विचार


तिनाउको बाढीबाट बच्न अब के गर्ने?

तिनाउको बाढीबाट बच्न अब के गर्ने?

शेरबहादुर केसी
असोज १२, २०७७ सोमबार ९:५२,

असोज ९ गते राति ९ बजे तिनाउ नदीस्थित पाल्पाको दोभानमा रहेको जलमापक यन्त्रमा पानीको सतह ६ दशमलव ३१ मिटर नाघ्यो। तिनाउको सर्तकताको विन्दु ५ दशमलव २ मिटर हो भने खतराको विन्दु ५ दशमलव ६। लगातार अविरल वर्षा भइरहेको र नदीमा बाढी उर्लेको खबरले तल्लो तटीय क्षेत्रका बासिन्दा रातभर सुत्न सकेनन्। बाढीले बुटवलमा तीन घर बगायो। तटीय क्षेत्रका बासिन्दा सुरक्षित स्थलको खोजी गर्दै घर छाडेर हिँडे।

अघिल्ला दुई दिन पनि लगातार वर्षा भइरहेको थियो। ८ गते बिहान तिनाउको सतह ५ दशमलव ७६ मिटर नाघेको र साइरन बजेकाले त्रास बढेकै थियो। ९ गते साँझदेखि भएको मुसलधारे वर्षाका कारण धेरैले २०३८ सालको बाढी सम्झिए। पाल्पा दोभानमा दोभान र झुम्सा खोला मिसिएपछि तिनाउ भनिन्छ। यो वर्ष दोभान खोला उर्लिंदा झुम्सा सुस्तायो, झुम्सा उर्लिंदा दोभान सुस्तायो। दुवै एकैपल्ट उर्लेको भए बाढीले अकल्पनीय क्षति गर्न सक्थ्यो।

वि.सं. २०३८ असोज १३ गते, घटस्थापनाको दिन। दशैँको रौनक बढ्दै थियो। बिहान उज्यालो हुँदै गर्दा पाल्पाको दोभान र बुटवलवासीलाई भने बेग्लै पिरलोे थियो। रातभरीको झरीले तिनाउमा मिसिने दोभान र झुम्सा खोलामा उर्लेर बाढी आयो। दोभान खोलामा आएको बाढीले दोभान र बुटवलमा ठूलो जनधनको क्षति गर्‍यो। दोभानमा डेढ दर्जन घर बगे, २९ जनाको ज्यान गयो। लहलह धान झुल्दै गरेको फाँट बग्यो। बुटवलमा ३५ जनाको ज्यान गयो। २ सय ५० घर बगे, पूर्वपश्चिम राजमार्गको गोलपार्कको पक्की पुल बाढीले बगायो। लहलह पसाउँदै गरेको सयौं हेक्टर धान खेत बगर बन्यो। बुटवलको मुख्यबजार अमरपथमा समेत बाढी पस्यो। यही बाढीले घरबारविहीन भएर संघर्ष गर्दै उठेका मेरा साथी दलबहादुर गुरुङ अहिले पनि त्यस्तै बाढी आउने हो भने धेरै ठूलो क्षति हुने आकलन गर्छन्।

त्यसबेला चुरे क्षेत्रमा मान्छेको बसोबासको पातलो थियो। वन विनाश पनि धेरै भएको थिएन। खानीको नाममा मनपरी उत्खनन् थिएन। डोजरे विकास गाउँ छिरेको थिएन। बुटवलमा तिनाउ आसपास सुकुम्बासी भन्दै तिनाउको बहाव क्षेत्र अतिक्रमण गरिएको थिएन। अर्थात् मान्छेले अहिलेजस्तो दोहन त्यसबेला गरेका थिएनन्।

अहिले चुरे क्षेत्रमा मान्छेको बसोबास बाक्लिएको छ। बुटवलमा नदीको बहाव क्षेत्र अतिक्रमण गरी धेरै घर बनेका छन्। हामीले बनाएका विकास पूर्वाधार सम्भावित जोखिमलाई पटक्कै हेक्का राखेर बनाइएको छैन।

२०२७ सालमा पनि तिनाउमा ठूलै बाढी आयो। असार ४ गते आएको बाढीबाट ९२ जना बेपत्ता भएको, १९ पशु नोक्सान भएको र दाउरे टोलका पूर्ण र आंशिक गरी क्षति भएका २४ घरलाई क्षतिबापत सहायता दिइएको २०२७ असार १३ गते गोरखापत्रमा प्रकाशित समाचारमा उल्लेख छ। २०३८ सालको बाढीले गोलपार्कको पक्की पुल बगाएपछि पूर्वपश्चिम राजमार्गको अहिलेको पक्की पुल बनेको हो। यही पुल जाने सडकको बायाँतर्फको क्षेत्रलाई पहिले दाउरे टोल भनिन्थ्यो।

वि.सं. २०५० मा औसतभन्दा ठूलो बाढी आयो, तर धेरै क्षति भएन। हरेक बाढीमा तिनाउले कहिले दायाँ र कहिले बायाँ धार फेर्दै आएको छ। २०५९ सालमा आएको बाढीका कारण तिनाउले धार फेर्दा बुटवल पवित्रनगरमा पक्की घर नै गर्लम्म ढल्यो। २०६४ भदौ १३ मा पनि तिनाउ निकै उर्लियो। नदी किनारका धेरै कच्ची घर बगे। २०६६ सालमा आएको बाढीले उद्योग वाणिज्य संघ अर्थात अहिलेको प्रदेश सभा भवनको छेउतिर रहेका झण्डै सय सुकुम्बासीका घर बगे। २०७३ साल साउन ११ गते बिहान आएको बाढीले दर्जन घर बगे। बुटवल देवीनगरमा रहेको झोलुंगे पुल बग्यो।

हरेक वर्ष वर्षा याममा बाढी आउँछ। बाढीले कटान र डुबान गरिरहेकै छ। तर हरेक वर्ष ठूल्ठूला क्षति नभएकाले केही वर्षको फरकमा आउने बाढीको क्षति मान्छेले बिर्सिंदै गएको पाइन्छ। त्यसैले हामीले २०३८ सालको तिनाउको ठूलो बाढीलाई पनि बिर्सिंदै गयौँ। त्यसबाट पाठ सिकेनौँ। आम नागरिकले बिर्सने प्रवृत्ति त छँदैछ, राज्यका निकायले नै यस्ता घटनालाई बिर्सेर विभिन्न पूर्वाधार बनाउने प्रवृत्तिले हामी अर्को जोखिमलाई निम्त्याइरहेका छौँ।

दुई दशक अघिसम्म तिनाउको बहाव क्षेत्र अहिले झैं साघुँरिएको थिएन। त्यसयता नै बुटवलमा सुकुम्बासी भन्दै नदीको उकास क्षेत्र अतिक्रमण गरी १३ हजार घर बनेका छन्। कतिपय चाहिँ कतै पनि घर नभएका वास्तविक भूमिहीन होलान् भने धेरै अन्यत्र घर भएका राम्रै हैसियत राख्नेहरु छन्। तिनाउ नदी अतिक्रमणको चपेटामा पर्दा बुटवल क्षेत्रमा बर्खामासको सामान्य बाढी बग्ने ठाउँ छैन। औसतभन्दा अलिकति ठूलो बाढी आउनेबित्तिकै किनारका यी बस्ती बग्ने निश्चित छ।

badhi2077.asoj_9.jpg

अहिले यही नदी किनारको बस्ती जोगाउन वर्षेनि करोडौं खर्च भइरहेको छ, जनताको तटबन्धका नाउँमा। २०६६ सालमा तिनाउ—दानो नदी नियन्त्रण कार्यक्रम जनताको तटबन्ध कार्यक्रम आयोजनाले गरिरहेको छ। यो आयोजनाले नदीको बहाव क्षेत्र अतिक्रमण गरेर बसेको बस्ती जोगाउनकै लागि एक दशकमा ९० करोड रुपैयाँ खर्च गरेको छ। नदीको बहाव क्षेत्र निर्धारण नगरी तिनाउमा भएको लगानी बालुवामा पानी खन्याएझैं भएको छ।

तिनाउ नदीमा जनताको तटबन्ध कार्यक्रम सञ्चालन सुरु गर्दा बहाव क्षेत्र निर्धारण गर्ने प्रयास पनि भयो। आयोजनाका इञ्जिनियरहरुले काम गर्दा योजनाबद्ध रुपमा प्रयास पनि गरे। आयोजनाले पूर्व—पश्चिम राजमार्गको पक्की पुलदेखि तल्लो क्षेत्रमा तिनाउको बहाव क्षेत्र २ सय ३७ मिटर निर्धारण गर्‍यो। विगतका बाढी र चुरे क्षेत्रमा हुने वर्षा लगायतलाई मापन गरी तिनाउको बहाव क्षेत्र निर्धारण भयो। तर अतिक्रमण गरी बसेको बस्तीकै कारण अहिले तिनाउको बहाव क्षेत्र ५० मिटरदेखि १ सय ५० मिटर मात्रै छ। २ सय ३७ मिटर तिनाउको बहाव क्षेत्र निर्धारण गरेको आयोजनाले सुकुम्बासीले अतिक्रमण गरी छाडेको ५० देखि १ सय ५० मिटर बहाव क्षेत्र मानेर नदी नियन्त्रणको काम गरिरहेको छ। तिनाउमा खेलवाड यहीँनेर भयो।

दोश्रो, २०६० देखि २०६६ सम्म तिनाउमा सबैभन्दा बढी दोहन भयो। ढुंगागिट्टीको मनपरी उत्खनन् र भारत निकासीले नदीको बहाव क्षेत्र अस्वाभाविक रुपमा गहिरियो। तिनाउबारे अध्ययन गरेका वातावरण इञ्जिनियर खेटराज दाहालका अनुसार कतिपय ठाउँमा तिनाउ १२ मिटरसम्म गहिरिएको छ। मनपरी ढुंगागिट्टी निकासीले नदी गहिरिँदै जाँदा नदी उकास क्षेत्र विस्तार भयो। फराकिलो बहाव क्षेत्रमा छरिएर बग्ने तिनाउ गहिरिएको साघुँरो क्षेत्रमा डोलिएर बग्दा जोखिम बढ्यो। छरिएर पानी बग्न नपाउँदा कटान धेरै गर्ने जोखिम बढ्यो।

त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनरत भूगर्भविद् डा. मेघराज धितालले सन् २००२ मा तिनाउमा आउने बाढी र पहिरोको बारेमा अध्ययन गरे। जापानी सहयोग नियोग जाइकाको सहयोगमा उनले गरेको अध्ययनमा मुहान क्षेत्रमा जाने पहिरो, तिनाउमा आउने बाढी र सम्भावित क्षतिको बारेमा विस्तृत रुपमा विश्लेषण गरिएको छ। डा. धितालले अध्ययन गरेको दुई दशक बित्न लागेको छ। त्यसबेला अहिले जस्तो तिनाउको बहाव क्षेत्र अतिक्रमण गरी बस्ती बसेको थिएन। नदी गहिरिएर बगेको थिएन। बहाव क्षेत्र अतिक्रमण गरी बस्ती बसेको र नदी गहिरिएर बगेकोले अहिले तिनाउको बाढीले गर्ने क्षति अकल्पनीय भएको डा. धितालको निष्कर्ष छ। तिनाउबारे डा. धितालको प्रतिवेदन कार्यान्वयन गर्न जल उत्पन्न प्रकोप नियन्त्रण विभागले कहिल्यै ध्यान दिएन।

२०६५ जेठमा तिनाउ नदीले उत्पन्न गरेको समस्या र समाधानका उपाय बारेमा बुटवल नगरपालिकाले तत्कालीन जलश्रोतमन्त्री विष्णु पौडेलको उपस्थितिमा सरोकारवाला राखेर अन्तरक्रिया गर्‍यो। अन्तरक्रियाका सहभागीले गुरुयोजना बनाएर तिनाउ नदी नियन्त्रण र व्यवस्थापनको काम गर्न माग गरे। सबैको कुरा सुनेपछि जलश्रोतमन्त्री पौडेलले जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय भैरहवालाई गुरुयोजना बनाउन र सोही अनुसार नदी नियन्त्रणको काम गर्न निर्देशन दिनुभयो। आवश्यक बजेटको व्यवस्थापन बुटवल उपमहानगरपालिका, तत्कालीन जिल्ला विकास समिति, रुपन्देही र जलश्रोत मन्त्रालयले व्यवस्थापन गरे। तिनाउबारे एउटा सरकारी प्रतिवेदन तयार भयो, तर त्यस प्रतिवेदनले औँल्याएका विषयवस्तुबारे कहिल्यै ध्यान दिइएन। यस्तो प्रवृत्तिले सरकारी निकायहरु जोखिम व्यवस्थापनबारे गम्भीर र जवाफदेही छैनन् भन्ने आरोपलाई बल पुग्यो।

विज्ञहरुका अनुसार, विगतमा अविरल बर्षासँगै पहिरो जाँदा तिनाउ थुनिएको छ। त्यही थुनिएको नदी फुट्दा आउने बाढीले ठूलो क्षति गरेको छ। पाल्पाबाट बग्दै आएको तिनाउ महाभारत र चुरेको साँघुरो खोंच हुँदै बगेको छ। महाभारत र चुरेको कमजोर भौगोलिक संरचनाका कारण खोँचमा बगेको तिनाउमा ठुल्ठूला ढुंगा सहितको पहिरो जान्छ। जसले नदीलाई सजिलै थुन्छ। २०३८ सालको बाढीमा पनि पहिरोले दोभानमा तिनाउ आधा घण्टा थुनिएको थियो। २०७३ सालमा बुटवल देवीनगरमा रहेको झोलुंगे पुल बगाउँदा पनि तिनाउ केही समय थुनिएको थियो।

badhi2077.asoj9_ko.jpg

पहिरोको उच्च जोखिम रहेको चुरे क्षेत्रबाट बग्ने तिनाउमा बाढीको सम्भावना सधैँ छ। किनभने जल तथा मौसमविदहरुका अनुसार, बुटवल, दोभान र त्यस क्षेत्र आसपास ‘क्लाउडबर्स्ट’ सम्भावना धेरै छ। कुनै पनि स्थानमा घना बादल थुप्रिएर यताउता फैलिन पाएन भने एकै ठाउँमा ठूलो वर्षा हुन्छ। यस्तो अवस्था पहाडको फेदी र खोंचमा बढी हुन्छ। ३ साउन, २०७७ को राति ११—१२ बजेको एक घण्टामा जल तथा मौसम विज्ञान विभागको सूर्यपुरा केन्द्रमा गरिएको वर्षा मापनमा १ सय ४० मिलिमिटर वर्षा भयो। सूर्यपुरामा जस्तो वर्षा बुटवल उत्तरको चुरे र महाभारत क्षेत्रमा भएको भए ठूलो विपत्ति निम्त्याउँथ्यो। सूर्यपुरा समथर भएकाले केही समय मात्रै डुबान भयो।

तिलोत्तमा नदीको प्राचीन महिमा ज्यादै ठूलो छ। सभ्यताको उद्गम र विस्तार भएको नदीको रुपमा यसलाई लिइन्छ। तिलोत्तमा अर्थात तिनाउ नदीलाई अहिले रुपन्देहीको वरदान मानिन्छ। यहाँ नेपालको पहिलो सुरुङ खनेर बनाइएको जलविद्युत आयोजना छ। बुटवलको खानेपानीको प्रमुख श्रोत यही नदी हो। झण्डै ९ हजार हेक्टर खेतीयोग्य भूमिमा सिंचाई हुँदै आएको छ। विगतमा मनपरी उत्खनन् नगरेको भए वर्षौँलाई स्थानीय आवश्यकता पूर्ति गर्ने ढुंगागिट्टी र बालुवा थियो। अझै पनि वर्षेनि बाढी आउँदा थुपार्ने ढुंगा, गिट्टी र बालुवाको सही व्यवस्थापन गर्दा धेरै लाभ लिन सकिन्छ। बुटवल सहरको सौन्दर्यका लागि पनि तिनाउ महत्वपूर्ण छ।

बहुआयामिक महत्व रहेको तिनाउमा दोहन नरोक्दा र संरक्षणका काम प्रभावकारी नबन्दा यो रुपन्देहीको लागि वरदान होइन, अभिशाप बन्ने खतरा बढ्दो छ। तिनाउको बिगार रोक्न के गर्ने? यसबारेमा व्यापक बहस र छलफल गरी निष्कर्ष निकाल्न जरुरी छ। त्यो निष्कर्षलाई योजनाबद्ध रुपमा कार्यान्वयन गर्न सक्दा मात्रै अहिले अगाडि तेर्सिएका सम्भावित जोखिम न्यूनीकरण गर्न सक्छौं। हामीले लाभ धेरै पाउन सक्छौं।

बहाव क्षेत्र अतिक्रमण गरी बसेको वस्तीको सही व्यवस्थापन तिनाउ जोखिमबाट बच्ने पहिलो सर्त हो। अतिक्रमण गरी बसेको बस्तीलाई जोगाउन अहिले नदीलाई नहर झैं गरी बगाउन खोजिएको छ। चुरेबाट ठुल्ठूला ढुंगासहित उर्लने नदीलाई नहर झैं बनाउन खोज्दा अहिले जोखिम बढेको हो। नदी नियन्त्रणको काम एउटा बाढी टार्ने होइन, दिगो प्रभाव पार्ने ढंगले हुनुपर्छ। राज्यको लगानी बालुवामा पानी खन्याएझैं भइरहने र अरु उपायतिर ध्यान नदिने हो भने हामीले उपलब्धी केही पाउन सक्तैनौं। तिनाउ विभिन्न स—साना खोलाहरु मिसिएर चुरे क्षेत्रबाट आएको नदी हो। मुहान क्षेत्र पहिचान गरी संरक्षणको कार्यक्रम अघि बढाउन अति आवश्यक छ। चुरे संरक्षणको कामलाई वास्तविक रुपमा व्यवहारमा उतार्न ढिला भइसकेको छ। के अहिले हामीले तिनाउ र आसपासमा गरिरहेका विकास पूर्वाधारका काम जोखिमलाई ख्याल गरेर गरिरहेका छौं?

तिनाउले निम्त्याउने जोखिम भयावह भएको तथ्य आइसकेपछि त्यसअनुसार संघ, प्रदेश र स्थानीय तहबीच समन्वय गर्दै योजनाबद्ध कार्यक्रम अघि बढाउन आवश्यक छ। समस्या समाधानको दिगो योजना तय गर्दै तहगत सरकारबीचको सहकार्यले मात्रै तिनाउको सम्भावित बिगारबाट जोखिन र जोगाउन सकिन्छ। अहिलेकै तरिकाले काम गर्ने कि नयाँ ढंगले अघि बढ्ने, निर्णय गर्ने उपयुक्त बेला हो यो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad