ऋषिपञ्चमी नेपाली हिन्दू नारीहरूले विशेष रूपमा मनाउने एक पर्व हो। हरेक वर्ष भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा नारीहरूले अरुन्धतीसहित सप्त ऋषिको पूजाआराधना गरी मनाउने गर्दछन्।
बिहान सबेरै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ वटा दतिवनले दाँत माझ्ने, गाईको गोबर, माटो एवं खरानी लगाई स्नान गर्ने परम्परा रही आएको छ।
पौराणिक कथनअनुसार नारीहरू रजस्वला हुँदा जानेर वा नजानीकनै गरिएका गल्तीबाट मुक्ति पाउन ऋषिपञ्चमीको ब्रत बसिन्छ। वर्षभरि कुनै त्रुटि भएको भए ऋषिपञ्चमीको दिन अरुन्धतीसहित सप्तऋषिको पूजा गर्नाले त्यसबाट मुक्ति पाइने धार्मिक विश्वास छ।
नारीलाई रजस्वलाको प्रथम दिन चाण्डाल्नी, दोस्रो दिन ब्रह्मघातिनी, तेस्रो दिन धोविनी र चौथो दिन स्नान गरी शुद्ध हुन्छिन् भन्ने विश्वास गरिन्छ। यसैकारण आजको दिन दतिवन, गाईको गोबर, माटो र खरानी प्रयोग गरी स्नान गरेर पञ्चगव्य सेवन गर्नाले छुवाछुतको दोष निवारण हुन्छ भन्ने शास्त्रीय मान्यता छ।
यसरी स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने गरिन्छ। जसलाई ऋषिपञ्चमीको पूजा लगाउने भनिन्छ। सप्त ऋषिको पूजा गर्ने पञ्चमी भएकैले आजको पञ्चमीलाई ऋषिपञ्चमी भन्ने गरिएको हो।
यस्तै पूजा लगाउन आज काठमाडौँको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा महिलाहरूको बिहानैदेखि भिड देखिन्थ्यो। बिहीबार बिहान झरीको समेत पर्वाह नगरी महिलाहरू छाता ओढेर पूजाआजाका लागि लाइनबद्ध देखिन्थे।
टेकुस्थित ऋषेश्वर महादेव मन्दिर परिसरका केही तस्बिर-






















Shares

प्रतिक्रिया