विचार


भाजपा र चिनियाँ कम्युनिस्ट पार्टीमा झैँ योजनाबद्ध नेता उत्पादन गर्न लिडरसिप ‘ब्यांक’

गुट, पहुँच वा भाग्यको सट्टा योग्यताको सम्मान गर्ने विधि
भाजपा र चिनियाँ कम्युनिस्ट पार्टीमा झैँ योजनाबद्ध नेता उत्पादन गर्न लिडरसिप ‘ब्यांक’

आशिष रेग्मी
साउन १०, २०८२ शनिबार १०:४०, काठमाडौँ

नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्य तथा पार्टीका निर्वाचन विभाग प्रमुख निरज आचार्यले लिडरसिप ब्यांकको अवधारणाबारे आफ्नो राय राखे। त्यसपश्चात् लिडरसिप ब्यांकको विषयमा बहस सिर्जना भएको छ।

केन्द्रीय सदस्य आचार्यले लिडरसिप ब्यांकको आवश्यकतालाई दर्शाउन ‘इन्ट्री र एक्जिट’को नीतिलाई आधार बनाएका थिए। पार्टीले इन्ट्रीको लागि एकदमै सहज र उचित व्यवस्था गरे पनि एक्जिट अर्थात बहिर्गमनका सन्दर्भमा त्यति सोचेको देखिएन। एक्जिटको उचित प्रबन्ध नहुँदा नयाँ पुस्ताको प्रश्न सधैँ के रहने भयो भने एकपटक पद प्राप्त गरिसकेपछि सधैँ पदमा बसिरहन मिल्छ कि उचित मूल्यांकनका आधारमा विभिन्न विकल्पहरूमा जानुपर्ने हो?

उत्तर हो- कार्यकर्ताको मूल्याङ्कनको चुस्त विधि बनाउनु पर्दछ। उसको सक्रियता, ज्ञान र योग्यताका आधारमा विकास, बढुवा र कामको क्षेत्र परिवर्तन वा एग्जिट हुने संरचनाको विकास गर्नुपर्दछ। एक्जिटका लागि केन्द्रीय सदस्य आचार्यले निम्न दुई विकल्प पेस गरेका छन् :

पहिलो, सल्लाहकार परिषद्ः एकपटक केन्द्रीय कमिटी वा सो सरहको कमिटीमा कार्य गरिसकेका र पार्टीमा योगदान गर्न सक्ने अनुभवी कमरेडहरूलाई सल्लाहकार परिषदमा समावेश गर्ने। सल्लाहकार परिषद्को सदस्यहरूको संख्यामा कडाइका साथ सीमा नतोके पनि गुणस्तरीय सहभागिता सुनिश्चित भने गर्ने।

सल्लाहकार परिषद्को बैठक वर्षमा कम्तीमा एकपटक अनिवार्य रूपमा बस्ने, जसमा पार्टीका प्रमुख राजनीतिक विषयवस्तुहरूमाथि विमर्श गरी महत्वपूर्ण सुझावसहितको प्रतिवेदन तयार पार्ने र सो प्रतिवेदन केन्द्रीय कमिटीमा छलफलका लागि पेस गर्ने। यस प्रबन्धले केन्द्रीय कमिटीमा नरहेका तर अझै पनि योगदान दिन सक्ने वरिष्ठ कमरेडहरूलाई संस्थागत रूपमा आबद्ध गर्ने अवसर सिर्जना गर्दछ र सल्लाहकार परिषदमा काम गर्नको लागि आकर्षण र गरिमा दुवै बढाउनेछ।

दोस्रो, नेसनल काउन्सिलः राष्ट्रिय महाधिवेशन प्रतिनिधि निश्चित कार्यको लागि छनोट भएको हुन्छ। यसलाई नै सक्रिय बनाउने योजना पार्टी पंक्तिमा त्यति सकारात्मक रहेको अनुभूति हुन सकेको छैन। राष्ट्रिय परिषद् अर्थात नेसनल काउन्सिललाई केन्द्रीय कमिटीभन्दा एक तिहाई ठूलो बनाउने योजना बैठकमा पेस भएको थियो। यसमा केन्द्रीय कमिटीमा समेट्न नसकेका कमरेडहरू, ‘लिडरसिप ग्रुम’का लागि सूचीकृत गर्नुपर्ने कमरेडहरूलाई राखेर लिडरसिप बैंकका रूपमा स्थापित गर्ने योजना प्रस्तुत भयो। जहाँ जुन ठाउँमा जस्तो किसिमको नेतृत्व आवश्यक पर्छ, यस लिडरसिप ब्यांकबाट झिकेर लिने व्यवस्था साँच्चै नै प्रगतिशील सोचको नमुना हो।

आखिर के हो त लिडरसिप ब्यांक?

लिडरसिप ब्यांक एउटा प्रतीकात्मक प्रयोग हो। नेतृत्व बैंक भन्नाले राजनीतिक संगठनभित्र रहेका क्षमतावान्, प्रतिबद्ध र वैचारिक रूपमा परिपक्व व्यक्तिहरूको परिचय, संरक्षण, विकास र प्रयोग गर्न बनाइएको प्रणाली हो। यो नेतृत्व प्रतिभाको सञ्चय हो, जसलाई आवश्यकता अनुसार प्रयोग गर्न सकिन्छ।

यस अवधारणाको मुख्य सन्देश हो- ‘नेता आकस्मिक रूपमा हुँदैनन्, निर्माण गरिन्छन्।’

नेतृत्व बैंकमार्फत निम्न कार्यहरू गर्न सकिन्छ:

  • पार्टीभित्र भविष्यका सम्भावित नेताको पहिचान
  • तिनलाई वैचारिक र कार्यगत प्रशिक्षण
  • जिम्मेवारीमार्फत अनुभव संकलन
  • उपयुक्त समयमा नेतृत्वको मोर्चामा अघि सार्ने।

राजनीतिक दलभित्र नेतृत्व बैंक संस्थागत गर्नु सैद्धान्तिक नारा मात्र होइन। यो व्यवस्थित र योजनाबद्ध प्रक्रिया हो जसका लागि स्पष्ट नीति निर्माण गर्न आवश्यक हुन्छ। पार्टीको विधानमै यसको संरचनाको बारेमा स्पष्टरूपमा परिभाषा गरिनुपर्दछ। यसका लागि नेतृत्व विकास समिति जस्तो विशेष संयन्त्रको आवश्यकता पर्छ जसले योग्य कार्यकर्ताहरूको खोज, मूल्याङ्कन र व्यवस्थापनको कार्य सम्पादन गर्छ।

आधुनिक प्रविधिको प्रयोग गर्दै डिजिटल क्याडर प्रोफाइलिङ प्रणाली तयार गर्न सकिन्छ जसमा प्रत्येक कार्यकर्ताको वैचारिक योग्यता, कार्यक्षमता, अनुभव र संगठनप्रतिको योगदान अभिलेख हुन्छ। साथै, मूल्याङ्कनका लागि पनि केही ठोस सूचकहरू निर्धारण गर्नुपर्छ। यस्तै, ती कार्यकर्ताहरूलाई समय–समयमा जिम्मेवारी प्रदान गर्ने प्रणालीको विकास गर्नुपर्छ जसले उनीहरू गुट, भाग्य वा पहुँचको आधारमा होइन योग्यता र योगदानका आधारमा अघि बढ्न सकून्।

विश्वका विभिन्न राजनीतिक दलहरूले लिडरसिप ब्यांकसँग मिल्दोजुल्दो प्रणाली अपनाएका पाइन्छ।  यसले दीर्घकालीन नेतृत्व विकासलाई संस्थागत बनाएको देखिन्छ। उदाहरणका रूपमा भारतीय जनता पार्टीले 'ट्यालेन्ट पुल' प्रणालीमार्फत युवा नेताहरूको खोजी, प्रशिक्षण र संगठनमा परिचालन गर्दै आएको छ। उनीहरूकोमा लिडरसिप स्कुल र नीति प्रशिक्षण कार्यक्रमहरूको महत्त्वपूर्ण भूमिका रहेको छ।

चीनको कम्युनिस्ट पार्टी अझ अगाडि छ। त्यहाँ पार्टी स्कुलमा प्रशिक्षण प्राप्त गरेका कार्यकर्ताहरूको मूल्याङ्कन, विकास र जिम्मेवारी व्यवस्थापन तीनै पक्षको समन्वयमा गरिन्छ जसले दक्ष र योग्य नेतृत्व उत्पादन गर्छ। सिंगापुरको पिपुल्स एक्सन पार्टीले सत्ता हस्तान्तरणको सम्पूर्ण व्यवस्थालाई नै नेतृत्व ब्यांकको अभ्यासमार्फत संस्थागत गरेको छ जसमा योग्य र प्रतिबद्ध व्यक्तिहरूलाई संसद हुँदै मन्त्रिपरिषद् र अन्ततः प्रधानमन्त्रीसम्म पुर्‍याउने प्रक्रिया स्पष्ट रूपमा तय गरिएको हुन्छ।

यस्तै, भियतनामको कम्युनिस्ट पार्टीले पनि राजनीतिक क्याडर योजनामार्फत भविष्यका नेताहरूको सूची निर्माण गरी सोही आधारमा जिम्मेवारी वितरण गर्ने अभ्यासलाई संस्थागत बनाएको छ। यी सबै अभ्यासहरूले देखाउँछन् कि नेतृत्व आकस्मिक होइन, योजनाबद्ध प्रक्रियाबाट उत्पादन गर्न सकिने विषय हो।

नेपालका राजनीतिक दलहरू, विशेष गरी परिवर्तनको एजेन्डा बोकेका वामपन्थी शक्तिहरूका लागि लिडरसिप ब्यांक पपुलिस्ट अवधारणा नभई आजको बदलिँदो समाजमा राजनीतिक आवश्यकता हो। मूलधारे राजनीतिक पार्टीभित्र कार्यकर्ता प्रशस्त छन्, तर तिनको क्षमताअनुसार व्यवस्थापन हुन सकिरहेको छैन। प्रतिबद्धता छ तर दीर्घकालीन योजनाको अभाव भएको महसुस हुन्छ। वैचारिक स्पष्टता छ तर त्यसलाई व्यवहारमा उतार्ने निरन्तर तालिम र अभ्यासको कमी छ। राजनीतिक दलहरूमा अहिले देखिएको समस्या नेतृत्वको अभाव होइन नेतृत्व व्यवस्थापनको संकट हो। यस्ता समस्या समाधान गर्न लिडरसिप ब्यांकले महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

लिडरसिप ब्यांक केवल वैचारिक अवधारणा मात्र होइन, यो एक संगठनात्मक नवप्रयोग हो जसले नेतृत्व निर्माणलाई संस्थागत बनाउँछ। यसले गुट, पहुँच वा भाग्यको सट्टा योग्यताको सम्मान गर्छ र पार्टीभित्र उत्तराधिकार सुनिश्चित गर्ने आधार तयार पार्छ। यदि नेपाली राजनीतिक दलहरूले नेतृत्व ब्यांकको अवधारणालाई आत्मसात् गर्न सके भने नेतृत्व आकस्मिक रूपमा होइन, योजनाबद्ध रूपमा उत्पादन हुनेछ। यस्तो प्रणालीले पार्टीको भविष्य मात्र होइन समग्र राष्ट्रको राजनीतिक स्थायित्व र विकासको दिशामा पनि गहिरो प्रभाव पार्न सक्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad