मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न माग गर्दै उनका समर्थकले माइतीघर मण्डलामा प्रदर्शन गरेका छन्। सर्वोच्च अदालतमा उनकै बन्दी प्रत्येक्षीकरण निवेदनमा सुनुवाइ भइरहँदा समर्थक भने प्रदर्शनमा उत्रिएका हुन्।
एक साताअघि उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाटै पक्राउ गरेको थियो। जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएर थुनामा राखेपछि प्रसाईंको तर्फबाट उमा प्रसाईंले बन्दीप्रत्येक्षीकरण रिट दायर गरेकी थिइन्।
यसअघि सर्वोच्चले उनलाई अदालतमा उपस्थित गराउन आदेश दिएको थियो। प्रहरीले आइतबार उपस्थित गराएपछि आजलाई पेशी तोकेर सुनुवाइ अगाडि बढाइएको हो।
न्यायाधीश नहकुल सुवेदी र मेघराज पोखरेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको छ। उनलाई रिहा गर्ने नगर्ने आजै आदेश आउनेछ।
निर्वाचनसम्बन्धी अफवाह फैलाएर शान्ति सुरक्षामा खलल पु¥याएको आरोपमा प्रसाईंलाई सार्वजनिक शान्तिविरुद्धको कसूरमा पक्राउ गरिएको हो। सोही कसूरमा अनुसन्धानका लागि म्याद थप भएको छ।
प्रसाईं फागुन २१ मा निर्वाचन रोक्ने गतिविधिमा संलग्न छन्। यही कारण उनलाई प्रहरीले तेस्रो पटक पक्राउ गरेको हो। यसअघि कास्कीबाट पक्राउ गरेर ल्याइए पनि भोलिपल्टै रिहा गरिएको थियो। त्यसपछि वीरगन्ज जाँदै गर्दा चाल्नाखेलबाट पक्राउ परेका थिए।
त्यतिबेला पनि २ दिनमै छुटेका प्रसाईं यसपटक भने एक सातादेखि हिरासतमा छन्।

















Shares

प्रतिक्रिया