विचार


‘रिमोट कन्ट्रोल’बाट चल्ने छैन भेनेजुएला, ट्रम्पले आफ्नै लागि खने दलदल

‘रिमोट कन्ट्रोल’बाट चल्ने छैन भेनेजुएला, ट्रम्पले आफ्नै लागि खने दलदल

एडवर्ड लुस
पुस २०, २०८२ आइतबार १६:१,

सैन्य कारबाहीको हिसाबले हेर्ने हो भने अमेरिकाले गरेको निकोलस मदुरोको अपहरणमा कुनै खोट थिएन। तर, डोनाल्ड ट्रम्पको भेनेजुएलाको कथा भर्खर सुरु मात्र हुँदैछ। यो मुलुकका नेतालाई सत्ताच्युत गरेपछिको जिम्मेवारी उनले लिएका छन्। 

‘जबसम्म सुरक्षित र न्यायिक सत्ता हस्तान्तारण हुँदैन, तबसम्म हामी यो देश चलाउने छौँ,’ लगत्तै उनले भनेका छन्। अर्को शब्दमा भन्दा ट्रम्पले सत्तापलटको फैसला लिएका छन्। अब भेनेजुएलामा जे हुन्छ, त्यसको जिम्मा ट्रम्पको हुनेछ।

मदुरोलाई हटाउने संकेत त ट्रम्पले केही महिना पहिलेदेखि नै दिइरहेकै थिए। चकित पार्ने कुरा चाहिँ के हो भने ३ करोड जनसंख्या भएको एउटा सार्वभौम मुलुकलाई ‘चलाउन’ उनी तयार देखिन्छन्। अन्तिम पटक अमेरिकाले यस्तो प्रयास इराकमा गरेको थियो, २००३ को आक्रमणपछि। र, त्यो भियतनामजस्तै दलदलमा बदलिएको थियो।

इराक, अफगानिस्तान र अन्यत्र जर्ज डब्ल्यू बुसले अनन्त युद्ध सुरु गरेजस्तो गल्ती आफूले कहिल्यै नगर्ने वाचा गरेर ट्रम्पले सक्दो फाइदा लिए। हालैसम्म उनले त्यो वाक्य दोहोर्‍याइरहेका थिए। र, उनको यो वाचा उनका समर्थक माझ मात्र होइन, अधिकांश अमेरिकीहरूबीच लोकप्रिय थियो। 

तर, जसै ट्रम्पको दोस्रो कार्यकाल अघि बढ्दैछ, उनलाई साम्राज्य–शैलीको सैन्य कारबाही गर्ने सोख चढ्दैछ। शनिबार बिहान काराकासको आक्रमण नाइजेरियामा हवाई हमला गरेको एक साता नबित्दै भएको थियो। त्यसअघि गएको गर्मीमा अमेरिकाले इरानको आणविक केन्द्रहरूमा हवाइ हमला गरेको थियो। ट्रम्पले फेरि यसै साता प्रदर्शनकारीहरूलाई बचाउन इरानमाथि हमला गर्ने धम्की दिएका छन्। 

‘हाम्रो हतियार तयार छ र हामी हान्न तयार छौँ,’ शुक्रबार राति २:५८ बजे उनले लेखेका थिए।

सत्ता पल्टाउने कुरा ट्रम्पको नीतिमा देखिएको बदलाव हो। इराकमा झैँ भेनेजुएलामा आक्रमण गर्दा ट्रम्पले अनेक बहाना बनाएका छन्। र, ती बहाना बदलिँदै छन्। इराकमा बुसले सद्दाम हुसेनको आम नरसंहारकारी हतियार जफत, उनको अलकायदासँगको सम्बन्ध, मध्यपूर्वमा लोकतन्त्र विस्तार र दुष्ट मुलुकहरूमाथि आक्रमणजस्ता अनेकौँ बहाना बनाएका थिए।

त्यसैगरी, भेनेजुएलामा ट्रम्पले लागुऔषध–आतंकवादविरुद्धको युद्ध, अमेरिकाको सडकमा गिरोहहरूसँगको लडाइँ रोक्ने, अमेरिकी भूमि र तेल अमेरिकाको स्वामित्वमा फर्काउने कुरा गरेका छन्। यसै शताब्दीको सुरुमा भेनेजुएलाले आफ्नो देशमा सञ्चालित विदेशी तेल उद्योगहरूलाई राष्ट्रियकरण गरेको थियो। 

यी कारणहरूमा क्युबाको कम्युनिस्ट शासनप्रति ट्रम्पका विदेशमन्त्री मार्को रुबियोको आक्रोशलाई पनि जोड्न सकिन्छ। क्युबाले अधिकांश तेल भेनेजुएलाबाट पाउँछ। र, उसका हजारौँ अर्धसैनिक सल्लाहकार भेनेजुएलामा तैनाथ छन्। ३ सय अर्ब ब्यारेल भन्दा बढी तेल भण्डार भएको भेनेजुएलासँग विश्वकै धेरै तेल छ। क्युबाका लागि यो क्षण अस्तित्वकै सवाल हुनसक्छ।

यो कारबाहीपछि दुई प्रश्न उब्जिन्छन्। पहिलो, ट्रम्पको सैन्य दुस्साहसको भोक अन्यत्र फैलिन्छ कि फैलिँदैन? उनले क्यानडा, पानामा, ग्रिनल्यान्ड र गाजामा आँखा गाडेको प्रचार आफैँले गरेका छन्। शनिबार उनले मेक्सिकोलाई पनि नियालिरहेको संकेत गरे। 

‘उनी असल महिला हुन्,’ ट्रम्पले मेक्सिकोकी राष्ट्रपति क्लाउडिया साइनबमबारे भने, ‘तर, मेक्सिको कार्टेलले चलाइरहेको छ। मेक्सिकोलाई केही न केही गर्नैपर्ने छ।’

अमेरिकामा भित्रिने लगभग सबै फेन्टानिल भेनेजुएलाले होइन, मेक्सिकोले आपूर्ति गर्छ। ट्रम्पले शनिबार नै कोलम्बियाका वामपन्थी राष्ट्रपति गुस्ताभो पेत्रोलाई पनि ‘आफ्नो पछाडि हेर्न’ धम्क्याए। अमेरिकामा भित्रिने अधिकांश कोकिन पनि भेनेजुएलाले होइन, कोलम्बियाले आपूर्ति गर्छ।

दोस्रो प्रश्न हो– ट्रम्पले भेनेजुएलाको शासन कसरी चलाउने योजना बनाएका छन्? साँच्चै उनी भेनेजुएलाको शासन चलाउने पक्षमा छन् भने त्यहाँ उनले सैनिक उतार्नुपर्ने हुन्छ। र, यदि ‘रिमोट कन्ट्रोल’ मार्फत त्यहाँको शासन चलाउने उनको योजना हो भने यथार्थले उनलाई चाँडै धक्का दिनेछ। किनकि भेनेजुएलामा देशभर हतियार वितरण गरिएको छ। मदुरोका पूर्ववर्ती ह्युगो चाभेजको नाममा गुण्डागर्दीयुक्त समाजवादी ब्रान्डका समर्थक र मिलिसिया पनि छन्। यदि रुस, चीन र अरु कुनै शत्रु मुलुकले ट्रम्पलाई आफैँले बनाएको दलदलमा फसाउन चाहे भने उनीहरूसँग राम्रो मौका छ।

शनिबार आफ्नो घरमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले आफूले आफैँलाई जिम्मा दिएको काम कति भारी छ र यसमा कति जटिलता छन् भन्नेबारे कुनै चिन्ता व्यक्त गरेनन्। बारम्बार उनले आफ्नो प्राथमिकता भेनेजुएलाको पूर्वाधार ठिक गर्नु भएको बताइरहे। ताकि अत्यधिक तेल निकाल्न सकियोस्। तेल उत्पादनबाट बढेको आम्दानी अमेरिकी कम्पनीहरूलाई क्षतिपूर्ति दिन र भेनेजुएलाको पुनर्निर्माणमा खर्च हुनेछ। अमेरिकी सेनाको संरक्षणबिना अमेरिकी कम्पनीहरूले यो काम कसरी गर्छन्, ट्रम्पले केही पनि बताएनन्।

जे होस्, पश्चिमी गोलार्द्ध र त्यसभन्दा बाहिरका नेताहरू पनि अब सहजै निदाउन सक्ने छैनन्। आफूनो इसारामा चल्ने अतुलनीय सैन्य शक्तिको प्रयोगमा ट्रम्प सहज हुँदै गएका छन्। अन्तर्राष्ट्रिय र अमेरिकाको राष्ट्रिय गरी दुवैखाले कानुनलाई बेवास्ता गर्ने उनका कार्यहरूको नतिजा देखिन समय लाग्नेछ। र, समय लाग्नेछ, भेनेजुएलामा शासन चलाउने उनको योजना देखिन पनि।

जुनसुकै दिशामा गए पनि ट्रम्पको नयाँ विश्व व्यवस्था एउटा यथार्थ हो। यो व्यवस्थामा कुनै ठोस नियम छैन। उनी आफ्ना सहयोगीहरूलाई सम्मान पनि गर्दैनन्, शक्तिको नांगो नाचको उत्सव मनाउँछन्। र, उनको नजर जतिबेला पनि पैसामा हुन्छ। भेनेजुएलाको माटोमुनि अत्यधिक सम्पत्ति छ। ट्रम्प त्यसलाई निकाल्न प्रतिबद्ध छन्। 

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad