ad ad

खेल


प्याराफिटको छानो चीनमै, सागलाई धक्का

प्याराफिटको छानो चीनमै, सागलाई धक्का

यज्ञराज जोशी
कात्तिक २१, २०७६ बिहिबार ११:१२,

१३औं दक्षिण एसियाली खेलकुद(साग) प्रतियोगिता आउन तीन हप्ता मात्र बाँकी छ। तर, त्यसबेलासम्म मुख्य आयोजनास्थल दशरथ रंगशालासहितका पूर्वाधार निर्धारित समयमा निर्माण सम्पन्न नहुने आशंका बढेको छ।

गत असार अन्तिम साता नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद्(राखेप) हाँक्ने जिम्मेवारी रमेशकुमार सिलवालले पाए। उनले सागका लागि कात्तिक १५ सम्म दशरथ रंगशालासहित सबै पूर्वाधार निर्माणसम्पन्न गर्ने बाचा गरेका थिए। अझै पनि कात्तिकमा काम सकिने रटान लगाइरहेका छन्।

‘एकदुई बाहेक अरु खेलस्थलको निर्माण सम्पन्न गरिसकेका छौं। मुख्य चुनौती भनेको सातदोबाटो स्थित हिटिङ स्वीमिङ पुल र दशरथ रंगशालाको हो। त्यो कात्तिक मसान्तसम्म सक्छौं,’ सदस्य सचिव सिलवाल भन्छन्।

जाडो महिना साग आयोजना हुने भएकाले सातदोबाटोमा हिटिङ सिस्टमयुक्त स्वीमिङ पुल निर्माण गरिदैँछ। त्यसबाहेक सबैको मुख्य चिन्ताको विषय भनेको उद्घाटन र समापनस्थल दशरथ रंगशाला नै हो। भूकम्पका कारण दशरथ रंगशाला क्षतिग्रस्त बनेको थियो। त्यसयता निकै सुस्त गतिमा अघि बढेको रंगशालाको कामले सागको मिति नजिकिँदै गर्दा तीव्रता पाएको थियो। अबको तीन हप्तामा रंगशालामा भीआईपी(पश्चिम)तर्फको प्याराफिटको छानो चीनबाट आइपुग्छ कि पुग्दैन भन्ने चिन्ता बाँकी छ। 

Dashrath rangashala vip parafit banirako
रंगशालाको यही भीआइपी प्याराफिटमा राख्ने छानो चीनबाट आइपुगेको छैन। तस्बिर: स्नेहा केसी 

त्यसबाहेक रंगशालाका अन्यतर्फको प्याराफिट निर्माण, छानो हाल्ने, रंगरोगन गर्ने काम भने सकिइसकेको छ। नियमित खरिद प्रक्रियाबाट भीआईपीतर्फको छानो समयमै नआइपुग्ने भएपछि अघिल्लो हप्ता राखेपले ठेकेदार कम्पनी चीनको सीएमई कन्स्ट्रक्सन र नेपालको एचटीसीसँग एयर कार्गोमार्फत भएपनि रंगशालाको छानो ल्याउन अनुरोध गरेको थियो।

त्यसमा सरकारले सहयोग गर्ने वाचा दिएपछि ठेकेदारले एयर कार्गोमार्फत छानो ल्याउने प्रयत्न थालेको छ। सदस्यसचिव सिलवालले शुक्रबार वा शनिबारसम्म छानो आइपुग्ने बताएपनि बिहीबार दिउँसोसम्म पनि चीनबाट छानो उडेकै छैन। छानोको अकार ठूलो भएकाले कुन विमानबाट ल्याउने र कुन रुट प्रयोग गर्ने भन्नेमा छलफल भइरहेको नेपालतर्फका ठेकेदार उपेन्द्र बमले बताए।

‘कहिले हिँड्ने भन्ने बिहीबार साँझसम्म टुंगो लाग्छ,’ ठेकेदार बमले नेपालखबरसँग भने, ‘छानोको साइज अनुसारको प्लेनको व्यवस्था गर्नुपर्ने भएकाले ढिला भएको हो।’

चीनबाट नेपालमा कार्गो गरी विमान ल्याउने तीन रुटबारे छलफल भइरहेको उनले बताए। ‘संघाई, हङकङ र थाइल्यान्डमध्ये कुन रुट छोटो पर्छ भन्नेमा छलफल भइरहेको छ,’ उनले भने।

‘नियमित प्रक्रियामा समुद्रको बाटो हुँदै ल्याउनुभन्दा प्लेनम ल्याउँदा आर्थिक व्ययभार त बढ्छ नै,’ बमले भने, ‘राज्यले केही सहयोग गर्छु भनेको छ। कति खर्च लाग्छ भन्ने एयर कार्गोको बुकिङ भएपछि थाहा हुनेछ। कुन रुटबाट आउने भन्ने टुंगो लागेपछि अहिले कति खर्च लाग्छ भनेर अनुमान गर्न पनि सकिन्न।’

निर्माण सम्पन्न हुनेमै संशय
एकातिर छानो चीनबाट आइनसकेको र अर्कातिर छानो ठड्याउने पिलरहरु पनि बनिनसकेकाले सदस्यसचिव सिलवालले भनेझैँ कात्तिक मसान्तमा रंगशाला तयार भइनसक्ने संशय बढेको छ।

भीआईपी प्याराफिटको छानोका लागि १९ वटा पिलर उठाउनुपर्ने हो। तर, बिहीबारसम्म तीन वटा मात्रै बनिसकेको राखेपका भौतिक पूर्वाधार शाखा प्रमुख इन्जिनियर अरुण उपाध्यायले बताए। उनले कात्तिक मसान्तसम्म पिलरको काम सक्न त्रिपुरेश्वर सुन्धारा सडकमा क्रेन लगाएर काम गर्नुपर्ने भएकाले सो सडक वान वे अथवा बन्द गर्नुपर्ने बताए। ‘सडक बन्द गरेर काम थाले छिटो गर्न सकिन्थ्यो,’ उनले भने।

Dasrathh20191 copy
निर्माणाधिन भीआइपी प्याराफिट। तस्बिर: प्रविन कोइराला

राखेप सदस्यसचिव सिलवाल भने अब एकहप्तामा रंगशालाको काम सम्पन्न गरिसक्ने दाबी दोहो¥याउँछन्। ‘रंगशालाको काम अन्तिम चरणमा छ। ६ वटा प्याराफिट बनाइसक्यौँ, छानो हालिसक्यौँ, कुर्सी राख्न सुरु भइसक्यो। अब भीआईपी प्याराफिटको काम छ त्यो एक हप्ताभित्र सकिन्छ,’ उनले भने।

सर्‍यो खेल
रंगशाला समयमा तयार नभएकै कारण नेपाल र कुवेतबीच मंसिर ३ मा दशरथ रंगशालामा हुने भनिएको खेल सरेको छ।

कतारमा हुने फिफा विश्वकप २०२२ र चीनमा २०२३ मा हुने एसियन कप छनोट अन्तर्गत होम खेलका रुपमा नेपालले मंसिर ३ गते कुवेतसँग दशरथ रंगशालामा हुने तय थियो।

तर, कात्तिक १९ गते एएफसीका प्रतियोगिता समितिका प्रतिनिधि देङ सियो लेङसहितको टोलीले निरीक्षण गरेपछि रंगशालामा खेल खेलाउन उपयुक्त नभएको ठहर ग¥यो। त्यसपछि एन्फाले सो खेल भुटानमा खेलाउने प्रस्ताव गरेको छ।

एएफसीका प्रतिनिधिले रंगशाला निर्माणाधीन रहेको, मैदान, ड्रेसिङ रुम, सरसफाइको अवस्थालगायतमा आपत्ति जनाएका थिए। जसका कारण चारवर्षपछि दशरथ रंगशालामा फेरि खेल्ने नेपाली खेलाडीहरुको सपना पर धकेलिएको छ।

सदस्यसचिव सिलवालले भने आफू खेल खेलाउन प्रयासरत रहेको बताए।

‘मैले पनि एएफसी सकरात्मक नभएको सुनेँ। हाम्रो तर्फबाट प्रयास भएको छ,’ उनले भने, ‘मंसिर ३ मा गेम हुने हो। हामीले कात्तिक मसान्तभित्र तयारी गरिदिन्छौं भनेका छौं। मैदानबारे उनीहरुको अब्जेक्सन छैन। भीआईपी प्याराफिट बनेन भनेपछि हामी गेम सञ्चालन गर्न सक्षम छौं। भीआईपी प्याराफिट बनेन भने त्यो प्रयोग नगरिकनै गेम सञ्चालन गर्न सकिने एन्फा अध्यक्षले पनि बताउनुभएको छ।’

Dasrathh20197 copy
समयमै रंगशाला तयार नभएका कारण मंसिर ३ गते हुने नेपाल र कुवेतविरुद्धको खेल नेपालमा नहुने भएको छ। तस्बिर: प्रविन कोइराला।

तर एएफसीले प्रतियोगिता आयोजनाका लागि रंगशाला तयार नभएको भनेपछि सदस्यसचिवको प्रस्ताव पनि खेर गएको छ। राखेपले गतसातादेखि भीआईपी प्याराफिट बाहेक अन्य क्षेत्रमा कुर्सी राख्न थालेको थियो।११ हजार सिट क्षमता भएपनि बुधबारसम्म राखेपले ८ हजार कुर्सी राखिसकेको छ। भीआईपी प्याराफिटको छानो राखिसकेपछि त्यसतर्फको कुर्सी राख्न थालिने सिलवाल बताउँछन्। भूकम्पपछि खुम्चिएको दशरथ रंगशाला झण्डै १५ हजार दर्शक क्षमताको हुनेछ।

एएफसीका प्रतिनिधिहरुले सरसफाइलाई लिएर गरेको टिप्पणीप्रति सिलवालले उल्टै आपत्ति जनाए। ‘निर्माणाधीन क्षेत्रमा फोहोर हुनु स्वभाविक हो,’ उनले भने, ‘धुलोधुँवा छ । तर अबको एक हप्तापछि रंगशाला चिटिक्क भइसक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .