राष्ट्रिय स्वतन्त्र पार्टी, काठमाडौँका मेयर बालेन्द्र साह (बालेन) समूह र उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गरेको छ।
रास्वपाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा उम्मेदवार छनोट सिफारिस उपसमिति गठन गरिएको उज्यालो नेपाल पार्टीका नेता जीतराम वाइबाले बताए। सात सदस्यीय समितिमा रास्वपाबाट दुई, काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन)को तर्फबाट दुई र उज्यालो नेपाल पार्टीको तर्फबाट दुई जना सदस्य रहने भएका छन्।
उम्मेदवार छनोट सिफारिस उपसमितिको सदस्यमा रास्वपाबाट शिशर खनालको नाम प्रस्ताव गरिएको छ भने अर्को नाम टुंगो लगाउन बाँकी छ।
त्यस्तै, उज्यालो नेपालबाट जीतराम वाइबा र राजु थापाको नाम प्रस्ताव गरिएको छ। बालेनको तर्फबाट सागर ढकाल र सुदिप ढकालको नाम प्रस्ताव गरिएको छ। सदस्यको टुंगो लगाउन बाँकी रहेको जनाइएको छ।
यसअघि समानुपातिक उम्मेदवार छनोटमा विवाद भएको थियो। प्रत्यक्षतर्फ उम्मेदवार सिफारिसमा विवाद नहोस् भनेर उपसमिति गठन गरिएको नेता वाइबाको भनाइ छ। ‘अब विवाद हुँदैन, कार्यदलले विवाद नहुने गरी काम गर्छ,’ उनले भने।
रास्वपा केन्द्रीय समितिको बैठकले उम्मेदवार छनोट सिफारिस उपसमितिलाई अनुमोदन गर्ने जनाइएको छ।
प्रतिनिधि सभा सदस्यको निर्वाचन आगामी फागुन २१ मा हुँदै छ। त्यसका लागि दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाइसकेका छन्।
प्रत्यक्षतर्फ माग ६ गते बिहान १० देखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।
Shares

प्रतिक्रिया