ad ad

फोटोफिचर


राजधानीको स्वागतमा सजाइँदै दाङको देउखुरी (तस्बिरहरु)


सुदीप भण्डारी
मंसिर २७, २०७९ मंगलबार १५:२४, बुटवल

लुम्बिनी प्रदेशको स्थायी राजधानी तोकिएको दाङको देउखुरीलाई सिंगार्न थालिएको छ। 

केही दिनयता भालुबाङ्ग बजार, लालमटीया, मसुरिया, मौरीघाट, सिसहनियाँ लगायत स्थानमा सफाइसँगै सिंगारपटार चलिरहेको छ।

यी ठाउँमा रहेका बस बिसौनी र प्रतीक्षलयमा नयाँ रंग लगाइएको छ। राजमार्ग किनारमा बढेका झाडीसमेत सफा गरिएको छ। यस्तै बजार क्षेत्र तथा मूल सडकमा पर्ने चोकहरुमा स्वागतद्वार निर्माण भएका छन्। 

२ वर्षअघि २०७७ असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरीलाई स्थायी राजधानी बनाउने प्रस्ताव पारित गरेको थियो। 

राजधानी घोषणाको निर्णय कार्यान्वयन हुन लागेको छ। देउखुरीको लालमटीयास्थित राप्ती प्राविधिक शिक्षालयलाई अर्को ठाउँमा सारेर शिक्षालय परिसरमा राजधानीका संरचना तयार गरिएको छ। 

यहाँ मुख्यमन्त्री कार्यालय, प्रदेश सभा भवन र मन्त्रालय लगायत संरचना बनाइएको छ। 

बुधबार लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यलय औपचारिक रुपमा स्थायी राजधानी तोकिएको स्थान देउखुरीबाट सञ्चालन हुँदैछ। 

दिउँसो प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री कार्यालयको झण्डोत्तलन गर्ने कार्यक्रम छ। 

राजधानीलाई स्वागत गर्न राप्ती उद्योग वाणिज्य संघको अगुवाइमा सरसफाइ गरि सजावटको काम भएको हो। 

राजमार्ग छेउछाउका कतिपय प्रतिक्षालयहरु मर्मत सम्भारको अभावमा जिर्ण जस्ता देखिन्थे। राजधानी स्थापना र कार्यान्वयन सुरु हुने भएपछि ती प्रतिक्षालयहरुले नयाँ स्वरुप पाएका छन्। 

पूर्वमा कपिलवस्तुको धानखोलादेखि पश्चिममा शिवखोला सम्म दर्जनौँ बस बिसौनी छन्। यी बस बिसौनीका प्रतिक्षालयमा पहेँलो रंग लगाइएको छ। 

राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्काले प्रतिक्षालय तथा सार्वजनिक संरचना रंगरोहन गर्ने काम भइरहेको बताए। 

जनस्तरबाट राजधानीको स्वागतको तयारी भइरहेको भन्दै उनले सरसफाइ र सजावट गरिएको जानकारी दिए। 

शिक्षालय परिसरमा मुख्यमन्त्रीसहित ६ मन्त्रालय 
यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा प्रदेश राजधानीको संरचना बनाइएको छ। 

लुम्बिनी प्रदेशका १३ मन्त्रालयमध्ये मुख्यमन्त्री कार्यालयसहित ६ वटा मन्त्रालय यही परिसरमा रहने छन्। 

यस्तै प्रदेश सभा भवन पनि यही स्थापना भएको छ। बाँकी मन्त्रालयलाई परिसर बाहिर व्यवस्थापन गर्ने तयारी भइरहेको प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला मन्त्री तिलकराम शर्माले बताए। 

अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय स्थापना भइसकेको छ। प्रदेश सभा भवन निर्माणको काम अन्तिम चरणमा छ। 

अन्य मन्त्रालयहरुको व्यस्थापनको काम भइरहेको मन्त्री शर्माले जानकारी दिए। अब लुम्बिनी प्रदेस सभाको बैठक पनि देउखुरीमै राख्ने तयारी भएको छ। 

राप्ती प्राविधिक शिक्षालय भित्रको १८ बिघा जग्गामा साना ठूला गरेर ४० वटा भवन छन्। ती भवनलाई मर्मत प्रयोगयोग्य बनाइएको हो।   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .