपाल सक्षम छ?

मणि दाहाल
असार २१, २०७८ सोमबार ६:५७,

‘हामी चिनियाँ जनता न्यायको पक्षमा छौँ र कुनै पनि शक्तिले हामीलाई धम्क्याउन सक्दैन। हामीले कहिल्यै पनि अन्य देशका नागरिकलाई धम्क्याउने, दबाउने वा अधीनमा राख्ने गरेनौँ र कहिल्यै गर्दैनौँ पनि। त्यसैगरी, कुनै पनि विदेशी शक्तिलाई हामीलाई धम्क्याउने, शोषण गर्ने र अधीनस्त तुल्याउने अनुमति दिने छैनौँ। त्यस्तो कोसिस गरे उनीहरु एक अर्ब ४० करोड चिनियाँ जनताबाट निर्मित स्पाती पर्खालमा बजारिनुपर्नेछ।’

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा राष्ट्रपति सी चिनफिङले बिहीबार (१ जुलाई) दिएको अभिव्यक्ति हो यो। कूटनीतिक मामिलाका विज्ञहरुले सीको यो भाषणले चीनको आन्तरिक तथा विदेश नीतिमा आएको परिवर्तनलाई स्पष्ट पारेको बताएका छन्।

चाओ एनलाइले सुरु गरेको नरम कूटनीतिलाई चीनले लामो समय निरन्तरता दिँदै आएको थियो। अझ देङ स्यायोपिङले त आफ्नो क्षमता र रणनीति लुकाउनुपर्ने बताएका थिए। तर, राष्ट्रपति सीको नेतृत्वमा केही वर्षयता चिनियाँ कूटनीति मुखर र आक्रामक बन्दै गएको विश्लेषण गर्न थालिएको छ। 

वैदेशिक मामिला विज्ञ प्राध्यापक श्रीधर खत्रीले आफ्नो हित रक्षार्थ जे पनि गर्न सक्छौँ भन्ने आसय सीको यो भाषणमा प्रकट भएको बताए।

‘पहिले देङले आफ्नो रणनीतिलाई मनमै राख्नू र अनुकूल समयको प्रतीक्षा गर्नू भनेका थिए। तर, अहिले सीले अघि बढेर रणनीति स्पष्ट पारेको देखिन्छ,’ खत्रीले नेपालखबरसँग भने, ‘पहिलेजस्तो चीनलाई दबाएर राख्ने समय गयो भन्ने सन्देश उनले दिन खोजेका छन्। आफ्नो इन्ट्रेस्ट रक्षाका लागि जे पनि गर्न सक्छौँ भनेर चीनले देखाउन खोजेको छ।’

चीनले पछिल्लो समय गरेको प्रगतिलाई चिनियाँहरु पुनरोत्थानका रुपमा लिन्छन्। इतिहासमा चीन कसैले पनि चुनौती दिन नसक्ने शक्ति थियो। तर, क्रमशः कमजोर हुँदै गएको चीन सन् १८४० को अफिम युद्धमा बेलायतसँग पराजित भएपछि करिब एक शताब्दीसम्म उपनिवेश बन्यो। यो अवधिलाई चिनियाँहरु ‘अपमानको शताब्दी’ भन्ने गर्छन्। १९४९ मा कम्युनिस्ट पार्टी सत्तामा आएपछि चीन पुनः शक्तिशाली हुँदै आएको हो।

‘सी राष्ट्रपति भएदेखि नै उनले आक्रामक विदेश नीति अपनाउँदै आएका हुन्। बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) नै आक्रामक परियोजना हो,’ नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) का कार्यकारी निर्देशक डा.मृगेन्द्रबहादुर कार्कीले भने, ‘इतिहासमा जुन गौरव थियो र संसारको शक्तिशाली देश थियो, अहिले त्यसैअनुरुप पुनर्जीवन प्राप्त गरिसक्यौँ भनेर सीले सन्देश दिएका छन्।’

चीनले राष्ट्रिय पुनर्जीवनलाई कति महत्व दिएको छ भन्ने सीले आफ्नो भाषणमा सो शब्द २४ पटक दोहोर्याएबाट पनि थाहा हुन्छ।

‘चीन एउटा महान् देश हो। यसको इतिहास ५ हजार वर्षभन्दा बढी छ, चीनले मानव सभ्यताको प्रगतिका लागि अमिट योगदान गरेको छ। तर सन् १८४० को अफिम युद्धपछि चीन विस्तारै अर्धसामन्ती र अर्धऔपनिवेशिक समाजमा अवनति भयो र कहिले पनि नभोगेको विनाश भयो,’ सीले भनेका छन्, ‘देशले अति नै अपमानको सामना गर्नुप¥यो, जनताले ठूलो कष्ट सामना गर्नुप¥यो र चिनियाँ सभ्यता अन्धकारमय भयो। त्यसै समयदेखि नै देशको पुनरोदयको विषय चिनियाँ जनता र चीन राष्ट्रको ठूलो सपनाका रुपमा रहँदै आयो।’

समस्याग्रस्त चीनलाई लामो समयसम्म ‘एसियाको बुढो रोगी’ को उपमा दिने गरिन्थ्यो। तर, चीनले पछिल्लो सात दशकमा आफूलाई आर्थिक र सैनिक रुपमा शक्तिशाली देशको रुपमा उभ्याएको छ। कुल गार्हस्थ उत्पादनमा अमेरिकापछि चीन दोस्रो स्थानमा छ। त्यसैगरी सेनाको आधुनिकीकरणका लागि यो देशले निकै ठूलो धनराशी खर्च गर्दै आएको छ। 

सी सत्तामा आएदेखि नै विदेश नीतिमा परिवर्तनका संकेत देखिएको थियो। खासगरी २०१७ मा स्विट्जरल्यान्डको डाभोसमा आयोजित वर्ल्ड इकोनोमिक फोरममा सीले बीआरआई र विश्वव्यापीकरणको प्रतिरक्षा गर्दै दिएको भाषणबाट राष्ट्रपति सीको विदेश नीति उनीअघिका नेताहरुको भन्दा फरक हुने अनुमान गर्न थालिएको थियो। 

अहिलेको भाषणले त्यसलाई अझ स्पष्ट पारेको परराष्ट्र मामिला अध्ययन केन्द्रका उपनिर्देशक डा.रुपक सापकोटा बताउँछन्।

‘सी सत्तामा आएपछि यति आत्मविश्वासका साथ सम्बोधन गरेको पहिलो पटक हो। यो सन्दर्भको हिसाबले पनि महत्वपूर्ण छ। पार्टी स्थापनाको एक सय वर्षमा गरिएको सम्बोधन हो यो,’ सापकोटाले भने, ‘चीनले विश्व राजनीतिमा आफ्नो उपस्थितिलाई जसरी मजबुत बनाउँदै लागेको छ, त्यसमा सीको भूमिका प्रमुख मानिन्छ।’

सापकोटाले चिनियाँ कम्युनिस्ट पार्टीले लिएको नीति अहिले चौथो चरणमा प्रवेश गरेको उल्लेख गरे।

उनका अनुसार पहिलो चरण १९२१ मा पार्टी स्थापनादेखि विजय प्राप्त नगर्दासम्म कम्युनिस्ट पार्टीले विद्रोहको नीति लिएका थियो। सन् १९४९ मा शासनमा पुगेपछि माओ शासनको प्रारम्भिक कालमा राष्ट्रिय एकीकरण र पार्टीलाई बलियो शक्तिको रुपमा उभ्याउने दोस्रो चरणको नीति रह्यो। तेस्रो चरणमा देङको उदयपछि आर्थिक खुलापन र उदारीकरणमा जोड दिइयो। 

‘पछिल्लो समयमा उनीहरुको ध्यान उन्नत प्रकृतिको समाजवादी मुलुक बनाउनेमा केन्द्रित छ,’ सापकोटाले भने, ‘उनीहरु विश्वमा आफ्नो प्रभाव अझै विस्तार गर्दै लौजान चाहन्छन्।’

चीन अब मुखर कूटनीतिका लागि सक्षम भइसकेको डा. कार्कीको बुझाइ छ। 

‘उनीहरुले पुरानो गौरवलाई फर्काए। त्यो विश्वास नहुञ्जेलसम्म उनीहरु कूटनीतिमा चुपचाप बसे,’ कार्कीले भने, ‘अहिले उनीहरुले आर्थिक वैभव हासिल गरेका छन्। कोभिड १९ लाई पनि नियन्त्रणमा लिन उनीहरु सफल भए। उद्योगहरुलाई छोटो समयमै पुरानो अवस्थामा फर्काए। यसले उनीहरुको आत्मविश्वास बढेको छ।’

२०२१ को पहिलो चौमासिकमा चीनले अघिल्लो वर्षको सोही अवधिको तुलनामा १८.३ प्रतिशत आर्थिक वृद्धिदर हासिल गरेको थियो।

डा. कार्कीले बिहीबारको राष्ट्रपति सीको भाषण पश्चिमा शक्तिहरुका लागि पनि सन्देश भएको बताए।

‘ट्रम्प हुँदा अमेरिका र युरोपमा केही फरक थियो तर बाइडेन सत्तामा आएपछि दुवै शक्ति एकै स्थानमा पुनः आइपुगेका छन्,’ डा. कार्कीले भने ‘उनीहरुलाई पनि एक प्रकारको जवाफ हो यो।’

गत महिना जी ७ र नेटोको शीर्ष बैठकमा पश्चिमा मुलुकहरुले चीनविरुद्ध संयुक्त मोर्चाबन्दी गर्ने प्रयास गरेका थिए। अमेरिकी राष्ट्रपति जो बाइडेनको अगुवाइमा जी ७ ले चीनको बीआरआईलाई टक्कर दिनेगरी ‘बी३डब्लू’ योजना पनि अघि सारेको छ। सो बैठकमा जी ७ मा नपर्ने देशहरु भारत र अस्ट्रेलियालाई पनि आमन्त्रण गरिएको थियो। बैठकले चीनलाई मानवअधिकार र वाक् स्वतन्त्रताको आधारभूत विषयलाई सम्मान गर्न आग्रह गरेको थियो। ती मुलुकले हङकङ, ताइवान, सिन्जियाङ, दक्षिण चीन सागर र तिब्बतको विषयमा चीनले लिएको नीतिको आलोचना गरेको थियो। 

आन्तरिक पक्ष
सीको भाषणको आन्तरिक आयाम पनि भएको प्राध्यापक खत्रीको बुझाइ छ।  

‘देङ र उनीपछिका नेताजस्तो उदारवादी नीतिमा सीको रुचि नरहेको देखिन्छ,’ खत्रीले भने, ‘त्यस्तै पार्टी तथा सेनाभित्र रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने, कम्युनिस्ट पार्टीको पकडलाई दह्रो बनाउने उनको चाहना देखिन्छ।’ 

देङबाट हु जिन्ताओको समयसम्म आइपुग्दा कम्युनिस्ट पार्टीको पकड खासगरी आर्थिक क्षेत्रमा कमजोर हुँदै गएको थियो। तर, सीले हरेक क्षेत्रको नेतृत्व पार्टीले नै गर्नुपर्नेमा जोड दिँदै आएका छन्।

दुई कार्यकाल मात्रै राष्ट्रपति बन्न पाइने व्यवस्था हटाएका सीले त्यसको औचित्य साबित गर्न पनि केही न केही परिवर्तनको महसुस गराउन आवश्यक रहेको डा. कार्की बताउँछन्।

‘सी अहिलेसम्म पार्टीको महासचिव हुन्, उनी संविधान परिवर्तन गरेर माओपछिको अध्यक्ष बन्न चाहन्छन कि भन्ने छ। यसअघि नै संविधान परिवर्तन गरेर उनले दुई कार्यकालको व्यवस्था हटाएका छन्,’ डा. कार्कीले भने, ‘पार्टीभित्र मजबुत हुनका लागि पनि अन्तर्राष्ट्रिय रुपमा चुनौती दिनुप¥यो। दुई कार्यकालबाट तीन कार्यकालमा जान केही न केही महत्वपूर्ण काम गर्नुप¥यो। त्यसैका लागि समयसीमा भन्दाअघि नै चीनले हङकङलाई कानुनी रुपमा आफ्नो बनायो।’

चीन र भारतसँग निर्विवाद नेता छन्, हामीसँग शक्तिशाली नेतृत्व छैन 
शक्तिशाली चीनको मुखर कूटनीतिले नेपालका सामु पनि चुनौती थप्ने विज्ञहरुको भनाइ छ। खासगरी दुई विशाल छिमेकीहरु चीन र भारत दुई दिशामा फर्किंदा उनीहरुको चाहनाहरुको व्यवस्थापन गर्नु नेपालका लागि कठिन हुने सिनासका कार्यकारी निर्देशक कार्की बताउँछन्। 

‘अहिले चीनको वैभव र आर्थिक उन्नतिको कारण बेइजिङलाई कुनै पनि राजनीतिक शक्तिले कमजोर आक्न र बेवास्ता गर्न सक्दैन। भारतलाई पनि हामीले कुनै पनि प्रकारले कम आक्न र बेवास्ता गर्न सक्दैनौँ,’ उनले भने, ‘अहिलेको हाम्रो समस्या भनेको यी दुवै शक्तिका चाहनालाई नेपालमा कसरी व्यवस्थापन गर्ने भन्ने नै हो। उनीहरुको इगो हर्ट हुन नदिने हो।’

नेपालले परराष्ट्र नीतिमा नीतिमा चीन र भारतलाई एकका विरुद्ध अर्कोको रुपमा राखेर हेर्न नहुने डा. कार्कीको निष्कर्ष छ। 

‘पोलेमिक हिसाबले हेर्नुहुन्न। चीन भर्सेस भारत वा चीन भर्सेस पश्चिमा भनेर रेखांकन गर्नु नेपालका लागि हितकर हुन्न। त्यसैले हामीले चीन र भारत, चीन र पश्चिम भन्नुपर्छ,’ उनले भने, ‘नेपालले निर्माण गर्ने विदेश नीति भनेको एकका विरुद्ध अर्को होइन, एक र अर्को हो।’

ठूला देशहरुबीचको सामारिक प्रतिस्पर्धाको मारमा नेपालजस्ता मुलुक पर्ने गरेको भन्दै प्राध्यापक खत्रीले सचेत रहनुपर्ने बताए।

‘ठूला र शक्तिशाली छिमेकी भएपछि फाइदा पनि हुन्छ, बेफाइदा पनि। फाइदा भनेको भारत र चीन आर्थिक रुपमा सक्षम भएपछि स्पिलओभर इफेक्ट पर्छ कि भन्ने हो,’ उनले भने, ‘अर्कोतिर, अमेरिका र चीन तथा भारत र चीनजस्ता देशहरुबीच अहिले सामारिक प्रभुत्वका लागि जुन प्रतिस्पर्धा भरहेको छ, त्यसबाट अर्थतन्त्र र सैन्य क्षमता निरन्तर रुपमा बढाउँदै लगेका दुई ठूला देशको बीचमा रहँदा हामीलाई धेरै चुनौती थपिन्छ।’ 

उसोभए के चीनको मुखर कूटनीतिलाई झेल्न नेपाल सक्षम छ त?

प्राध्यापक खत्री नेपाल त्यसका लागि तयार नदेखिएको बताउँछन्। नेपालसँग अहिलेसम्म कूटनीतिसम्बन्धी दीर्घकालीन रणनीति नभएको र नेपालले दुवै छिमेकीसँग कच्चा रुपमा सम्बन्ध राख्ने गरेको उनको भनाइ छ।

‘अब चीन र भारतलाई उही पुरानो तरिकाबाट हेरेर पुग्दैन,’ खत्रीले भने ‘हाम्रा नेता तथा कूटनीतिज्ञले विचारै नगरी प्रतिक्रिया दिने गरेका छन्। त्यसरी अब चल्दैन। भारत र चीनसँग सम्बन्ध बनाउन नेपाललाई दीर्घकालीन रणनीतिक अवधारणा नै चाहिन्छ।’ 

तर, विभाजित राजनीति र कमजोर नेताका कारण नेपालको चिन्ता झनै बढेको खत्रीको भनाइ छ।

‘अहिले दुई वटा छिमेकी उदाइसकेका छन्। हाम्रो नेताहरुले के विचार गर्दैनन् भने दुवै देशका नेताहरु व्यक्तिगत रुपमा निकै शक्तिशाली भएर निस्केका छन्। भारतमा मोदी र उनको पार्टी भाजपाले अन्य दलको प्रभाव घटाएर विभिन्न राज्यहरुमा जित्दै गएको छ। दुवै मुलुकमा निर्विवाद नेताहरु छन्,’ खत्रीले भने, ‘हाम्रोमा भने आन्तरिक अस्थिरता झनै बढेको छ। शक्तिशाली नेतृत्व छैन। हाम्रो लागि सबैभन्दा ठूलो चुनौती त्यही हो। दुवै छिमेकी देशहरुको प्रभावशाली नेताहरुसँग डिल गर्नेमा हामीभित्रै किचलो छ र नीति पनि स्पष्ट छैन। कसरी अघि बढ्ने भन्ने विषयमा कसैको ध्यान नै छैन। सबैभन्दा डरलाग्दो विषय यही हो।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .