विचार


इरानको भविष्यबारे यस्तो छ खामेनीको योजना

पछि हट्ने छैनन् खामेनी, युद्ध र शान्ति दुवै चाहँदैनन्
इरानको भविष्यबारे यस्तो छ खामेनीको योजना

भाली नस्र
असार १३, २०८२ शुक्रबार २०:१४,

एक हप्ता लामो इजरायली बमबारीपछि इरानी आणविक केन्द्रहरूमा गत सप्ताहन्त अमेरिकाले गरेको आक्रमण इरानका लागि एउटा महत्त्वपूर्ण घुम्ती बनेको छ। यो द्वन्द्वमा वासिङ्टनको संलग्नता १९७९ मा स्थापना भएको इस्लामिक गणतन्त्रले भोगेको सबैभन्दा ठूलोमध्येको एक चुनौती हो। र, मुलुकका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीका लागि पनि परीक्षाको घडी हो, जसले ३६ वर्ष सत्तामा रहँदा पश्चिमसँग शत्रुता कायम राख्दै आएका छन्।

अब इरानको परमाणु कार्यक्रम र इजरायलसँगको नाजुक युद्धविरामको भविष्य दुवै उनको हातमा छ। र, गम्भीर खतराका बाबजुद खामेनी पछि हट्ने सम्भावना छैन।

इरानका शासकहरू युद्धसँग अपरिचित छैनन्। राष्ट्रपति, विदेशमन्त्री सहित मुलुकका थुपै्र नेताहरू १९८० को दशकमा इराकसँगको लामो लडाइँका भुक्तभोगी सैनिक हुन्। त्यो युद्धमा इरानले अर्बौं डलर रकम र लाखौँ ज्यानको क्षति बेहोरेको थियो।

आयातोल्लाह खामेनी १९८१ देखि १९८८ सम्म इरानको राष्ट्रपति थिए। त्यसपछि उनी १९८९ मा सर्वोच्च नेता बने। त्यो क्रूर युद्धको पाठले उनको नेतृत्वको सत्ताको विश्व दृष्टिकोण र राष्ट्रिय सुरक्षा नीति तयार गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ।

खामेनीको नजरबाट हेर्दा इरान अमेरिका र उसका सहयोगीहरूसँग अस्तित्वको संघर्षमा छ। सत्तामा आएदेखिका दशकहरूमा उनले आन्तरिक दमन, आणविक क्षमता विस्तार र हमास तथा हेजबुल्लाहजस्ता मिलिसियाहरूलाई सहयोग गर्ने नीति अपनाउँदै आएका छन्। यी सबै नीतिको एउटै उदेश्य थियो– अमेरिका र इजरायलविरुद्धको संघर्षमा जित। २०१५ मा इरानले ओबामा प्रशासनसँग गरेको आणविक सम्झौताबाट २०१८ मा ट्रम्प बाहिरिएपछि वासिङ्टनप्रति खामेनीको अविश्वास झनै बढेको थियो।

यो लडाइँमा इरानले आफ्नो कमजोरीलाई राम्ररी बुझेको छ। अत्याधुनिक अमेरिकी हतियारका सामु इरानी सेना निकै कमजोर देखिन्छ। अन्तर्राष्ट्रिय नाकाबन्दीका कारण उसको अर्थतन्त्र नराम्ररी थला परेको छ। त्यसमाथि पछिल्लो समय पश्चिमविरुद्ध इरानी सत्ताको निरन्तरको प्रतिरोध र आन्तरिक रूपमा दमनकारी नीतिको इरानी जनताले विरोध गरेका छन्। अमेरिकाले पनि यो क्षेत्रमा आफ्नो बलियो उपस्थिति कायम राखेको छ। इरानवरिपरिका अनेकौँ शिविरहरूमा उसले हजारौँ सैनिक तैनाथ गरेको छ।

इतिहासलाई हेर्ने हो भने आयातोल्लाह खामेनी पछि हट्ने छैनन्, आत्मसमर्पणको त कुरै छाडौँ। अहिलेलाई भने उनले इजरायलसँग युद्धविराम स्वीकार गरेका छन्। तर, अमेरिकी र इजरायली आक्रमणको सामना इजरायलले डटेर गरेकोमा विश्वस्त भएकाले मात्रै खामेनीले युद्धविराम मानेका हुन्। विगतमा पनि आवश्यक पर्दा उनले विरोधीलाई छुट दिएका छन्। २०१५ को आणविक सम्झौता र अमेरिकासँगको पछिल्लो वार्ता, दुवैपटक इरान आर्थिक दबाबलाई कम गर्न वार्तामा बसेको हो।

इरानको बाटो पूरै बदल्ने सम्झौता गर्न खामेनी इच्छुक छैनन्। उनी त सम्झौताका लागि खुला देखिन पनि हिच्किचाइरहेका छन्। किनकि त्यसलाई अमेरिकाले कमजोरीको रूपमा व्याख्या गर्ने विश्वास उनलाई छ। 

‘अमेरिका भनेको कुकुरजस्तै हो,’ उनले दस वर्षपहिले आफ्ना सल्लाहकारहरूको बैठमा भनेका थिए, ‘तिमी पछि हट्यौ भने त्यसले तिमीलाई झम्टिन्छ। तर, तिमीले उसलाई झम्ट्यौ भने ऊ तर्सेर भाग्नेछ।’

त्यसैले खामेनीले एउटा यस्तो सन्तुलन कायम गर्न खोजेका छन्, जसलाई संक्षेपमा भन्न सकिन्छ, ‘न युद्ध, न शान्ति।’ उनी अमेरिकासँग द्वन्द्व चाहँदैनन्, न त सम्बन्ध सामान्यीकरण गर्न नै। उनको चाहना के हो भने अमेरिकाले इरानलाई नियन्त्रण गर्न छाडोस्, उसको अर्थतन्त्रमाथिका प्रतिबन्ध हटाइदेओस् र इरानलाई क्षेत्रीय महाशक्तिको हैसियत हासिल गर्न देओस्।

खामेनीलाई विश्वास छ, समयसँगै इरानले यो लक्ष्य हासिल गर्न सक्छ। उनको विचारमा इरानको दृढ संकल्प कायम रहने हो भने वासिङ्टन र इजरायलको युद्धको भोक अन्त्य हुनेछ। सोही कारण खामेनीको सत्ताले दशकौँदेखि धैर्य र सहनशीलतामा आधारित सैन्य रणनीति अपनाउँदै आएको छ। यसबाट उनले इरान–इराक युद्धमा सिकेको पाठ अझ स्पष्ट हुन्छ।

१९८० मा इराकले अचानक आफ्नो छिमेकी इरानमाथि आक्रमण गर्‍यो। दक्षिणपश्चिमी इरानको हजारौँ किमि क्षेत्र कब्जा गर्‍यो। तर, दुई वर्षपछि नै आफ्नोभन्दा राम्रो हतियार भएको इराकी सेनालाई गुरिल्ला युद्ध अनि एकैठाउँ ठूलो संख्यामा सैनिक पठाएर गरिने युद्धका बलमा गुमेको अधिकांश भूमि इरानले फिर्ता लियो। यसबाट खामेनी र उनका दौँतरीहरूले थाहा पाए– आफूभन्दा बलियो शत्रुलाई हराउन इरान सक्षम छ। परिस्थिति प्रतिकूल हुँदा पनि।

२००३ मा अमेरिकाले इराकमाथि हमला गर्दा इरानले त्यही सबकका आधारमा प्रतिक्रिया जनायो। इराकपछि अमेरिकी आक्रमणको पालो इरानकै हो भन्नेमा ढुक्क भएर खामेनीले जर्नेल कासिम सुलेमानीलाई अराजकताको फाइदा उठाउने र इराकमा विद्रोह गराएर अमेरिकालाई दलदलमा फसाइराख्ने जिम्मेवारी सुम्पिए। सुलेमानीले इराकभर इरानको प्रभावमा चल्ने समूहहरूको सञ्जाल बनाए। जसमा उनले इराकी नेताहरूलाई सामेल गर्नुका साथै अमेरिकी सेनामाथि हमला गर्न सिया मिलिसियाहरूलाई परिचालन गरे। त्यो रणनीतिले काम गर्‍यो। एकदमै लामो र झञ्झटिलो गृहयुद्धपछि अमेरिकाले २०११ सम्ममा अधिकांश सेना इराकबाट फिर्ता बोलाइसकेको थियो। तिनै सुलेमानी २०२० मा अमेरिकी ड्रोन हमलामा मारिए। 

हालैका वर्षहरूमा अमेरिकी वा इजरायली आक्रमणका लागि तयारी गर्ने पर्याप्त समय इरानसँग थियो। उदाहरणका लागि निकै गहिरो सुरुङभित्र पुर्‍याइएको फोर्डो आणविक केन्द्र अमेरिकी बंकर बस्टर बमबाट जोगिएको हुनसक्छ। ठूलो लडाइँले ज्यादा खतरा पैदा गर्ने थियो, खासगरी इरानी अर्थतन्त्र कमजोर र जनता बेचैन भएको बेलामा। तर, अहिले इरानले युद्धकालीन आर्थिक कठिनाइ झेल्न सक्छ र जनताको आक्रोश विदेशी आक्रमणकारीतर्फ सोझिनेछ भन्ने निष्कर्ष सायद तेहरानले निकालेको हुनुपर्छ।

यही हिसाबलाई दिमागमा राखेर आफू पराजित नभएको देखाउन खामेनीले बाध्य महसुस गरे। त्यस्तै, उनी वासिङ्टनले बलप्रयोग गरेर आफ्नो लक्ष्य हासिल गर्न नसक्ने पुष्टि गर्न पनि चाहन्छन्। चाहे त्यो लक्ष्य सत्ता परिवर्तन होस् या इरानको आणविक कार्यक्रम नष्ट गर्ने नै किन नहोस्। इरान निरोधकको खोजीमा छ, तनाव चर्काउने उपायको खोजीमा होइन। कतारस्थित अमेरिकाको अल उदेइद हवाइ अड्डामा उसले प्रहार गरेको क्षेप्यास्त्रको मात्रा र समय दुवै सावधानीपूर्वक छनोट गरिएको देखिन्छ। जसको जानकारी इरानी अधिकारीहरूले पहिले नै दिएका थिए। 

यो युद्धविराम भंग भएर फेरि लडाइँ सुरु भयो भने इरानले अमेरिकी जहाजमा आक्रमण गर्ने वा पर्सियन गल्फमा रहेका सैन्य अखडाहरूमा हमला गर्ने अथवा हर्मुज जलसन्धि बन्द गर्ने विकल्प रोज्न सक्छ। इरानले यी कदम चालोस् या नचालोस्, मुख्य कुरा के हो भने इरानसँग त्यसो गर्ने क्षमता छ। जसले सारा संसारलाई झस्काउँछ। उसले यही अनिश्चितताको उपयोग गरेर ऊर्जाको मूल्य र विश्वभरिको व्यवसायलाई प्रभावित पारिरहेको छ।

यदि इरानले हमला गर्‍यो भने त्यसको उदेश्य सम्भवतः इजरायल र अमेरिकालाई सघन युद्धका लागि बाध्य बनाउनु हुनेछ। इरानलाई लाग्छ– लामो र खर्चिलो युद्धले अमेरिका र इजरायलको निर्णायक जितको योजनालाई असफल पार्नेछ। र, बढ्दो खर्च अनि घरेलु विरोधले उनीहरूलाई सम्झौताका लागि बाध्य पार्नेछ। 

ट्रम्पले गरेको शान्तिको आह्वानलाई इरानले युद्धबाट जोगिने कूटनीतिको मौकाका रूपमा हेर्ने छैन। आफूले आणविक हतियार प्राप्त गरेपछि मात्रै इरान वार्ताका लागि तयार हुनसक्छ। 

के यस्तो सघन युद्ध लड्नका लागि खामेनीको सत्तासँग सैन्य क्षमता, आन्तरिक शक्ति र राजनीतिक सहनशीलता छ त? यो कुरा स्पष्ट छैन। यही अस्पष्टता खामेनीको खेलको योजना हो। सवाल इरानसँग अनिश्चितकालसम्म लड्ने क्षमता छ कि छैन भन्ने हुँदै होइन। सवाल हो– इरान वासिङ्टन वा इजरायलले चाहेभन्दा ज्यादा लड्न सक्छ कि सक्दैन? खासगरी यसबीचमा बीचमा आफ्नो आणविक पूर्वाधार पुनर्निर्माण गर्न सक्यो भने अथवा आणविक हतियार नै बनाउन सफलता प्राप्त गर्‍यो भने।

अमेरिकी बमबारीपछि इरानको आणविक कार्यक्रम कति बाँकी छ र आफूसँग भएको प्रशोधित युरेनियमलाई आणविक हतियारमा बदल्न सक्छ कि सक्दैन भन्ने कुरामा धेरै हदसम्म इरानको हिसाबकिताब निर्भर रहनेछ। उसले आफ्नो आणविक कार्यक्रममा बाह्य निरीक्षण चाँडै रोक्न सक्छ।  आणविक अप्रसार सन्धिको हस्ताक्षरकर्ता रहे पनि उसले बाहिरी दुनियाँलाई आणविक कार्यक्रमबारे जानकारी दिने छैन। अमेरिकाले इरानको प्रगति रोक्ने कोसिस गर्न सक्छ। तर, जमिनमा सैनिक नउतारी उसले गर्न सक्ने कामको एउटा सीमा हुन्छ।

र, खामेनी यही कुरामा दाउ लगाइरहेका छन्– मध्यपूर्वमा अर्को ‘सधैँको युद्ध’ को सम्भावना अमेरिकालाई टाढा राख्न पर्याप्त छ। ट्रम्पलाई आफूले युद्धविराम अँगाल्न बाध्य बनाइसकेको विश्वास तेहरानलाई छ।

अहिलेसम्म इरानलाई अमेरिकी नियन्त्रणलाई समाप्त गर्न र वार्ताको टेबलमा बसेर नाकाबन्दीबाट छुटकारा पाउन आफ्नो आणविक महत्त्वाकांक्षा नै पर्याप्त हुने आशा थियो। तर, अब आयातोल्लाह खामेनीले सायद निष्कर्ष निकालिसकेका छन्– आफ्नो लक्ष्य प्राप्त गर्ने एक मात्र उपाय भनेको परमाणु रेखा पार गर्नु हो, सधैँका लागि।

(द न्युयोर्क टाइम्सबाट भाली नास्र इरानी राजनीति र मध्यपूर्वमा अमेरिकी नीतिका विद्वान हुन्)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad