नेपालको वैदेशिक विनिमय सञ्चितिका लागि खतराको घण्टी बजेको छ। नेपाल राष्ट्र बैंकका जिम्मेवार अधिकारीहरूले चाँडोभन्दा चाँडो निर्णय लिएर नेपालको करिब २१ अर्ब डलरको वैदेशिक सञ्चितिको कुशल व्यवस्थापन गर्ने बेला आएको छ। ढिलो भयो भने वैदेशिक विनिमय सञ्चिति अहिलेको मूल्यको ५ प्रतिशतमा झर्ने छ। वैदेशिक विनिमय अमेरिकी डलरको कारण देशको अर्थतन्त्र नयाँ खालको संकटमा फस्ने छ।
यदि तपाईंहरूलाई जानकारी छैन भने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका वरिष्ठ सल्लाहकार एन्टोन कोब्याकोभले २ हप्ताअगाडि इस्टर्न इकोनोमिक फोरममा एक ठूलो बम फोडेका छन्, ‘अमेरिकाले आफ्नो विशाल ऋणको भार मेटाउनका लागि क्रिप्टो र सुनको प्रयोग गरेर प्रणालीलाई रिसेट गर्ने तयारी गरिरहेको छ।’ उनका अनुसार अमेरिकीहरूले सुन र क्रिप्टोकरेन्सीलाई हतियार बनाएर वैदेशिक मुद्रा र सरकारी ऋण पत्रको बजारको नियम बदल्ने प्रयास गरिरहेका छन्।
अमेरिकाको सार्वजनिक ऋण अहिले ३७.४ ट्रिलियन डलर छ। आफ्नो योे ऋणको भार हटाउन उक्त ऋणलाई क्रिप्टोमा हालेर त्यसलाई अवमूल्यन गर्ने र सुनको पुनःमूल्याङ्कन गरेर अमेरिकाले सम्पूर्ण प्रणालीलाई ‘रिसेट’ गर्न खोजेको आरोप कोब्याकोभले लगाएका छन्। यो कदमले केबल क्रिप्टोकरेन्सी प्रयोगकर्तालाई मात्र नभई सम्पूर्ण डलर प्रणालीलाई नै असर गर्नेछ। यसको अर्थ हो– केन्द्रीय बैंकले अमेरिकी ट्रेजरी बिलमा गरेको लगानीको मूल्य पनि घट्दै जानेछ।
एकदमै ख्याल गर्नुपर्ने कुरा त अमेरिकाले गर्न लागेको यो पहिलो रिसेट होइन। पहिला नै उसले दुई पटक फरक रूपमा यसको प्रयोग गरिसकेको छ।
केही महिनाअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘जिनियस एक्ट’मा हस्ताक्षर गरेका छन्। जिनियस एक्ट ‘स्टेबलक्वइन’को नियामनकारी ढाँचा बनाउने कानुन हो। ‘स्टेबलक्वइन’ एक प्रकारको क्रिप्टोकरेन्सी हो र यसले वास्तविक सम्पत्ति जस्तै डलरसँग पेग गरेर आफ्नो मूल्य स्थिर राख्छ।
आवरणमा अमेरिकाले यसलाई एक नयाँ डिजिटल संसार अँगालेको र अमेरिकालाई प्रतिस्पर्धी बनाउने एक नवीन कदमको रूपमा उभ्याउन खोजेको छ। तर, यसको वास्तवकिता सतहमा देखिएको जस्तो किमार्थ होइन। नजिकबाट हेर्दा यो अमेरिकाले आफ्नो सार्वजनिक ऋणको पहाड सम्याउन ‘स्टेबलक्वइन’लाई जीवनरेखाको रूपमा प्रयोग गर्ने आधार र कानुनी ढाँचा तयार गरेको देखिन्छ। अहिलेको ऋणको बोझ हटाउन अब परम्परागत अर्थशास्त्रीय उपायबाट सम्भव छैन। ‘स्टेबलक्वइन’ संसारभरिका अर्थतन्त्रको वित्तीय नियन्त्रणको लागि ‘ट्रोजन हर्स’ पनि हुन सक्छ, जसले संसारभरका अर्थतन्त्रमाथि अमेरिकी नियन्त्रण झनै बलियो बनाउने छ।
अमेरिकाले आफ्नो ऋण ३७ ट्रिलियन डलरजति पुगेपछि अब ‘खरिदकर्ताको सङ्कट’को सामना गरिरहेको छ। जस्तै चीन, जापान र अन्य धेरै सजग केन्द्रीय बैंकहरूले उनीहरूले खरिद गरेको सरकारी ‘ट्रेजरी’हरू बेचेर सुनमा लगानी गरिरहेका छन्। जुन डलरमाथिको विश्वास घट्दै गएको सङ्केत मात्र होइन, भोलि डलर क्र्यास भयो वा अमेरिकाले डलर सिस्टमको रिसेट गर्यो भने आफ्नो सम्पत्ति अवमूल्यन हुनबाट बच्ने तरिका पनि हो।
वास्तवमा, कोब्याकोभले भनेअनुसार अमेरिका डलरमाथिको घट्दो विश्वासको समस्या समाधान गर्न निकै आतुर छ। यो अमेरिकाको ट्रेजरी विभागको लागि एउटा ठूलो समस्या हो किनभने जति कम खरिदकर्ता हुन्छन्, उति बढी प्रतिफल दिनुपर्ने हुन्छ। यसको अर्थ हो– डलर प्रणालीलाई टिकाउन अमेरिकाले बढी ब्याज तिर्नुपर्छ। अमेरिकी ऋणपत्रको ब्याज निरन्तर बढ्नुको कारण यही नै हो। यस्तो अवस्थामा रम्परागत आर्थिक उपक्रमका भरमा अमेरिकालाई ऋण व्यवस्थापन गर्न र मुद्रास्फीतिको माध्यमबाट सार्वजनिक ऋण घटाउन कठिन हुन्छ। यसले अमेरिकाको सार्वजनिक ऋण सङ्कटलाई अझै गहिर्याउँछ।
यस्तो समस्याको समाधान अमेरिकीहरू ‘स्टेबलक्वइन’को भरमा गर्ने प्रयत्न गर्दैछन्। यी डिजिटल क्वइनहरू अमेरिकी ट्रेजरीहरूद्वारा एक क्वइनमा एक डलरको अनुपातमा निर्धारण गरेर जोडिएका हुन्छन्। जसले अमेरिकाले ऋणको लागि कृत्रिम माग सिर्जना गर्नेछ। यसले अमेरिकालाई डलरमा आधारित वित्तीय व्यवस्था टिकाइराख्न मद्दत गर्छ।
यो कार्य अमेरिकाले कसरी गर्छ भन्ने विषयमा ध्यान दिन आवश्यक छ। अमेरिकाले यी ‘स्टेबलक्वइन’को प्रयोगलाई नीतिगत नियमन वा नयाँ सुरक्षित डिजिटल डलरको रूपमा प्रवद्र्धन गरेर बढावा गर्ने काम तत्कालै सुरु गर्दैछ। विदेशी लगानीकर्ता, संस्था, र खुद्रा लगानीकर्ताहरूले पनि ठूलो मात्रामा यी ‘स्टेबलक्वइन’ राख्ने छन्। फेरि पनि अमेरिकी ‘ट्रेजरी’ बिल एक–एकको अनुपातमा निर्धारित हुन्छन्। यसले एक प्रकारको नयाँ ‘क्लाउड–आधारित ट्रेजरी बजार’ जस्तो निर्माण गर्ने छ। जुन आवरणमा एक भुक्तानी प्रणालीको रूपमा लुकाइएको हुनेछ, जसले गर्दा अमेरिकी सार्वजनिक ऋणको मागको समस्या समाधान गर्नेछ।
कोब्याकोभले अमेरिका ‘स्टेबलक्वइन’लाई हतियारको रूपमा प्रयोग गर्न षड्यन्त्र गरिरहेको छ किन भनेका हुन् त? जब पर्याप्त अमेरिकी सार्वजनिक ऋण यी ‘स्टेबलक्वइन’मा टोकनाइज हुन्छ, तब अमेरिकीहरूले त्यसलाई डलरसँग ‘डि–पेग’ गर्छन्। अथवा अवमूल्यन ज्यादै धेरै मात्रामा गर्नेछन्। त्यसबेला एक ‘स्टेबलक्वइन’ एक अमेरिकी डलर बराबर नभई एक ‘स्टेबलक्वइन’ जम्मा पाँच सेन्ट बराबरको मात्र हुन सक्छ। यस्तो अवस्थामा स्टेबलक्वइन हुनेहरूले नोक्सान बेहोर्नेछन्। यसरी स्टेबलक्वइनको सम्पत्ति ९५ प्रतिशतले घट्नेछ। अमेरिकाले ‘डिफल्ट’ भएको नदेखिनेगरी नै आफ्नो ऋणको भारलाई नाटकीय रूपमा घटाउने योजना गरिरहेको छ।
यहाँ अर्को एउटा महत्त्वपूर्ण कुरा छ। यदि राष्ट्र बैंक कुनै क्रिप्टोकरेन्सीमा प्रवेश गरेकै छैन भने पनि हाम्रो केन्द्रीय बैंक समस्याबाट मुक्त छैन। अमेरिकी ट्रेजरी बिलको अवमूल्यनले विदेशी केन्द्रीय बैंक र हेज फन्ड व्यवस्थापन गर्ने संस्था, वित्तीय संस्थाहरूलाई धेरै ठूलो असर गर्नेछ। किनभने अहिले धेरै प्रतिफल दिने भनेर खरिद गरेको टे्रजरी बिलको मूल्य रातारात घट्ने छ। यदि यस्तो हुनै सक्दैन भन्ने लाग्छ भने त्यो तपाईंको अज्ञानता वा अमेरिकाप्रतिको अन्धभक्ति मात्र हो।
कोब्याकोभले त विश्वव्यापी मञ्चमा यसको औपचारिक खुलासा मात्र गरेका हुन्। अमेरिकाले १९३५ फ्र्यांकलिन डिलानो रुजबेल्ट र १९७१ मा रिचर्ड निक्सनले यस्तो गरिसकेको दृष्टान्त छ। रुजबेल्टले सुनको मूल्य २०.६ डलर प्रतिऔंसबाट ३५ डलर प्रतिऔंसमा पुनर्मूल्यांकन गरे, जसले डलर राख्ने सबैको क्रय शक्ति ४१ प्रतिशतले घट्यो। निक्सनले १९७१ मा डलरको बदलामा सुन दिन नसक्ने घोषणा गरे। त्यसबेला सम्पूर्ण विश्वले त्यसको लागत बेहोरे तर अमेरिकाले भने आफ्नो वित्तीय समस्या समाधान गरेको थियो। अमेरिकीहरू ‘हाम्रो डलर तिम्रो समस्या’ भन्ने गर्छन्। त्यसपछिका १० वर्षमा संसारका केन्द्रीय बैंकहरूले अमेरिकी मुद्रास्फीतिका कारण आफ्नो आधा क्रयशक्ति गुमाए।
पुटिनका सल्लाहकारले अमेरिकाले त्यही कार्य फेरि अर्कै रूपमा दोहोर्याउने योजना बनाएको खुलासा गरेका हुन्। इतिहास हेर्दा अमेरिकाको नियतमाथिको यो आशंका निराधार पक्कै पनि होइन।
त्यसैले विगतका अनुभवबाट पाठ सिक्दै जस्तोसुकै अवस्थामा पनि ‘सुन’ वा अन्य बहुमूल्य धातुजस्ता अन्तर्निहित सम्पत्तिले नै वास्तविक विनिमय धन सञ्चिति, शक्ति र यसमा आफ्नो पूर्ण नियन्त्रण हुन्छ भनेर बुझ्नुपर्छ। तर जुनजुन केन्द्रीय बैंकसँग स्टेबलक्वइन वा अमेरिकी मुद्रा छ, जो अन्तर्निहित सम्पत्तिसँग जोडिएको छ, त्यस्ता सम्पत्ति भएका देश पूर्ण रूपमा कमजोर हुनेछन्।
अमेरिकाले सुनको पुनर्मूल्याङ्कन गर्ने योजना बनाइरहेको छ। अमेरिकी अर्थमन्त्री स्कट बेसनले केही समयअगाडि ‘ब्यालेन्स सिट’को सम्पत्तिलाई मौद्रीकीकरण गर्न सुनको पुनर्मूण्ल्याङ्कनको बारेमा गरेको कुराले प्रस्टाउँछ। साथै एक महिनाअघि फेडरल रिजर्भले सुनको पुनर्मूल्याङ्कन र विदेशी केन्द्रीय बैंकहरूको सार्वजनिक ऋण तिर्न यसको प्रयोग कसरी गर्न सकिन्छ भन्ने बारेमा एउटा अनुसन्धान टिप्पणी सार्वजनिक गरेको थियो। साथै बाइडेनको कार्यकालमै अमेरिकी ऋण तिर्न नसक्ने घोषणा गर्नेबारे विचार विमर्श पनि भएको थिए। अहिले अमेरिकीहरूले दुई विकल्पमा विचार गरिरहेको बुझिन्छ।
पहिलो, सार्वजनिक ऋणलाई ‘स्टेबलक्वइन’मा हाल्ने र पर्याप्त क्वइन बिक्री भएपछि त्यसलाई अवमूल्यन गर्ने। दोस्रो, सुनको आधिकारिक पुनर्मूल्याङ्कन गर्ने। ताकि अमेरिकी प्रणालीमा विश्वास फर्काउन सकियोस्।
अहिले संयुक्त राज्य अमेरिका आफ्नो सार्वजनिक ऋण क्यान्सल पनि गर्ने तर डिफल्ट पनि नभएको जस्तो देखिने उपाय अपनाउँदै छ। पहिले रुजबेल्ट र पछि निक्सनले गरेको प्रयोगलाई ट्रम्प तेहेर्याउन चाहन्छन्।
अर्कोतर्फ ‘ब्रिक्स’ समूहले नयाँ वित्तीय प्रणालीको केन्द्रमा आफूलाई स्थापित गर्न चालेको कदममा ४० प्रतिशत सुन र बाँकी ६० प्रतिशत स्थानीय मुद्राले ब्याक गर्ने भनेका छन्। कोब्याकोभले भनेजस्तो विश्व नयाँ प्रकारको वित्तीय प्रणालीमा जाँदै मात्र छैन, यो ‘फिएट मनी’बाट बाहिर निस्केर कमोडिटी र औद्योगिक उत्पादनले अर्थात रियल इकोनोमीले ब्याक गरेको नयाँ मौद्रिक प्रणालीमा संक्रमणतर्फ अग्रसर छ।
अमेरिकी कदम र ब्रिक्सको कदमले विकासशील देशको वैदेशिक मुद्रा सञ्चितिलाई नराम्ररी प्रभाव पार्न सक्छ। त्यसैले अहिले नै विकासशील देशहरूले नोक्सान कम गर्न ठोस कदम चाल्न जरुरी छ।
विकासशील देशहरूले तीन आधारमा विदेशी मुद्रा सञ्चितिको प्रबन्धन गरेका हुन्छन्। यसमा सबैभन्दा महत्त्वपूर्ण प्राथमिकता सुरक्षा हुन्छ। यसमा कम जोखिम भएका सम्पत्ति र बलियो सरकारको सार्वभौमिक बन्ड पर्छन्। बन्डमध्ये अमेरिकी ट्रेजरी पहिलो प्राथमिकतामा पर्दछ। तर, अब यो सुरक्षाको हिसाबले सबैभन्दा जोखिममा छ।
दोस्रो तरलताको सिद्धान्त हो, जुन अति छोटो समयमै सजिलैसँग क्यास गर्न सकियोस्। यसको उद्देश्य आर्थिक संकटको समयमा राष्ट्रिय मुद्राको स्थिरता कायम राख्न वा आपतकालीन भुक्तानीहरूको लागि हो। यसमा अमेरिकी डलर एक बलियो विकल्प हो। यसमा डलरपछिका अन्य मुद्रा र सुनको विकल्प पनि छन्।
तेस्रो हो– प्रतिफल। यसमा अहिले सबैभन्दा बढी प्रतिफल दिने भनेको अमेरिकी ट्रेजरी बन्डले नै हो। तर, अब अमेरिकी डलर सबैभन्दा धेरै जोखिममा छ। कुनै पनि समयमा ९५ प्रतिशतले आफ्नो वैदेशिक विनिमय सञ्चितिको मूल्य घट्ने छ। अहिले भएको करिब २१ ऋर्ब डलरको करिब ६० प्रतिशत अमेरिकी डलरमा छ। यसको मतलब हो– करिब १२.६ अर्ब डलरको मूल्य ६३ करोडमा झर्ने छ। यस्तोमा अल्पकालमा प्रतिफलको लोभमा मध्यमकाल र दीर्घकालमा सबै सम्पत्ति गुमाउने जोखिम हुन्छ।
त्यसकारण नेपालजस्ता विकासशील देशले करिब तीन महिनाको आयातको लागि पुग्ने र ६ महिनाभित्र अल्पकालीन बाह्य ऋण तिर्न चाहिने अमेरिकी डलरबाहेक सबै वैदेशिक विनिमयको विविधीकरण गर्न आवश्यक छ।
त्यसका लागि केही सुनचाँदीमा, केही सबैभन्दा कम सार्वजनिक ऋण र जीडीपी अनुपात भएको जर्मन बन्ड, युरो र चिनियाँ युआन जस्ता मुद्रामा कारोबार हुने बन्ड तथा सम्पत्तिमा लगानी गर्न आवश्यक छ। आफ्नो सबै दाउ अमेरिकामा मात्रै राख्दा भविष्यमा धेरै ठूलो घाटा हुनसक्छ। यसबारे तत्कालै सोच्न र काम गर्न आवश्यक छ।
(भीम भुर्तेल स्नातकोत्तर तहमा अन्तर्राष्ट्रिय अर्थराजनीति र विकास अर्थशास्त्र प्राध्यापन गर्छन्)
Shares

प्रतिक्रिया