विचार


गगन थापा, जसलाई समयले धोका दियो

गगन थापा, जसलाई समयले धोका दियो

सन्जय घिमिरे
चैत १, २०८२ आइतबार २२:२८, टेक्सस, अमेरिका

फेरि म गगन थापामाथि लेख्दैछु, जो हारेका छन्।

अक्सर इतिहास जित्नेहरूको लेखिन्छ। म भने आज जित्नेको होइन, हार्नेको इतिहास लेख्दैछु। कहिलेकाहीँ इतिहास हार्नेको पनि लेखिन्छ, लेखिनुपर्छ।

हारेका गगनमाथि लेख्न आज मलाई अलि सजिलो पनि छ। सजिलो यस कारण कि फागुन २१ अघि गगनमाथि लेखिँदा कतिपयलाई त्यो चाकडी लाग्थ्यो, लाग्यो पनि। हारेका आजका गगनमाथि लेखिँदा कमसेकम चाकडीको सस्तो टिप्पणी सुन्नु वा पढ्नु पर्ने छैन। हारेको मान्छेको चाकडी आजको युगमा गर्छ नै कसले?

चुनावअघि लेखेको थिएँ– गगनको अनुहार हेरेर कांग्रेसलाई बहुमत दिनुस्।

यसो भएन।

कतिपय मित्रहरू चुनावी परिणामपछि अलि हियाउने शैलीमा मलाई ‘टुच्च डाइलग’ हान्छन्, हाँस्छन्। कतिपय बेकारका टिप्पणी पनि गर्छन्। म पनि ‘टुच्च’ हाँसिदिन्छु उनीहरूको चेत देखेर। तिनीहरूले के बुझ्दैनन् भने ती जत्तिको राजनीति, समाज र समयको चेत त मसँग पनि छ।

बजारमा सधैँ ६ थरी मान्छेहरू थिए र छन्, जो गगनको नाम लिएको, गगन अलि बढी लायक छन् भनेको सुन्न वा पढ्न फिटिक्कै रुचाउँदैनन्।

एक– जो कांग्रेसै हुन् तर तिनीहरूलाई समग्र कांग्रेसको भन्दा पनि आफ्ना स्वार्थ जोडिएको खास गुट वा नेताको माया बढी लाग्छ।

दुई– ती जो वामपन्थीहरू, जो गगनको उदयमा आफ्नो अस्तको बढी डर देख्छन्।

तीन– ती जो राजावादीहरू, जसलाई गगनले अरुभन्दा पहिले गणतन्त्रको नारा उचालेकोमा उहिल्यैदेखिको चर्को रिस छ।

चार– ती जो आफ्नो चेतलाई अलि बेग्लै वा धुन्धान ठान्छन्। र, आफ्ना चेत अलि माथि छ भन्ने देखाउन गगनजस्ता मान्छेसँग यसै निहुँ खोज्न मन पराउँछन्– ‘एटेन्सन सिकर’हरू।

पाँच– ती जो आफ्ना प्रिय रवि लामिछानेलाई फसाउने गगन नै हुन् भन्ने ठान्छन्।

छ– ती सामान्यजन, जो एक, दुई, तीन, चार र पाँचथरीका मान्छेले फिँजाउने हल्ला पत्याउँछन्।

यसो भनेर म यो भनिरहेको छैन– गगन दूधले नुहाएका हुन्।

गगन मात्र किन, सम्पूर्ण रूपमा दूधले नुहाएको अरु पनि को छ र नेपाली राजनीतिक पोखरीमा? एक–एक केलाउँदै जाने हो भने सबैको पोखरी एउटै हो। जुन पोखरी अनेक रङ, अनेक सोच, अनेक लोभ र स्वार्थको पानी मिसिएर बनेको छ, त्यो पोखरीमा गगन मात्र एक्ला छैनन्। तपाईं–हाम्रो पनि पोखरी त्यही हो। समाज त्यही हो, मान्छे तिनै हुन्, मान्छेको चेत त्यही हो, चेतको स्रोत पनि त्यही हो। पूरा पोखरी सफा हुन वा दूधले भर्न धेरै कुरा बदलिनु पर्छ। अहिले नै गगन मात्रै पूरा कहाँ बदलिन सक्थे र? बदलिएनन् होला। अरुलाई पनि बदलिन समय लाग्छ, मुस्किल पनि छ।

तैपनि, बितेका पच्चीस–तीस वर्षहरूमा गगनले जे भन्दै र गर्दै आए, ती केही न केही फरक थिए, आशा जगाउने खालका थिए। गुणहरूको क्षय हुँदै गएको नेपाली राजनीतिमा गगनले केही राजनीतिक गुणहरू भर्दै थिए। सँगसँगै राजनीतिक विचार, बोली र काम गराइमा पनि स्पष्टता ल्याउन खोज्दै थिए। लामो समयदेखि परम्परागत राजनीति गर्दै आएको पुराना पुस्तामाथि औँला ठड्याउने पुस्ता तयार पार्दै थिए। डा स्वर्णिम वाग्ले र मनिष झा जस्ता व्यक्तिलाई पनि राजनीतिमा जोड्ने गगन नै हुन्। डा वाग्ले र झामा राजनीतिक महत्वाकांक्षा सायद गगनले नै जगाएका हुन्।

तिनै वाग्ले र झालाई वरिपरि राखेर अमरेश सिंहले गगनलाई तथानाम ललकारे। हारे गगन, जिते अमरेश।

कतिपय ‘सेलेब्रेसन’ गरिरहेका छन्। हुन त यस्तो ‘सेलेब्रेसन’ नौलो होइन। कृष्णप्रसाद भट्टराईको हारमा ‘सेलेब्रेसन’ गरेको समाज हो यो। नेपाली समाज सत्र हजार मान्छेको ज्यान लिएको सशस्त्र द्वन्द्वबाट आएको माओवादीलाई बहुमत दिएर ‘सेलेब्रेसन’ गरेको समाज हो।

त्यही समाजले भदौ २३/२४ को ‘सेलेब्रेसन’ फागुन २१ मा आएर गर्‍यो।

पत्रकार राजेन्द्र दाहालले कतै भनिरहेका थिए– ‘यो चुनाव, भदौ २३/२४ को अनुष्ठानको साङ्गे हो।’

म त मृत्युपछिको तेह्रौँ दिन भन्नेवाला थिएँ, म भन्दा वरिष्ठले अनुष्ठान र साङ्गे भनेपछि साङ्गै सही।

साङ्गेमा आरती हुन्छ, भजनहरू गाइन्छन्। घण्टीहरू बजाइन्छ। असाध्यै मन मग्न लाग्छ आरतीको क्षण। अहिले ठीक यो समय चलिरहेको छ। यो समय के हो? अहिले म अलि पछि छोटो टिप्पणी गर्नेछु।

अहिले गगनकै कुरा सकिएको छैन।

अँ, चाहे गणतन्त्रको वकालत गर्ने कुरामा होस् वा संविधानसभाको वकालत गर्ने कुरामा, गगन सधैँ अघि रहे। राजावादीहरूसँग लडे, वामहरूसँग लडे, आफ्नै पार्टीभित्र पनि कम्ती जुधेनन्। कतिपयले ख्याल गर्नु भएको छ छैन कुन्नि? गगनले वर्षौँदेखि मोटामोटी एउटै चिज भनिरहेका थिए – यसरी लोकतन्त्र चल्दैन। शेरबहादुर देउवा, केपी ओली, प्रचण्ड, माधव नेपाल जस्ता एक पुस्ताका नेताहरूलाई ससम्मान कार्यकारी राजनीतिबाट बिदा नगरेसम्म नेपाली लोकतन्त्र लफडामा परिरहन्छ। यसो नभएसम्म लोकतन्त्रले सही बाटो पक्रिँदैन।

गगनले उहिल्यैदेखि भनेकै हुन्, तर आज जस अर्कैले लियो। गगनलाई समयले धोका दियो।

आफूले कमान्ड सम्हालेको पाँच दिनमा पार्टीलाई चुनावमा डोहोर्‍याए। गगनले चाहेको भए यो चुनाव रोक्न सक्थे। यसो गरेनन्। ‘हेरौँला हामी पनि’ भन्ने पार्टी भित्रैकाहरूको चुनौती र ‘तँ पनि उस्तै त होस्’ भन्ने बाह्य भाष्यको दबाबसहित हस्याङ–फस्याङ गगन चुनावमा होमिए।

समय अलि फरक परिसकेको थियो।

जब गगन विशेष महाधिवेशनबाट सभापति भए, त्यतिबेला मैले लेखेको थिएँ – ‘गगन आउन त आए, ढिलो गरी आए। समय घर्केपछि आए।’

समय घर्केकै रहेछ।

गगन स्वयं कुनै दिन चिन्ता र डर व्यक्त गरिरहेका थिए– ‘म परीक्षाका लागि तयारी गरिरहेको छु, डर छ, कतै परीक्षा नै दिन पाउँछु पाउँदिनँ।’

गगनलाई नेपाली समाजले यसपटक परीक्षाको मौका दिएन। बल्लतल्ल जतिबेला गगन परीक्षाका लागि परीक्षा हलसम्म पुग्दै थिए, हलको ढोका बन्द भइदियो। गगन ढिलो पुगे वा ढोका छिटो बन्द गरियो? खै के भयो? नम्बरको खेलमा गगन हारे।

कतिपयले ‘खुच्चिङ’ भनिरहेका छन्। परपीडक सोच र कृतघ्नतामाथि मलाई धेरै भन्नु छैन।

यति चाहिँ भनिहालौँ– हाम्रो जस्तो समाज र त्यसका दृष्टिकोणहरूमा अनेक जटिलताहरू छन्। खासमा नेपाली समाजमा दृष्टिकोण कसरी/किन बन्छन् र भत्कन्छन्, यो नै मेरो लागि बुझ्न जटिल विषय हो।

यो विषयमा कुनै बेला लेखौँला।

गगन हारेपछि म सोचिरहेको छु– नेपाली कांग्रेस भएकै कारण गगनले हारे कि जित्नै नहुने मान्छे भएर गगनले जितेनन्? 

बढ्ता कांग्रेस भएकै कारण गगनले हारे। 

कांग्रेस भएर उनले के बिगारेका थिए?

बिगारेका त केही थिएनन्। बरु कांग्रेसलाई स्पष्ट दिशा दिन खोजिरहेका थिए।

विचार अस्पष्ट थियो?

थिएन।

नेतृत्व गर्ने क्षमतामा शंका थियो?

थिएन।

भ्रष्टाचारमा बदनाम थिए?

अहँ थिएन।

चरित्रमा प्रश्न थियो?

थिएन।

सामाजिक मर्यादा र अनुशासनमा समस्या थियो?

थिएन।

केही थिएन। र, पनि तिनै गगन निसानामा परे।

हिजो आफ्नी आमाको आँखैअगाडि उनको घर जलाइयो, आज मन जलाइयो।

घर जलेको भोलिपल्ट गगन जुरुक्क उठे। र, भने– गल्ती भए माफ पाऊँ।

घर अरुले जलायो, कारण अरु नै थिए, माफी गगनले मागे। आफू पनि सच्चिन्छु र कांग्रेसलाई पनि सच्याउँछु भने। केही सच्याए, केही सच्याउँदै थिए।

मन जलेपछिका केही दिनयता भने गगन मौन छन्। हारको नैतिक जिम्मेवारी कुन हदसम्म लिने सायद दोधारमा छन्। के गर्छन्, उनको कुरा हो। यति चाहिँ भनिहालौँ– क्याप्टेन मेस्सीले पनि थुप्रै पेनाल्टी सुटआउट मिस गरेका छन्, तर ‘क्याप्टेनसिप’ छोडेका छैनन्।

मलाई खासमा कहिलेकाहीँ नम्बरका खेल मूर्खतापूर्ण लाग्छ। नम्बरको खेलमा हार्दा नैतिकता मूल प्रश्न बन्ने हो भने टिमका क्याप्टेनहरू हरेक गेमपछि बदलिनु पर्छ, जुन व्यावहारिक छैन। त्यसमाथि गगनले समय नै पाए कति र? असाध्यै कम। इन्जुरी समय भन्दा पनि कम।

कांग्रेसका एकथरी धुन्धुकारीहरू समय नै नपाएको खेलाडी गगनको क्याप्टेनसिपमाथि प्रश्न उठाइरहेका छन्। धुन्धकारीहरूले यस्तै प्रश्न उहिल्यै उबेलाका क्याप्टेनहरूमाथि उठाइदिएको भए भदौ २३/२४ नै आउने थिएन।

अब म गगनमाथि गरिने खास तीन टिप्पणीहरूमाथि चर्चा गर्न चाहन्छु।

टिप्पणी नम्बर एक– गगनले वर्षौँसम्म के हेरेर बसे? किन उहिल्यै विद्रोह गरेनन्?

झट्ट सुन्दा टिप्पणी जायज छ। हो, गगनले अलिक समय लिएकै हुन्। समय पनि कस्तो हुँदोरहेछ भने वसन्त आउन चैत–वैशाख पर्खनु पर्दोरहेछ। समयको आफ्नै चाल छँदैछ, समाजको पनि चाल हुँदोरहेछ, उसैगरी राजनीतिका पनि चाल हुँदोरहेछ।

गगनले समय पनि पर्खे, समाज र राजनीतिका पनि चाल पर्खिए। पर्खदा पर्खदै ढिलो भयो। ढिलो भएकै हो। ढिलो हुनु बेकार हुनु थिएन, होइन पनि। दुर्भाग्यवश, समाजले अलिक ढिलो हुनु बेकार हुनु ठान्यो। र, गगनलाई हरायो।

गगनमाथिको दोस्रो टिप्पणी– गगनका पनि कतिपय संगत र निर्णयहरू गतिला छैनन्।

ती जो त्यसो भतिरहेका छन्, तिनीहरूलाई म ठाडै जवाफ फर्काउन सक्छु– नियालेर हेर आफ्नै वरिपरि। यत्ति ठाडो पनि किन होऊँ? अलि मिलाएर भनौँ है त– समाजै त्यस्तै छ, राजनीति नै त्यस्तै छ, एक्लो गगन भाग्नु कहाँ टाढा र?

बालेन शाह पनि त मालापानीको गाडीबाट कहाँ टाढाबाट भाग्न सके र? अलि–अलि तलमाथि हाम्रै समाजले गर्न सिकाउँछ, भयो पनि होला। अलि–अलि तलमाथि हाम्रो राजनीतिले नै सिकाउँछ, भयो पनि होला।

जुन दिन समाज र राजनीति पूर्ण रूपमा सच्चिएला, त्यो दिन गगन पनि सच्चिएलान् वा जुन दिन गगन पूर्ण रूपमा सच्चिएलान्, त्यो दिन समाज र राजनीतिलाई पूर्ण रूपमा सच्याउन प्रयत्न गर्लान् पनि।

यत्ति त हो नै, आजका दिनमा गगन कोही भन्दा कम्ती छैनन्।

कम्ती रहेनछन् भन्ने कुरा हारपछि गगनप्रति नेपालको बौद्धिक जगतले प्रकट गरेको सद्भावले प्रमाणित गरिरहेको छ। हारपछि, सायद यत्ति धेरै सद्भाव प्रकट भएको कृष्णप्रसाद भट्टराईपछि गगन दोस्रो हुन्।

गगनमाथिको तेस्रो टिप्पणी– मिडियाले उचालेका पात्र हुन्, गगन।

हत्तेरी, मिडियाले नउचालेका कुन पात्र छन् र आज नेपाली राजनीतिमा?

टिप्पणी गर्दा यति पनि अचेत नहुनुहोस्, आफूले के टिप्पणी गर्दैछु त्यसको पनि होसहवास नहोस्।

यस विषयमा यहाँ भन्दा म थप के भनूँ?

अब म एउटा प्रष्टीकरण दिएर चुनावको परिणाम र त्यसप्रतिका मेरा दृष्टिकोणबारे छोटो कुरा गर्नेछु।

प्रष्टीकरण के भने मैले गगनलाई देवत्वकरण गरिरहेको छैन। देवता आजको युगमा कोही पनि छैन। गगन पनि देवता होइनन्। यत्ति त म पनि जान्दछु। तर म आश्चर्यमा छु– जसले आफूले मनपराएको मान्छेलाई देवता देख्छन्, तर मैले होसियारीपूर्वक गगन तुलनात्मक रूपमा ठीक छन् भन्दा देवत्वकरण देख्छन्। त्यस्ता बेकारका मान्छेका बारेमा मेरो भन्नु केही छैन।

यति त भन्नैपर्छ– नेपाली राजनीतिले गगनलाई हराएको मूल्य कुनै एक दिन चुकाउनेछ।

अब अलिकति कुरा गरौँ यो समयको, चुनावको परिणामको।

चुनावको परिणामपछि कतिपय स्वनामधन्य विश्लेषकहरू नेपालमा वाद र सिद्धान्तको राजनीति सकिएको तर्क गरिरहेका छन् र यसैमा रमाइरहेका छन्। किन रमाइलो मानेका होलान्? मलाई थाहा छैन। कुरा त दुःख मान्नुपर्ने खालको हो। यसको व्याख्या अरु कुनै बेला गरौँला।

यो चुनावी परिणाम मेरो दृष्टिमा जम्माजम्मी पुराना दलप्रतिको अति आक्रोश र नयाँ भन्ने शब्दप्रतिको अति मोह मात्रै हो। यहाँ भन्दा बढ्ता यसपटकको चुनावको परिणामलाई धेरै ठूलो महत्व दिनु पर्ने म कुनै अर्थ देख्दिनँ।

पुराना दलप्रति किन त्यति धेरै अति आक्रोश पैदा भयो? यसको पनि ठोस र तथ्यगत विश्लेषण हुन अझै बाँकी नै छ। हुँदै गर्ला।

यो पुरानो र नयाँ भन्ने भाष्यप्रति त म कति पनि खुसी छैन। नयाँ/पुरानो, यो न सिद्धान्त हो, न आदर्श हो, न नियम हो, न हो परिवर्तनको प्रतीक। देश पुरानो, सभ्यता पुरानो, अनुशासन पुरानो, मान्यता पुरानो, मूल्य पुरानो।

हामीले खोजेको नयाँ के हो?

हामीलाई गीता मनपर्छ, हामीलाई महाभारत मनपर्छ, हामीलाई रामायण मनपर्छ, हामीलाई कृष्ण मनपर्छ, हामीलाई राम मनपर्छ, हामीलाई बुद्ध मनपर्छ, हामीलाई सुकरात मनपर्छ, हामीलाई प्लेटो मनपर्छ, हामीलाई नित्से मनपर्छ, हामीलाई गान्धी मनपर्छ। के यी नयाँ हुन्? हामीलाई स्कच सबैभन्दा पुरानो मनपर्छ। दुनियाँमा जति पुरानो भयो, त्यति स्कचको मूल्य बढी हुन्छ। सुन पुरानो होस् वा नयाँ, त्यसको मूल्यमा के फरक पर्छ र?

हामीलाई चाहिएको नयाँ के हो?

नयाँ नै मूल्यवान् भन्ने भाष्य नेपालमा एकाएक कसरी उत्पन्न भयो? यो भाष्यमा कुन चेतले काम गरिरहेको छ? मलाई थाहा छैन।

यति चाहिँ भन्न सक्छु– हिजो वामपन्थीहरूले गरिब र धनीको कुरा गरे, वर्ग छुट्याए, धनीको घर ढाल्ने कुरा सिकाए। र, राजनीतिक/सामाजिक अनुशासनलाई छिन्नभिन्न पारे। आज खै के पन्थीहरू हुन्– उनीहरूले, नयाँ र पुरानाको कुरा उरालेर, नयाँ र पुरानोको वर्ग छुट्ट्याइरहेका छन्। र उसैगरी राजनीतिक/सामाजिक अनुशासनहरूलाई छिन्नभिन्न पार्दैछन्।

सत्य यो हो कि आजका नयाँ पनि पाँच वर्षपछि पुराना हुनेछन्। अनि?

यस्तो लागिरहेछ– हामीले नयाँ र पुरानोको अर्को घाँडो नेपालमा भित्र्यायौँ। र, यसैको नाममा जिते बालेनले। जित्यो राष्ट्रिय स्वतन्त्र पार्टीले। जित्यो यस कारण कि, नयाँ भन्ने शब्दको यति धेरै ‘मार्केटिङ’ भयो– त्यसलाई स्वीकार नगर्ने हो भने पछि परिन्छ भन्ने एक खालको मनोवैज्ञानिक दबाब पनि मान्छेहरूमा पर्‍यो। अंग्रेजीमा भन्दा– ‘फियर अफ मिसिङ आउट’ अर्थात् छुट्छौँ कि भन्ने डर।

२०६४ मा जतिबेला माओवादीले बहुमत पायो, उतिबेला ‘फियर अफ डेथ’ले काम गरेको थियो, जसका कारण माओवादी ठूलो दल बन्यो। यसपटक काम गर्‍यो ‘फियर अफ मिसिङ आउट’ ले। नयाँ भइँदैन कि भन्ने डर।

उहिले मारिन्छौँ कि भन्ने डर, अहिले छुट्छौँ कि भन्ने डर। डर हिजो पनि, डर आज पनि।

डर थिएन भने, न पार्टी चिन्नु छ? न सिद्धान्त जान्नु छ, यसै आफ्नै मत दिन्छ कसले? यत्ति जोखिममा मत दिएको संसारमा विरलै उदाहरण छन्।

मत आइ नै सक्यो। अबका केही दिनमा बालेन शाह नेपालको प्रधानमन्त्री बन्नेछन्।

बालेनजी राम्रो गर्नुहोला। सबै ठीकठाक होस्। शुभकामना छ। आशा छ राम्रोको। यसै पनि आशा नराम्रोको गरिँदैन।

बालेनजी मैले तपाईंका गुणहरूमाथि तुलनात्मक रूपमा उठाएका प्रश्नहरू गलत साबित होऊन्। शंकाको सुविधा छ। जुन दिन तपाईं प्रधानमन्त्रीको शपथ लिनुहुनेछ, त्यसको वरिपरि म तपाईंका नाममा एउटा पत्र लेख्नेछु, फुर्सद भएसम्म पढ्ने कोसिस गर्नुहोला।

अहिलेलाई यत्ति ख्याल गर्नुहोला– देश र राजनीति भनेको एक दिनको खेल होइन, ज्ञान/अनुभव, अभ्यास र त्यसको निरन्तरता हो।

बालेनजी आज यो लेख लेख्दै गर्दा मेरो टेबलमा एउटा पुस्तक छ, शीर्षक छ – द फोर्टी एट लज अफ पावर। यस्तो लागिरहेछ– तपाईंले यो पुस्तक पहिल्यै पढिसक्नु भएको छ वा यो पढेको कोही मान्छे तपाईंको संगतमा छ। अठ्चालीस शीर्षकमध्ये चालीस भन्दा बढी शीर्षक ठ्याक्कै तपाईंका शैली र व्यवहारसँग मिल्छन्।

त्यही पुस्तकका लेखक रोबर्ट ग्रिनको एउटा वाक्यबाट यो लेख टुंग्याउन चाहन्छु– आफूलाई कहिल्यै पनि स्थायी नठान्नुस्, ठान्नुस् तरल पदार्थ वा पानी जस्तै, जसको कुनै खास आकार हुँदैन। सबै कुरा परिवर्तनीय छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad