ad ad

कारोबार


नेपालमै उच्च गुणस्तरको सिमेन्ट उत्पादन, यी उद्योगले पाए अनुमति

नेपालमै उच्च गुणस्तरको सिमेन्ट उत्पादन, यी उद्योगले पाए अनुमति

वसन्त अर्याल
असार २१, २०७८ सोमबार ९:३८,

नेपाली सिमेन्ट उद्योगले उच्च गुणस्तरको मान्यता पाएका छन्। 

४ सिमेन्ट उद्योगले नेपाल गुणस्तर तथा नापतौल विभागबाट ५३ ग्रेड र ४३ ग्रेडको मान्यता पाएका हुन्। 

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको विभागले सिमेन्टको ग्रेड निर्धारण गरेको छ। यसअघि उद्योगहरुलाई ३३ ग्रेडको सिमेन्ट मात्रै उत्पादन गर्न दिएकोमा अहिले ४३ र ५३ ग्रेड दिनथालेको हो।  

अधिकांश ठूला सिमेन्ट उद्योगहरुले विभागमा ग्रेडवृद्धिको निवेदन दिइसकेका छन्। जसमा ३–३ उद्योगले ४३ र ५३ ग्रेड उत्पादनको अनुमति प्राप्त गरेका छन्। 

सरकारले नेपाली सिमेन्ट उद्योगलाई ४३ र ५३ ग्रेड नतोक्दा विदेशी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसकेको सिमेन्ट उद्योगीले गुनासो गर्दै आएका थिए।  

नेपाली सिमेन्टको ग्रेड नतोकिँदा ठूला आयोजनाले विदेशबाटै सिमेन्ट आयात गरी प्रयोग हुँदै आएको छ। 

नेपालमा निर्माणाधीन ठूला आयोजनाले नेपाली सिमेन्टको ग्रेड र आयोजनामा प्रयोगमा भएको ग्रेड नमिल्दा भारतबाट सिमेन्ट आयात गर्दै आएका थिए।

गत महिना राष्ट्र बैंकले सिमेन्ट उद्योगसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै १५ लाख ६० हजार मेट्रिक टन आयात भएको उल्लेख गरेको छ। 

राष्ट्र बैंकको तथ्यांकले नेपालमा ९० लाख ५० हजार मेट्रिक टन खपत रहेको देखाएको छ। 

जसमा नेपाली उद्योगहरुबाट ७४ लाख ९० हजार मेट्रिक टन सिमेन्ट मात्रै उत्पादन हुँदै आएको राष्ट्र बैंकले उल्लेख गरेको छ।

यी ४ सिमेन्ट उद्योगले पाए ५३ र ४३ ग्रेड
गुणस्तर तथा नापतौल विभागले शिवम् सिमेन्ट उद्योग प्रालिलाई ४३ र ५३ ग्रेड दिएको छ। शिवमले नेपालमै पहिलो पटक ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन सुरु गरेको हो। 

एनएस ५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले हाल ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरिसकेको छ। 

शिवमले यसअघि  एनएस–४९  अन्तर्गत उत्पादित सिमेन्टहरु कुनै पनि ग्रेड उल्लेख नगरी बजारमा बिक्रीवितरण गर्दै आएको छ।  

त्यस्तै नेपालमै पहिलोपटक ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न मारुती सिमेन्ट इन्डस्ट्री प्रालि सिरहाले अनुमति पाएको थियो। हाल सिमेन्टले ४३ र ५३ दुवै ग्रेड प्राप्त गरेको छ। 

मारुतीले उदयपुरको पहाडी क्षेत्रमा रहेको आफ्नै चुनढुंगा खानीबाट  ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ।

युनाइटेड सिमेन्ट प्रालि धादिङले ५३ ग्रेडको गुणस्तर प्रप्त गरेको छ। 

ललितपुरको लेलेमा अवस्थित आफ्नै खानीको चुन ढुंगा प्रयोग गरी आफैँ क्लिन्कर उत्पादन गर्दै आएको यस उद्योगले विगत ६ वर्षदेखि सिमेन्ट उत्पादन गर्दै आएको छ।  

५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। 

५३ ग्रेडको सिमेन्ट ठूलाठूला संरचनाहरु निर्माणको लागि प्रयोग गरिन्छ। 

त्यसैगरी प्युठान ब्रान्डको उत्पादन गर्दै आएको शुभश्री अग्नि सिमेन्ट इन्डस्ट्री प्रालिले ४३ ग्रेड पाएको छ। 

उच्च ग्रेडका सिमेन्टले पारिवारिक घर निर्माणसहित गगनचुम्बी महलदेखि हाइड्रोपावर ड्याम, टनेल, विशाल पुलहरु, राष्ट्रिय गौरवका आयोजनाहरु, बाटो निर्माणका लागि उत्कृष्ट मानिन्छ। 

नेपाल सिमेन्ट उद्योग संघका अध्यक्ष ध्रुव थापा नेपाली सिमेन्टको गुणस्तरमा कुनै कमी नभए पनि आयोजनाले तोकेअनुसारको ग्रेड गुणस्तर विभागले नतोक्दा विदेशी सिमेन्ट आयात हुने समस्या रहेको बताउँछन्। 

उनले अब सिमेन्ट उद्योगले ४३ र ५३ ग्रेड पाएपछि नेपाली आयोजनामा विदेशबाट आयात गर्नुपर्ने बाध्यता हट्ने दाबी गरे। 

‘जुन उद्योगमा बाहिरबाट सिमेन्ट ल्याउँदा करमा छुट पाएका छन् । उनीहरुले बाहिरबाट ल्याएका हुन्’, संघका अध्यक्ष थापाले भने, ‘कतिपय इन्जिनियरले ग्रेडिङ नलेखेको सिमेन्ट प्रयोग गर्न नमान्दा बाहिरबाट ल्याउनुपरेको हो। अब त्यो समस्या समाधान होला।’

सौरभ ग्रुपका अध्यक्ष विष्णु न्यौपानेले नेपालमै उच्च गुणस्तरिय सिमेन्ट उत्पादन हुन थालेको बताए। 

‘नेपालमा ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न सकिदैन भन्थे,’ न्यौपानेले भने ‘नेपालमै क्लिङकर उत्पादन शुरु भएसंगै सिमेन्टको गुणस्तर वृद्धि भएको छ।’

कसरी ग्रेड निर्धारण हुन्छ ?
विभागले निवेदन दिएका उद्योगको नमूना संकलनपछि परीक्षण गर्छ। त्यसमा उपयुक्त देखिएपछि मात्रै ग्रेड अर्थात् स्ट्यान्डर्ड दिन्छ। 

विभागले तोकेको मापदण्ड पूरा गरेका सिमेन्टको प्रस्ताव नेपाल गुणस्तर परिषदमा लैजान्छ। परिषदले पास गरेपछि मात्रै मापदण्ड पुगेको उद्योगले ग्रेडवृद्धिको प्रमाणपत्र पाउँछ।

सिमेन्ट उद्योगीका अनुसार ३३ ग्रेडमा उत्पादन भएको सिमेन्टलाई ४३ र ५३ ग्रेडको सिमेन्ट उत्पादन गर्न चुनढुंगा र कोइला राम्रो हुनुपर्छ।

३३ ग्रेडको सिमेन्ट सिमेन्ट व्यक्तिगत घर बनाउन प्रयोग हुन्छ। ४३ र ५३ ग्रेडको सिमेन्ट ठूला पुल, जलविद्युत, हाउजिङ, विमानस्थललगायतको निर्माण आयोजनामा प्रयोग हुन्छ। 

सामान्य पूर्वाधारको लागि ३३ ग्रेडको सिमेन्ट प्रयोग गरिन्छ। ठूला पूर्वाधारमा ४३ ग्रेडको सिमेन्ट प्रयोग हुन्छ भने ५३ ग्रेडको सिमेन्ट विशेष प्रकृतिका पूर्वाधारमा प्रयोग हुने उद्योगी बताउँछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .