विचार


आगोसँग खेल्ने गल्ती गर्दैछन् संयमित हुन नजानेका पाकिस्तानी सेनापति

इमरान खानलाई सत्ताबाहिर राखेका जर्नेलको मोदीसँग टक्कर
आगोसँग खेल्ने गल्ती गर्दैछन् संयमित हुन नजानेका पाकिस्तानी सेनापति

आयशा सिद्दिका
बैशाख २६, २०८२ शुक्रबार १६:३३,

७ मेका दिन भारतीय विमानहरूले पाकिस्तानका कयौँ स्थानमा क्षेप्यास्त्र प्रहार गरे। जसमा ३१ जनाको ज्यान गएको इस्लामावादको भनाइ छ। त्यो आक्रमण अपेक्षित नै थियो। किनकि त्यसको दुई साताअघि भारतप्रशासित कस्मिरमा २६ जनाको ज्यान जानेगरी भएको आतंकवादी हमलापछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई जिम्मेवार ठहर्‍याउँदै बदला लिइने वाचा गरेका थिए।

भारतीय सैन्य कारबाहीपछि पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले सेनाप्रमुखलाई त्यसको बदला लिने जिम्मा दिए। अहिले दुई मुलुकले एकअर्कालाई ड्रोन तथा क्षेप्यास्त्र प्रहार गरेको आरोप लगाइरहेका छन्। यसले आणविक हतियार भएका दुई छिमेकीबीच पूर्ण युद्धको जोखिम बढाएको छ।

यो घटना यस्तो समयमा भइरहेको छ, जतिबेला भूराजनीतिक गठबन्धनहरू अस्थिर छन्। विगतमा भारत–पाकिस्तान युद्ध हुँदा महाशक्ति मुलुकहरूले उनीहरूलाई नियन्त्रण गर्थे। अहिले कुनै पनि शक्तिले उनीहरूलाई रोक्ने कोसिस गरिरहेका छैनन्।

नयाँ दिल्ली र इस्लामाबादबीच बढ्दो तनाव कम गर्न अमेरिकाले बलियो प्रयास गरिरहेको छैन। डोनाल्ड ट्रम्पले मध्यस्थताको प्रयास गरेका छन्। तर, यस क्षेत्रमा रहेका अमेरिकी अधिकारीहरूले कुनै हतार देखाएका छैनन्। उपराष्ट्रपति जेडी भान्सले त यो आफ्नो चासोको विषय नभएको बताएका छन्। तह लगाउने हेडमास्टर नभएकाले दुई झगडिया केटालाई आपसमा लड्न छाडिदिएको जस्तो स्थिति छ।

साउदी अरब र बेलायतजस्ता अन्य मुलुकले तनाव कम गर्न आग्रह गर्न सक्छन्। तर, त्यसको असर वासिङ्टनले दिएको दबाबजत्तिको हुँदैन। पाकिस्तानमा जनतालाई आफ्नो मुलुकमा आतंकवादी शिविर भएको थाहा समेत छैन। त्यसैले उनीहरू आफूलाई पीडितका रूपमा हेर्छन्। र, भारतविरुद्ध बदलाका लागि कराइरहेका छन्। 

अब जे हुनेछ, त्यो एक व्यक्तिमा निर्भर रहने छ। पाकिस्तानका सेनाप्रमुख जर्नेल असिम मुनिर। पाकिस्तानको रणनीतिक निर्णय प्रक्रियामा शहबाज सरिफ नेतृत्वको निर्वाचित सरकारभन्दा मुनिरको नियन्त्रण ज्यादा छ। र, उनको चिनारी संयम होइन।

पहलगामको आतंकवादी हमलामा पाकिस्तानको हात छ भनेर भारतले विश्वास गर्ने एउटा कारण हो– मुनिरको भाषण। सो आक्रमणभन्दा एक साताअघि उनले कस्मिर भनेको पाकिस्तानको ‘गलाको नसा’ हो भनेका थिए र भारतबाट स्वतन्त्रताको संघर्षमा कस्मिरीहरूलाई कहिल्यै एक्लै नछाड्ने कसम खाएका थिए।

हिन्दु र मुस्लिम साथमा बस्न नसक्ने भएपछि १९४७ मा पाकिस्तान अस्तित्वमा आएको पनि उनले बताएका थिए। यसबाट मुनिरले आफ्ना पूर्ववर्ती सेनाप्रमुखभन्दा बिल्कुल अलग विचार राख्ने गरेको देखिन्छ। उनीअघिका जर्नेल कमर जावेद बाज्वाले २०२१ मा भारतसँगको दुस्मनी अन्त्य गर्नुपर्ने बताएका थिए। किनकि पाकिस्तानले भारतसँगको युद्ध धान्न नसक्ने उनको अनुमान थियो।

मुनिरलाई बाज्वाले सेनाको गुप्तचर निकाय इन्टर–सर्भिसेस् इन्टेलिजेन्स (आईएसआई) को प्रमुख बनाएका थिए। त्यतिबेला मुनिरले आफ्नो हाकिमको कुरा काटेनन्। र, अहिले शक्ति आफ्नो हातमा आएपछि उनले सेनालाई पुरानै अवस्थामा फर्काउन खोजेको देखिन्छ, जतिबेला सेनाले कस्मिर कब्जाको कोसिस गर्नुका साथै भारतलाई प्रमुख शत्रु मान्ने गर्थ्यो।

मुनिर धार्मिक र वैचारिक मान्यतामा अडिग व्यक्ति मानिन्छन्। कसैले चुनौती दिएको उनलाई मन पर्दैन। सैन्य अधिकृतहरूबीच अनौपचारिक कुराकानीमा मतभेद हुँदा उनी उठेर हिँड्ने गरेको उनका केही पुराना सहकर्मीहरू बताउँछन्।

तिनै मुनिर अहिले त्यस्तो मुलुकको बलबाहु नेता बन्ने कोसिस गर्दैछन्, जुन मुलुक राजनीतिक विभाजनबाट थला परेको छ। थुप्रै पाकिस्तानी मतदातालाई लाग्छ, मुनिरले २०२४ को चुनावमा चलखेल गरे र इमरान खानलाई सत्तबाहिर राख्न मद्दत गरे।

भारतसँग जारी द्वन्द्वले मुनिरको छवि अस्थायी रूपले पनि केही हदसम्म पुनर्स्थापित भएको छ। किनकि मुलुकका सम्पूर्ण संस्थाहरूमा रक्षा क्षेत्रको पकड छ। तर, यसले पाकिस्तानको सेना शक्तिशाली छ भन्ने पुष्टि गरेर देखाउने दबाब पनि उनीमाथि बढाउने छ। आफूभन्दा ठूलो छिमेकीसँग साँच्चैको लडाइँमा। त्यो पनि ठूलो आर्थिक संकटका माझ।

राजनीतिदेखि अर्थतन्त्रसम्म सबैथोक नियन्त्रण गरेको हुनाले मुनिर शक्तिशाली बनेका छन्। तर, उनी कुनै जादुगर होइनन्, जसले पाकिस्तानलाई आर्थिक संकटबाट उद्धार गर्न सकून्। 

युद्धले उनलाई नरेन्द्र मोदीको विरुद्ध खडा गरिदिने छ, जो आफैँमा एक राष्ट्रवादी बाहुबली नेता हुन्। यसले स्थितिलाई अझ जटिल बनाइदिने छ। भारतसँग द्वन्द्व अन्त्य गरेर संवाद थाल्ने कि अझ ठूलो रणनीतिक खाडलमा जाकिने– मुनिरले अहिल्यै निर्णय गर्नुपर्नेछ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad