आज देशभर हरितालिका तीज मनाइँदैछ। हिन्दू नारीहरूले विशेष चाडका रूपमा मनाउने तीज भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म ४ दिन मनाइन्छ।
तीजमा महिलाहरूले भगवान् शिवको आराधना गर्नुका साथै नाचगानसहित मनोरञ्जन गर्ने गर्दछन्। तीजलाई महिला स्वतन्त्रताको प्रतीकका रूपमा पनि लिइन्छ।
मुख्य रूपले नेपालमा मनाइने यो चाड भारतका कुनै कुनै क्षेत्रमा पनि मनाउने गरेको पाइन्छ।
आद्य शक्ति भगवान् शिवलाई पतिका रूपमा पाऊँ भनेर हिमालयपुत्री पार्वतीले तपस्या गरी वरदान पाएको र सोही बेलादेखि हिन्दू नारीहरूले यो पर्व मनाउँदै आएको धार्मिक विश्वास छ।
तीजको अवसरमा आज देशभरका शिवालयमा बिहानैदेखि महिलाहरूको घुइँचो लागेको छ। यसै क्रममा काठमाडौँको पशुपतिनाथ मन्दिर परिसरमा पनि आज बिहानैदेखि भक्तजनको भीड देख्न सकिन्छ।
पशुपतिनाथमा सहज ढङ्गले पूजाअर्चनाकाे लागि व्यवस्था मिलाइएकाे पशुपति क्षेत्र विकास काेषले जनाएकाे छ। यसका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि नै खुला गरिएका छन्।
बाहिरी भागबाट पशुपतिनाथ मन्दिर छिर्नको लागि व्यवस्थित लाइनको व्यवस्था गरिएको छ। पशुपतिनाथको मन्दिरमा गरिने श्रीयन्त्र पूजाको समयमा जाली राखी बाहिरबाटै दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ।
कोषका सूचना अधिकारी अनिता भट्टका अनुसार मूल मन्दिर प्रवेश गरेर मूल मूर्तिअघि पुगेपछि दर्शन गरेर भक्तजन बाहिरिने गरी व्यवस्थापन गरिएको छ।
तीजको अवसरमा सरकारले आज महिलालाई बिदा दिएको छ।
हेर्नुस् पशुपतिनाथ मन्दिर परिसरका केही तस्बिर:




















Shares

प्रतिक्रिया