(प्रस्टीकरण– यो लेख नेपालमा भइरहेका परिवर्तनहरूका विरुद्ध होइन। समयको चित्रण मात्र हो।)
खासमा यो केही दिनअघि नै लेखिनुपर्थ्यो। अलि ढिलो भयो।
ढिलो हुनुमा आफ्ना स्वभावजन्य अवगुणहरू त छँदैछन्। खासमा चाहिँ नेपाली कांग्रेसको लफडा कहाँसम्म पुग्छ भनेर पर्खिरहेको पनि हो।
पखाईपछिको परिणाम जे आयो, यो सुखद रहेन। असाध्यै दुर्भाग्यपूर्ण।
गगन थापा आउनु पर्थ्यो। एकदुई वर्षअघि नै आउनु पर्थ्यो। उनलाई कांग्रेसजन मात्र होइन। एमाले समेत मिलेर ल्याउनु पर्थ्यो। भदौ २३–२४ को रापतापअघि नै। एक वर्षअघि नै। मैले अब गगन थापा शीर्षकमा लेखेको पनि थिएँ–
–नेपालमा अहिलेको जस्तो लोकतन्त्र अब काम छैन।
–नेपाली लोकतन्त्र हार्दो छ।
–हार्दो नेपाली लोकतन्त्रलाई एक पटक जिताउन सक्ने अब एक मात्र खेलाडी हुन्– गगन थापा।
–अब नेपालमा पुराना देउवा, प्रचण्ड, ओली र नेपालहरूले बिगारेको। रविहरूले बिथोल्न खोजेको। दुर्गा प्रसाईंहरूले हल्लाउन खोजेको र ज्ञानेन्द्रले दाउ हेरेको। हार्दो नेपालको लोकतन्त्रलाई एक पटक बचाउन सक्ने खेलाडी गगन मात्र हुन्।
गगन आउन त आए। ढिला गरी आए। समय घर्केपछि आए। अलि अप्ठ्यारो बाटो आए।
किनकिन म ठान्छु– गगन यो बाटो भएर होइन, यो भन्दा अलि सरल वा विवादरहित बाटो भएर अलि अघि नै आउनु पर्थ्यो।
हौसिने र हौस्याउनेहरूले जे भनून्, कांग्रेसभित्र जे भयो, बरबाद भयो। आजको समयमा कांग्रेसलाई बरबाद हुने छुट थिएन (कर्ता र कारण प्राविधिक कुरा हुन्)।
लेखेर राख्नुस्– आज कांग्रेसमा भएको बरबादीका कारण अबका कयौँ वर्षहरूसम्म देश र राजनीतिले राम्रै मूल्य चुकाउनु पर्नेछ। यस्तो लाग्दैछ– देश र राजनीति झनझन् मरुस्थलमा प्रवेश गरिरहेको छ।
हत्तेरी! दल र नेताका लहरोमा लहरीलहरी, यो मरुस्थलमा नेपाली राजनीति पुग्यो कसरी?
आज म यही मरुस्थलतर्फ लम्कँदै गरेको नेपाली राजनीतिका केही चित्रहरू उतार्ने कोसिस गर्नेछु।
टाढाबाट लेख्न बस्दा म हरेक पटक एउटा द्विविधामा हुन्छु। द्विविधा के भने– म यो किन लेख्दैछु? त्यो पनि नेपालको राजनीतिमाथि। जो दिन प्रतिदिन नियन्त्रण गुमाउँदै गइरहेको छ।
यसै पनि राजनीति खासमा मेरो रुचिको विषय होइन। तर, घुमीघुमी मेरो लेखनमा नेपालको राजनीति नै बढी आइरहेको छ। यसका अनेक कारणहरू छन्। तीमध्ये एउटा महत्वपूर्ण कारण हो– नेपालको राजनीतिले कहिल्यै एउटा बाटो र गति पक्रिएन। मातेको मान्छे भिरको बाटो हिँडे जस्तो। सधैँ लड्छ, लड्छ कि जस्तो भइरह्यो। अरु लड्न लागेको देख्दा, जसरी देख्ने पनि झसंग हुन्छ, सायद यही झसंग मनोदशावश नेपाली राजनीति मेरो लेखनमा घुमीघुमी आउँछ।
किनकिन झनझन् मलाई नेपालको राजनीति यस्तो लागिरहेछ– मातेको मान्छे भिरको बाटो हिँडे जस्तो। सोचिरहेको छु्– खल्तीमा भएको अर्को एउटा ‘क्वाटर’ पनि स्वाँट्ट पारेर भिरको तलतिर फुलिरहेको लालीगुराँस टिप्न हाम्फाले त्यो मान्छेको (राजनीति र लोकतन्त्रको) हालत के होला?
सुन्दा लालीगुराँस टिप्ने कुरा अति सुन्दर र रुमानी सुनिन्छ। हौसिने र हौस्याउने कुरा बेग्लै हो। तर मलाई लाग्दैन– मातेको मान्छेले सकुशलै भिरको लालीगुराँस टिप्न सक्छ।
कुरा अलि अमूर्त जस्तो लाग्न सक्छ। जसले यो पढिरहनु भएको छ, तपाईंहरू सोध्नुहोला– उसो भए भिर के हो? मातेको मान्छे को हो? लालीगुराँस के हो? यो म अहिले भन्दिन। तपाईंहरू आफैँ छुट्याउने कोसिस गर्नुहोला। अलि बढी नै बिम्बात्मक भएकोमा मलाई माफ गर्नुहोला।
कसैलाई यो नलागोस्, म यहाँ कुनै खास व्यक्तितर्फ इंगित गरिरहेको छु।
बिल्कुल होइन।
कुरा मात वा नशाको मात्र छैन। तमासाको पनि छ। आजको नेपालको राजनीति कि त नशामा छ, कि त तमासामा। नशा र तमासाका अनेक रूप र रङहरू प्रकट भइरहेका छन्। निर्माणमा लाग्नु पर्ने देश अहिले झनझन् विनिर्माणको सुरुङमा प्रवेश गरेको छ। पहिलाका सबै खराब र आउनेहरू सबै असल भन्ने असाध्यै भ्रमपूर्ण र डरलाग्दा एकोहोरा भाष्यहरू निर्माण भइरहेका छन्। हिन्दु अधिराज्य, राजसंस्था र संघीयता खारेजी जस्ता विषय पनि सम्बोधन गर्ने भन्दै निर्दलीय सरकार संविधान संशोधन सुझाव आयोग गठन गर्न तयार भएको छ।
लोकतन्त्र बलियो हुन खोज्दैछ कि बिलाउन खोज्दैछ? खास हुन के खोजिरहेको छ?
यही मौकामा मान्छेमा यता लाग्ने कि उता लाग्ने दौडधुप छ। धेरैलाई लाग्दो हो– देशले अब गति लिइरहेको छ।
म त टाढाबाट आज देश र राजनीति झनझन चौरास्तामा फसेको देखिरहेको छु। थाहा छैन– अब देश कुन बाटो लाग्छ?
भदौ २३/२४ को विध्वंस लगत्तै नेपालमा विद्रोह होइन, विध्वंस भयो भन्ने शीर्षकमा मैले लेखेको एउटा लेख पढेर नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले एक्समार्फत मलाई एउटा सन्देश पठाउनुभएको थियो। सन्देशमा भनिएको थियो– ‘तपाईंको पछिल्लो लेख पढेँ। निकै गहन र गम्भीर लाग्यो। बधाई।’
जवाफमा मैले लेखेँ– ‘तपाईंले यसो भनिदिनु भयो खुसी लाग्यो। देश अँध्यारो र अनन्त सुरुङतिर गइरहेको छ कि भन्ने डर छ। कामना छ यसो नहोस्, जोगाउनु होला।’
ज्ञवालीले थप्नु भयो – ‘प्रयास गरिरहेका छौँ। तर अवस्था धेरै जटिल देखिन्छ। यसको अर्को एपिसोड मञ्चन हुँदै छ कि झैँ लाग्छ।’
आज पनि डर अर्को एपिसोडको छ।
चुनावै भए पनि देशले सही बाटो पक्रन अबको केही समय मेरो दृष्टिमा कठिन छ। चाहनाहरू खिचडी छन्। कसले के खोजिरहेको छ, पत्तो छैन। न साइनोको टुंगो छ, न सम्बन्धको। प्रधानमन्त्रीको कुर्सीमा बसेर कोही, कसैलाई जेठो छोरो भनिरहेको छ। जेठो छोरो, आमा नै ‘मैले बनाएको’ भनिरहेको छ। पदको कुनै सन्तान हुँदैन। सन्तान मान्छेको हुने हो। यहाँ त पदले सन्तान जन्माइरहेको छ। रमाइलो छ। अनौठो छ।
यस्ता अनेक रमाइला र अनौठाका बीच अबका पैँतालीस दिनमा चुनाव हुनुछ। मलाई अझै लाग्दैन– चुनाव निर्धारित समयमै सही सलामत हुन्छ। चुनाव होस्। सबै ठीकठाक होस्– कामना छ।
तर यो यसै हुनेवाला छैन। र, भए पनि यसले कुनै खासै ठूलो तात्त्विक फरक पार्नेवाला छैन। खासै ठूलो तात्त्विक अर्थ नराख्ने चुनावलाई माछा ठानेर ढडिया थाप्नेहरू अहिले सक्रिय छन्। एक किसिमको होड नै चलेको छ ढडिया थाप्ने। ढडिया थाप्ने एउटै तरिका छ– दल खोल्ने। नेता बन्ने। आफू बाहेक बाँकीलाई ललकार्ने।
देश र राजनीति यसअघि कहिल्यै पनि यो हदसम्म रमाइलो भएको मलाई थाहा छैन। सायद दुनियाँमा अन्यत्र पनि देश र राजनीतिमा यो हदसम्म रमाइलो छैन। जो आज नेपालमा भइरहेको छ।
एउटा सानो देश। १ सय ४४ दल। न दर्शन, न सिद्धान्त, न आदर्श, न अनुशासन, न अनुभव, न निरन्तरता। जोकोही पनि हात उठाएको छ, मुठ्ठी बटारेको छ। अनुहार रातोपिरो बनाएको छ र ललकारेको छ। ठूला स्थापित दल र तिनका नेतालाई गाली गरेको छ।
आफूलाई अलि टाठो सम्झने यसअघि कुनै स्थापित दलमा स्थान नपाएको हरकोहीमा आज देश बनाउने गज्जबको भूत सवार छ। र, देशका नाममा उनीहरू फगत कामिरहेका छन्। इलामको माइखोलामा देवता भेटिएको भन्दै झाँक्रीहरू कामेझैँ।
कोही मान्छेमा कसरी एक्कासि देश बनाउने भूत सवार हुन्छ? म भन्न सक्दिनँ। देश बनाउने भूत सवार भएका रमाइला ताँती देखेर कहिलेकाहीँ म सोच्छु– बनाउने कुराहरूमध्ये सबैभन्दा सजिलो त देशै बनाउने हो कि क्या हो?
आजको नेपाली राजनीतिमा ‘मै हुँ’ ठान्ने र ठानिएका धेरै मान्छेका बारेमा धेरैमा धेरै भ्रमहरू छन्। पर्खनु मात्र पर्छ– ती भ्रमहरू पनि समयक्रममा टुट्नेछन्। टुट्ने पनि यसरी छन् कि नेपालीलाई देवता मान्न समेत डर लाग्न थाल्नेछ।
खैर, यो वा त्यो जोकोही पात्रहरूको देश बनाउने हुटहुटी वा उर्लंदो भावको म सम्मानै गर्छु। उनीहरूको देश बनाउने उर्लंदो भावमाथि मेरो केही भन्नु छैन। कोही कसैको देश बनाउने उर्लंदो भावमाथि अनावश्यक टिप्पणी गर्नु उति मनासिब पनि होइन। डर यत्ति मात्रै हो– जसरी अहिले उनीहरू भइरहेका रुखका जराहरू काट्न तल्लीन छन्, त्यसरी नै तिनले नयाँ बिरुवा रोप्न सक्छन् सक्दैनन्? वा तिनले रोप्न खोजेका र रोपेका नयाँ बिरुवा हुर्कन पाउँछन् पाउँदैनन्? ती कतै ठूलै खडेरीमा पर्ने हुन् कि?
नेपालभित्र र बाहिरका शक्तिकेन्द्रहरूका स्वार्थ र तानातानीलाई हेर्दा मलाई यस्तो लाग्छ– नेपाल आज जरा काटिने ‘फेज’मा छ।
देश बनाउने भन्दै उत्ताउलिने र तिखारिनेहरूलाई बडो विनम्रतापूर्वक म सम्झाउन चाहन्छु– तिखारिँदा पनि सम्हालिएर तिखारिनु होला। आफ्नै जरा काट्ने गरी नतिखारिनु होला। कमजोर सामाजिक चेतलाई धेरै ‘म्यानिपुलेट’ गर्ने कोसिस नगर्नु होला।
नेपाली समाज र मिडियासँग पनि टाढाबाट यस्तै आग्रह छ– समय, परिस्थिति, खास सैद्धान्तिक आधार र प्रभाव के कति हो, नबुझी यसै तिनलाई बढी नहौस्याउनु होला।
कतिपय ‘मै हुँ’ भन्ने मिडियावालाहरूले बालेन र रविको भेट वा मिलनलाई ऐतिहासिक र धुन्धान समेत भने। उनीहरूले यसरी वर्णन गरे कि मानौँ अमेरिकी राष्ट्रपति र रुसी राष्ट्रपतिले ६ घण्टा सँगै बिताए। वा मानौँ कि अमेरिकी राष्ट्रपति र चिनियाँ राष्ट्रपतिले ६ घण्टा सँगै बिताए। कुलमान रास्वपामा गए। त्यसको पनि उस्तै महिमागान भयो। त्यो महिमागानको १२ दिनमै आत्महत्या भयो।
जो ठीकठाकै मात्रै हो, हामी उसैलाई सबैभन्दा बढ्ता लायक सम्झन्छौँ। ती, जसलाई बेसक्याम्पमै लेक लाग्ने खतरा छ, तिनलाई हामी सगरमाथाको चुचुरोमा उभिएका एडमन्ड हिलारी र तेन्जिङ शेर्पाको ठाउँमा देख्न चाहन्छौँ।
अनि दुर्घटना नभएर के हुन्छ?
हामी अरु लड्ने दिनहरू पर्खिरहेका छौँ। केही दिनअघि डा भगवान कोइरालाले कतै भनिरहेको सुनेको थिएँ– ‘हामी आधारभूत मानवीय गुणमा नै चिप्लिएका छौँ।’
वाह! डाक्टरसाब, क्याबात!
हो सही हो– हामी आधारभूत मानवीय गुणमा नै चिप्लिएका छौँ। यत्ति बुझ्ने मान्छे आज नेपालमा पाउनु कहाँ? डा कोइरालाको यो महानवाणी स्मरण गर्दै अब म टाढाबाट यसअघि वाचा गरे अनुसार आजको नेपाली राजनीतिका ६ कठोर प्रश्नका ६ कठोर जवाफ ठाडठाडै दिने कोसिस गर्नेछु।
प्रश्न नम्बर एक– राष्ट्रपति रामचन्द्र पौडेलले गत भदौ २७ मा लिएको ‘स्टेप’ के पूर्णतः सही थियो?
आजको दिनमा उभिएर भन्दा मेरो चेतले भन्छ– अहँ त्यो पूर्णत सही थिएन।
भदौ २३–२४ मा भएको विध्वंस लगत्तै मैले एउटा लेख लेखेको थिएँ। जहाँ भनेको थिएँ– त्यो समय र क्षणमा राष्ट्रपतिले गरेको निर्णय वा लिएको ‘स्टेप’ त्यो क्षणको ‘बेस्ट स्टेप’ हो। ‘बेस्ट स्टेप’ यस कारण कि मर्नु भन्दा बहुलाउनु निको।
आज म मेरा ती शब्दहरू फिर्ता लिन चाहन्छु। बहुलाउनु भन्दा बरु मर्नु निको रहेछ।
मैले यो कुरा नेपालका आगामी सम्भावित खतरा र चुनौतीहरूलाई ध्यानमा राखेर भनिरहेको छु। मर्नु भनेको सिद्धिनु भनेको होइन। मर्नु भनेको एउटाबाट अर्कोमा रूपान्तिरत हुनु पनि हो। बरु मर्न दिएको भए रूपान्तरण छिटो हुन्थ्यो कि भन्ने मलाई आज लागिरहेको छ। आखिर हामी रूपान्तरण पर्खिरहेका छौँ।
आज मेरो चेतले भन्छ– आफ्नै सुरक्षा, देशको सुरक्षा र जनताको सुरक्षाको चिन्ताका नाममा राष्ट्रपतिले रूपान्तरण वा पुनर्जन्मको एउटा अवसर गुमाउनु भयो। अनि देश र राजनीतिलाई बहुलाउने अवसर दिनुभयो।
आज देशको राजनीति बौलाएको छ।
उसो भए ऊ बेला राष्ट्रपतिले के गर्नु पर्थ्यो?
त्यो बेलामा सकेको भए– इमर्जेन्सी लगाएर सेनाको आडमा केही समयका लागि राष्ट्रपति शासन लागू गर्नु पर्थ्यो।
यसो भए के हुन्थ्यो?
राजनीति र व्यवस्था केही समय ‘पज’मा हुन्थ्यो। राष्ट्रपति र खासगरी सेनाको विरुद्ध जाने कसैको आँट हुने थिएन। स्थिति अलि शान्त भएपछि दलहरूको समेत सहमति र सहभागितामा एउटा सर्वपक्षीय वा सर्वदलीय चुनावी सरकार गठन हुन्थ्यो। र, त्यही सरकारले चुनाव गराउने थियो। दलहरू पनि खुसीखुसी चुनावमा जाने थिए। बाटो एकहोरो हुने थियो। तुलसी दिवसको कविता जस्तो– हिँड्दा हिँड्दै बाटो नै मोडिने हो कि भन्ने आजको जस्तो अवस्था आउने थिएन। प्रधानमन्त्रीका कोही जेठा वा कान्छा छोरा हुने थिएनन्। छोराले आमा जन्माएको देख्नु पर्ने थिएन। देश बनाउँछु भन्दै झाँक्रीहरू काम्ने थिएनन्।
मैले माथि नै भनिसकेँ– झाँक्रीहरू देवता बनाउन सक्छन्। देश बनाउन सक्दैनन्। हो म जान्दछु– जुन दिन आगो लागिरहेको थियो, त्यो दिनको रापताप अर्कै थियो। तर, राष्ट्रपति र सेनाले ती दिनहरू धान्न सकेको भए अवस्था अलि अनुकूल हुन्थ्यो कि भन्ने म आज ठान्छु।
अब जाऔँ प्रश्न नम्बर दुईमा।
प्रश्न नम्बर दुई– नेपाल समस्यामा परेको हो कि समाधानमा जाँदैछ?
मेरो चेतले भन्छ– नेपाल झन् समस्यामा पर्दैछ।
आज नेपालमा जेजस्ता राजनीतिक र गैरराजनीतिक गतिविधिहरू भैरहेका छन्, कतैबाट लाग्दैन कि देश र राजनीति समाधानको बाटोमा जाँदैछ। बालेन शाह प्रधानमन्त्रीका उम्मेदवार। रवि लामिछाने आधार स्तम्भ। सुदन गुरुङ सूत्रधार। अमरेश सिंह त्यतै कतै पलेटीमा। दुर्गा प्रसाईहरू ढडिया थाप्ने। सुनिल शर्माहरू माछा खान तयार। तथाकथित सेलिब्रेटीहरू यसै पौडिरहेका छन् खोलामा। प्रचण्ड, माधव नेपाल, शेरबहादुर देउवा, पूर्णबहादुर खड्का, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, आदिइत्यादि नदी किनारका माझी।
धेरै रोमान्टिक हुनु जरुरी छैन। रवि एक होलान्। सय होइनन्। कुलमान सय होलान्। लाख होइनन्। गगन लाख होलान्। करोड होइनन्। तर एकको सय। सयको लाख र लाखको करोड हिसाब भइरहेको छ आजको नेपालको राजनीतिक बजारमा।
आजसम्म नेपालको राजनीतिमा भएको जम्मा यत्ति हो– जरा काटिँदैछ। नयाँ बिरुवाको खासै गुन्जाइस छैन। विनिर्माण मात्र भइरहेको जस्तो देखिन्छ। निर्माण हुन नदिने अनेक पात्र र प्रवृत्तिहरू जताततै सक्रिय छन्। यो सबै अचेतवश भइरहेको पनि हुन सक्छ। अचेतताको त पराकाष्ठा छ।
सराप के हो? आशीर्वाद के हो? यत्ति नजान्नेहरू सरापका ठाउँमा आशीर्वाद दिइरहेका छन्। आशीर्वादका ठाउँमा सराप दिइरहेका छन्।
अहिलेलाई कठोरतापूर्वक म टाढाबाट स्पष्टताका भन्छु– देश यसरी बन्दैन। नेपाल सही बाटोमा छैन। देश र राजनीति समाधानको बाटोमा छैन। यसै उत्ताउलिने, रमाइलो मान्ने र भूत सवार हुने बेग्लै कुरा हो।
एक हुनु पर्ने समयमा झन् विभाजित भएर पनि कहीँ देश बन्छ?
अब पालो तीन नम्बर प्रश्नको।
अनेक खराबीका बाबजुद पनि एमालेले आज के चाहिँ सही गरिरहेको छ?
विचार र शैलीमा एमालेका प्रति मेरा हिजो पनि अनेक गुनासा/टिप्पणीहरू थिए। आज पनि छन्। तर भदौ २३/२४ को विध्वंसपछि एमालेले जसरी आफूलाई उभ्यायो। यो लोभलाग्दो छ। दार्शनिक दृष्टिले शत प्रतिशत यो वा त्यो सही दुनियाँमा कुनै कुरा छैन।
एमाले वा त्यसका अध्यक्ष केपी ओली कति सही थिए वा गलत, यो प्रश्न दार्शनिक दृष्टिले गलत हुन्छ। सही प्रश्न के हो भने एमाले वा ओलीमा आफू जहाँ उभिएको छ, त्यसमाथि विश्वास छ वा छैन?
एमाले र ओलीले आफूमाथि फेरि पनि विश्वास गरे। यो भन्दा पनि ठूलो कुरा एमालेले भदौ २३/२४ को विध्वंसलाई ‘ग्लोरीफाइ’ गरेन। विध्वंसलाई आत्मसात गरेन। बरु विध्वंसलाई ललकार्यो।
जबर्जस्त ‘स्ट्यान्ड’ एमालेले लिएकोमा म खुसी छु। देश चलाउँछु भन्ने पार्टीमा यत्तिको आँट चाहिन्छ। यही आँटका कारण अनुहार पनि हेर्दिनँ भनिएका ओली आज प्रधानमन्त्री सुशीला कार्कीसँग एक्लाएक्लै चार घण्टा वार्ता गर्ने चरणमा छन्। राजनीतिक दृष्टिले यो ठूलो कुरा हो।
राजनीतिमा सधैँ सबै कदम सबैका लागि सही हुँदैनन्। हो। एमाले सुध्रिनु पर्थ्यो। ओली सुध्रिनु पर्थ्यो। यस्ता अनेक कुरा भन्न सकिन्छ। तर बालेन–सुदनलाई भगवान मानेर ओलीलाई दानव मान्न त सकिन्न। सकिँदै सकिँदैन।
खै किन हो नेपाली चेत विध्वंस वा विनिर्माणमा बढ्ता रमाइलो मान्छ। निर्माणको स्पष्ट चेतबिनाको विनिर्माण बडो घातक हुन्छ। यो घातक चेतलाई कहीँ न कहीँ ‘मिनिमाइज’ गर्ने कोसिस कमसेकम आजको एमालेले गरिरहेको छ।
कतिपय मान्छेले भनेको सुन्छु– जलेर के भो, फेरि बनाउन सकिन्छ सिंहदरबार।
सिंहदरबार एउटा फगत भवन मात्र हो र? सिंहदरबार राज्यको एउटा प्रतीक हो। सान हो। त्यो प्रतीक र सानमाथि आक्रमण हुँदा त्यसरी नै हर नेपालीको मन दुख्नुपर्थ्यो। जसरी अमेरिकाको न्युयोर्कमा आतंकवादीहरूले ट्विन टावरमा आक्रमण गर्दा अमेरिकीहरूको मन दुखेको थियो। र, दोषी र मतियारहरू कठघरामा हुनुपर्थ्यो।
आज त कोही कतै त्यसै र तिनैलाई ग्लोरिफाइ गरिरहेको छ। जति गाली गरे पनि वा खराबी भए पनि एमालेका केपी ओली आज एउटा पात्र हुन्, जसले सिंहदरबारमा लागेको आगो र आगो लगाउनेलाई ग्लोरिफाइ गरेनन्।
यत्तिको पात्र पनि आजको नेपालमा पाउनु कहाँ र?
अब पालो चार नम्बर प्रश्नको।
प्रश्न– नेपाली कांग्रेसले आफूलाई किन र कसरी ‘लुज’ गर्दैछ?
जतिबेला म यो लेख्न खोज्दै थिएँ। त्यतिबेलासम्म नेपाली कांग्रेस सग्लो थियो। आज सग्लो कांग्रेस छैन। सग्लो कांग्रेसले नै धेरै कुरा ‘लुज’ गरिसकेको थियो। आजको टुटेफुटेको कांग्रेसले त कति ‘लुज’ गर्यो, गर्यो, भनिसाध्यै छैन।
नेपालमा भदौ २३/२४ अघिका हरेक परिवर्तनहरूमा नेतृत्वदायी भूमिका खेलेको कांग्रेस यति हेपिएको र तिरस्कृत इतिहासमा कहिल्यै थिएन। भदौ २३/२४ पछि कांग्रेसले खास कुनै ‘बोल्ड स्ट्यान्ड’ लिन सकेन। बिचरा जस्तो। सभापति कुटिएका छन्। कांग्रेसजनमा खासै पीर वा आक्रोश छैन।
सभापति शेरबहादुर थिए कि को थिए, म जान्दिनँ। नेपालमा प्रजातन्त्रको आधार स्तम्भ मानिने नेपाली कांग्रेसका सभापति जो होस्, ऊ कुटिँदा भोलिपल्ट सडकमा जे प्रतिक्रिया हुनुपर्थ्यो, अहँ त्यो कत्ति पनि भएन।
बिचरा ती पिटिएका पिटिएकै भए।
प्रजातन्त्रका ठेकेदार मानिने देशहरूले समेत सहानुभूति स्वरूप एउटा विज्ञप्ति समेत निकालेनन्। सम्झँदा कांग्रेसको माया लागेर आउँछ।
म यतिबेला गिरिजाप्रसाद कोइरालालाई ‘मिस’ गरिरहेको छु। जो जति खराब भए पनि राजनीतिको केन्द्रमा थिए। सबैलाई आफू वरिपरि जम्मा पार्ने ताकत राख्थे। गिरिजाप्रसादको मृत्युपछि करिबकरिब कांग्रेस सकिएको रहेछ।
आज त न कांग्रेस राजनीतिको केन्द्रमा छ। न कांग्रेसको कोही नेता राजनीतिको केन्द्रमा छ। कांग्रेसले आफ्नो भूमिका र अस्तित्व गुमाएको यो पहिलो पटक हो। राजनीतिक हिसाबले यो बीचमा ‘लुज’ गरेको कुनै दल छ भने नेपाली कांग्रेस हो। न प्रतिकार, न कुनै ‘बोल्ड’ प्रतिक्रिया। न सम्हाल्ने ताकत। न आस्था। न विश्वास।
हत्तेरी। कसरी सकियो कांग्रेस? कसले सक्यो कांग्रेस?
अब प्रश्न नम्बर पाँच।
मैले असाध्यै ठानेका गगन थापाले पनि यो बीचमा के गुमाए?
जतिबेला म यो लेख्न सुरु गर्दै थिएँ। त्यतिबेला गगन थापा नेपाली कांग्रेसका महामन्त्री मात्र थिए। आज सभापति भएका छन्। यतिबेला म सभापति थापाको होइन, महामन्त्री थापाको कुरा गर्दैछु।
भदौ २३/२४ मा देशमा विध्वंस हुँदै गर्दा थापा महामन्त्री थिए। थाहा छ– उनको घर पनि जलाइयो। उनी विक्षिप्त थिए। व्यक्तिगत कुरा आफ्ना ठाउँमा छन्। म चाहिरहेको थिएँ– त्यो समयको ‘लिड’ गगनले गरून्। राष्ट्रपति कार्यालयमा जाऊन्। विध्वंसकारीहरूसँग संवाद गरून्। अब म ‘लिड’ गर्छु भनून्। अलि हकारपकार पनि गरून्। आगो लगाएर आएकाहरूलाई शान्त पारून्। बोल्न र तर्क गर्नमा अब्बल त हुँदै हुन्। अलि आँट गरेको भए, अलि जुझारु भएको भए सक्थे पनि।
गगनले त्यो समयमा राजनीतिक समर्पण गरे कि जस्तो मलाई लाग्छ। राष्ट्रपति कार्यालयमा गएर अब म सम्हाल्छु भन्ने आँट गरेनन्। त्यहाँ देखै परेनन्। अलि भद्र हुन खोजे। गल्ती भयो भने माफी मागे। साधुले चोरसँग माफी मागे जस्तो। गगनलाई म के भनूँ– राजनीति यति ‘सफ्ट’ भएर पनि चल्दैन। थाहा छ– ती दिनहरू सजिला थिएनन्।
मलाई आज किनकिन लागिरहेको छ– गगनले ती दिनहरू अलि मुटु दरो बनाएर आँटेको भए सुशीला कार्कीको ठाउँमा गगन हुन्थे। कांग्रेस आजको अवस्थामा हुने पनि थिएन।
सोध्न मन लागिरहेको छ– आँट पुगेन, डर लाग्यो, सकिँदैन भन्ने लाग्यो वा क्षमता पुगेन? के भयो गगनजी ती दिनमा?
ती दिनमा गगनले अलि बढी आँटेको भए, सरकार बनाउन भन्दै सैनिक अड्डा र शीतल निवासमा झुम्मिएकाहरूलाई ‘इन्गेज’ गराउन सकेको भए नेपाली राजनीति आज मरुस्थलतिर होइन, कतै बगैँचातिर गइरहेको हुने थियो।
यसो भएन।
जस्तो बाटो भएर होस्, कसोकसो आज गगन आएका छन्। बाटो अलि फरक परेकै छ। डर गन्तव्यको छ। गलत समयमा नेपालको प्रजातन्त्रको एउटा मुख्य स्तम्भ हल्लिएको छ। यसो हुनै हुँदैनथ्यो। जे भयो, भयो गगनजी अब जतिसक्दो रेट्रोफिट गर्नुहोला र स्तम्भ जोगाउनुहोला।
नेपाली जनतालाई पनि मेरो आग्रह छ– लोकतन्त्रप्रति मोह छ भने टुटेको जस्तो नेपाली कांग्रेसलाई हेरेर होइन, गगनलाई हेरेर चुनावमा मत दिनुहोला। अरूसँग लोकतन्त्र जोगाउने त्यति ताकत आज छैन।
अब अन्तिम प्रश्न।
प्रश्न नम्बर छ– के गुनासो र आक्रोश नेपालका केही मुख्य राजनीतिक दल र त्यसका नेतृत्वकर्तामाथि मात्रै गर्नु जायज हो? समाजमाथि पनि त्यही तहको गुनासो र आक्रोश गर्नु पर्दैन?
माथिका पाँच प्रश्नभन्दा सबैभन्दा महत्त्वपूर्ण प्रश्न यही हो मेरो दृष्टिमा।
सरकार खराब। राजनीति खराब। नेता खराब। के समाज सही छ? के हामी सही छौँ?
छैनौँ।
नेपाली सामाजिक चेतमा पनि ठूलो समस्या छ। यसको कुनै बेला विश्लेषण गरौँला। अहिले साधारण प्रश्न गरौँ। जसले भ्रष्टाचार अन्त्य र सुशासनको माग गर्दै सिंहदरबारमा आगो लगायो, के उसले कहिल्यै आफ्ना बाआमाले आफ्ना लागि किनिदिएको बुलेट बाइक कुन पैसाले किनेको भनेर आफ्ना बाआमालाई सोधेको छ? आफूलाई जसरी पनि बुलेट बाइक चाहिने तर त्यो कसरी किनिन्छ भनेर जान्न नपर्ने?
खेतबारीमा काम गर्न लाज मान्ने, टिकटक–फेसबुकलाई खेतीबारी ठान्ने। आफू कसरी अल्छी बन्दै गइरहेको छु भन्ने थाहा नपाउने, ढिलो सुत्ने, ढिलो उठ्ने, जब जागा तब सबेरा ठान्ने। जागेपछि आगो हुने र सिंहदरबार जलाउन निस्कने।
के यो चेत र शैलीमा समस्या छैन? के यो माथि प्रश्न गर्नु पर्दैन? नेपाली समाज पैसामा इज्जत देख्ने समाज हो। के यो चेतमाथि प्रश्न गर्नु पर्दैन?
राजनीति मात्र होइन। नेपाली समाज पनि भ्रष्ट छ। अब राजनीति र त्यसका नेतामाथि मात्र होइन। आफू, आफ्नो समाज र सामाजिक चिन्तनमाथि पनि प्रश्न गर्न थालौँ। हाम्रा जरै ठीक छैन।
डा भगवान कोइरालाले भनेकै वाक्य फेरि दोहोर्याएर टुंग्याउन चाहन्छु– हामी आधारभूत मानवीय गुणमा नै चिप्लिएका छौँ।
Shares

प्रतिक्रिया