(डिसक्लेमर : यो लेख नेपाली लोकतन्त्रलाई थप खुइल्याउन लेखिएको होइन। लेखका कारण तथाकथित लोकतन्त्रवाला निरुत्साहित र तथाकथित राजावालाहरू उत्साहित भए त्यो एउटा संयोग मात्र हुने छ।)
६ महिनाअघि दस वर्षपछि अमेरिकाबाट म नेपाल गएँ। बाको निधन भएको थियो। शोकमा थिएँ। शोकको घडीमा मन र दिमागका धेरैजसो तन्तुहरू निष्क्रिय हुन्छन्, एकादुई मात्र सक्रिय। यसको अर्थ, त्यतिबेला मन र दिमाग उत्तिसारो अरु कुरामा लगाउने स्थिति थिएन।
मध्यरात म काठमाडौँ ओर्लिएको थिएँ। विमानस्थलबाट बाहिरिन केही समय लाग्यो।
विमानस्थलबाहिर साथी देवेन्द्र भट्टराई कुरिरहेको थियो। कुर्नका लागि उसले पैसा तिरेको रहेछ।
कुर्नका लागि पैसा?
मेरो मन र दिमागको एक अर्को तन्तु जाग्न खोज्यो, रोकेँ। सोचेँ– यस्तो गर्नुपर्छ भनेर सल्लाह दिने। र, हो ठिक हो भनेर नियम बनाउनेहरू को होलान्? तिनले के खान्छन् होला? यस्तो मति उत्पन्न हुन्छ नै कहाँबाट?
यो मात्र होइन, अनेकौँ यस्ता सरकारी मतिहरू छन्, जो नेपालमा मात्रै प्रकट हुन्छन्, यस्ता अनेक सरकारी मतिहरू देखेर म धेरैपटक आश्चर्य र विस्मयमा परेको छु।
मलाई आश्चर्य र विस्मयमा पार्ने ती अनेक सरकारी मतिका बारेमा अरु कुनैबेला लेखौँला।
अहिले एकछिन त्यही रातको कुरा गरौँ, जुन रात दस वर्षपछि म काठमाडौँ ओर्लिएको थिएँ।
काठमाडौँको बानेश्वरस्थित घरनजिकैको क्रियापुत्री भवनमा पुग्दा रातको दुई बजेको थियो।
रातको दुई बजे जब म क्रियापुत्री भवन पुगेँ, मलाई एउटा कुर्सीमा बसाइयो।
एकजनाले चाइनिज टर्चलाइट समाए, अर्कोले भारतीय ब्लेड। म खौरिइएँ।
कसैले मेरो हातमा केबल टाउको छिराउन मिल्नेगरी च्यातिएका, नसिलाइएका सेता कपडाहरू थमाइदियो (सायद ती नेपालमै बनेका हुन्)।
अमेरिकाबाट लगाएर गएका कपडा फुकालेँ।
सेता कपडा लगाएँ। लगौँटी लगाउन चाहिँ आएन।
ह्या, भो लगाउँदिनँ लगौँटी, कछाड अलि मजाले कसेँ।
र गएँ– आमा, दाइ र भाइ बसिरहेको कोठामा।
आमाले भन्नुभयो– आइस्! तातोपानी खान्छस् कि?
बा गुमाएका दिनमा पनि आमाको माया उस्तै।
एक छिन रोएँ। रुनुका दुई कारण थिए।
एउटा बाको मृत्यु, अर्को आमाको माया।
त्यस रात बोल्ने विषय खास अरु केही थिएन रुनेबाहेक।
बिहान भयो। गुरु आए। क्रियाकर्मका विधि सुरु।
पातीका डाँठले दाँत माझ्ने, कालो तिल र कुशको पानीले नुहाउने। नसिलाइएका सेता कपडा फेर्ने।
कपडा फेर्ने सबैभन्दा जटिल ‘स्टेप’ हो– लगौँटी ‘स्टेप’।
यो ‘स्टेप’, हामी तीनै दाजुभाइका लागि मुस्किल थियो। मैले त पहिलो दिनदेखि नै यो ‘स्टेप स्किप’ गरेँ। दाइभाइले भने ‘स्किप’ गरेनन्। तर यो ‘स्टेप’मा गुरुका आँखाचाहिँ दाइभाइमाथि परेकै थिए।
उनीहरूको लगौँटी सही ठाउँमा नपरेको देखेर गुरु बडो नम्र भावमा भन्थे– यो समय सबै त्याग्ने समय हो, लाज पनि त्याज्य छ।
लाज त्यागियो।
न लाजको चिन्ता, न रूपको चिन्ता, न पोसाकको चिन्ता, न खानाको स्वादको चिन्ता। जीवनका औसत चिन्ताबाट यति फुक्काफाल हामी जिन्दगीम कमै हुन्छौँ।
हो, बा गुमाएकोमा अनेक तर्कना र चिन्ताहरू हुने नै भए, बाँकी त केही न केही।
वैराग्य भन्नुस् वा जे भन्नुस्।
वैराग्यका ती तेह्र दिनमा अनेक साथीभाइ, अनेक पेसाकर्मी हामीलाई भेट्न आए। ती भेटमा मान्छेका जीवनदेखि देशका जीवनसम्मका कुरा भए। देश र राजनीति गफको केन्द्रमै रहे।
फैज अहमद फैज भन्थे– ‘और भी दुख हे जमाने में, मोहब्बत के सिवा।’
मलाई यस्तो लाग्यो – और भी दुख हे जमाने में, मृत्यु के सिवा।
हो, हामीले तिनै अरु दुःखका कुरा गर्यौँ बाको मृत्युपछिका तेह्र दिनमा।
भाइ कानुन र धितोपत्रसँग सम्बन्धित मान्छे, दाइ र म पत्रकारितासँग जोडिएका मान्छे। हामीलाई सहानुभूतिवश भेट्न आउने मान्छे बढीजसो आर्थिक, कानुनी र पत्रकारितासँग जोडिएका मान्छे हुनै नै भए। यदाकदा राजनीति र प्रशासनका हस्तीहरू पनि।
विश्लेषण हुने नै भए– देश, राजनीति र दुनियाँका। हो, यही समय हो, जहाँ मैले दस वर्षपछि देश जान्ने बढ्ता अवसर पाएँ।
ती तेह्र दिनमा जेजस्ता कुरा भए– तिनको सार थियो– नेताले राजनीति बिगारे, राजनीतिले देश बिगार्यो, देश सही सलामत छैन। देशलाई बिमार लागेको छ। देशलाई सन्चो छैन।
मेरो एक प्रिय मित्र किरण पोखरेल, जो अहिले नेपालका राष्ट्रपतिको प्रेस सल्लाहकार छ, ऊ कहिलेकाहीँ ठट्टामा भन्थ्यो– बीपी मरेर गए, मलाई पनि सन्चो छैन, यो देश के होला?
जसोतसो अहिले किरण त सन्चै छ। सन्चै पनि यसकारण छ, किनकि ऊ राष्ट्रपतिको जो सल्लाहकार छ।
तर देशलाई सन्चो छैन। बीपी पनि छैनन्।
हामीजस्ता मान्छे सोचिरहेका छौँ– साँच्ची देश के होला?
यो ठट्टा होइन।
देशलाई अनेक बिमार लागेको छ। राजनीतिक बिमार, आर्थिक बिमार, कूटनीतिक बिमार, सामाजिक बिमार, सांस्कृतिक बिमार।
यो बिमार चिन्ताजनक हो कि चिन्तामुक्त? यसमा केही मतान्तरहरू छन्। यी मतान्तरमा म अलि पछि छिर्छु।
त्यसअघि मैले भोगेको, यो बीचमा सुनेको र दस वर्षपछि फेरि देखेको बालेनको काठमाडौँका बारेमा केही भन्न दिनुस्।
क्रियाबाट उम्केको भोलिपल्ट काठमाडौँको बानेश्वरबाट हिँड्दै अनामनगर, सिहंदरबार, पुतलीसडक, न्युरोड, असन, भोटाहिटी, ठमेल, जमल, रत्नपार्क, बागबजार हुँदै फेरि उही बाटो म घर फर्किएँ। झण्डै चार घण्टा यसै हिँड्नुको मुख्य दुई कारण थिए– एउटा, मेयर बालेनले के गरेका रहेछन् त भनेर जान्नु? र, दुई– बाटामा देखिने वा भेटिने मान्छे र सहरको मनोविज्ञान पढ्नु।
चार घण्टाको हिँडाइपछि बेलुका मेरो दिमागमा आएको एउटा वाक्य थियो– देश अझै देश जस्तो बन्ने दिशामा छैन। यो वाक्य यसै मेरो दिमागमा उत्पन्न भएको होइन। यसका पछाडि अनेक सन्दर्भ र कारणहरू छन्। सबै सन्दर्भ र कारणहरूको बयान यहाँ गरिसाध्यै छैन।
अहिले म यहाँ सबैको चर्चा गर्न चाहन्नँ।
एउटा मात्र कुरा भन्छु– काठमाडौँका सडकहरूमा जसरी गाडी र मोटरसाइकलहरू कुद्छन्, त्यसरी जथाभावी कुनै पनि विकसित देशहरूमा कुद्दैनन। त्यतिको ‘रफ’ ट्राफिक, गरिब र कमजोर प्रणाली भएका देशका चिह्न हुन्। यति ‘रफ ट्राफिक’ कि मान्छेले ज्यान जोखिममा राखेर बाटो काट्छ। जुन दिनसम्म कोही मान्छे देशकै राजधानीका सडकमा ढुक्कले बाटो काट्न सक्दैन, त्यो दिनसम्म म त्यो देशले धुन्धान प्रगति गरिरहेको छ कसका लागि भनूँ?
अलिअलि रङरोगन र अलिअलि सफाइमा विकास देख्ने नेपाली मनोविज्ञान आजको दुनियाँमा विकासको दृष्टिले असाध्यै कमजोर र हास्यास्पद मनोविज्ञान हो। नेपाल र अझ खासगरी काठमाडौँ, आज पनि यही मनोविज्ञानमा रमाएको वा अल्झेको देखेर म चकित छु।
यो मनोविज्ञानले म केही दिन बिथोलिएँ पनि। यसलाई तपाईं चिन्ता वा चिन्तन, जे भन्नुस्।
हो, यही विषयमा म आज केही लेख्न खोज्दैछु।
यो लेख्न एक हिसाबले मलाई सेतोपाटीका प्रधानसम्पादक अमित ढकालको एउटा पछिल्लो लेखले उक्साएको हो। केही साताअघि ढकालले सेतोपाटीमा एउटा लेख लेखे, जसको शीर्षक थियो– नेपालीको आय बढ्यो तीन गुणा, चिन्ता दुई गुणा!
मेरा प्रिय पत्रकार मित्र अमित ढकालको लेखको शीर्षकको यो हिसाबले भन्छ– आयको मात्रा हेर्दा चिन्ता अझ घट्नु पर्ने हो।
मेरो समस्या भने यही हिसाबमा छ– आर्थिक दृष्टिले पनि र दार्शनिक दृष्टिले पनि।
आर्थिक दृष्टिले समस्या यसकारण छ कि- नेपालमा यी बितेका पच्चीस/तीस वर्षमा जेजस्ता आर्थिक प्रगति भएका छन्, तिनमा नेपालका राजनीतिक दलका चेत, ‘भिजन’ वा प्रतिबद्धताको भन्दा पनि बाह्य प्रभाव, रेमिट्यान्स र ऋणको बढ्ता भूमिका छ– २०४६ मा बहुदलीय व्यवस्था पुनर्स्थापना भएदेखि २०५१ सम्मको समयलाई छोडेर। ती तीनचार वर्षमा जेजस्ता आर्थिक आधार नेपालमा खडा भए, तिनैको बलमा आजको नेपाल अडिएको छ। होइन भने उहिल्यै नेपाल आर्थिक दृष्टिले ‘कोल्याप्स’ हुने थियो। त्यसपछि यताका २०५१ देखि आज २०८२ सम्मका वर्ष मेरा दृष्टिमा नेपालका लागि बेकारका वर्षहरू हुन्। कसैले डिङ नहाँके हुन्छ।
नेपालका वामपन्थीहरूले बढता डिङ हाँकेको सुन्छु, मलाई लाज लाग्छ– हग्नेलाई भन्दा देख्नेलाई लाज जस्तो। नेपालका वामपन्थीहरूका नाममा म लजाइदिन्छु।
यस्तो अवस्थामा अमित ढकालजस्तो नेपालको अर्थतन्त्र र समाजलाई बुझेको मान्छेले किन भने होलान्– नेपालीको आय बढ्यो तीन गुणा, चिन्ता दुई गुणा! म आश्चर्यमा छु।
हो, आय बढ्यो पनि होला तर म आय बढेको भन्दा आयको विशेषता र मौलिकतामा बढ्ता ध्यान दिन्छु, त्यसका अनुशासन मेरा रुचिका विषय हुन्। अमितजीका रुचि संख्यामा बढ्ता छ, मेरो रुचि भावना, मूल्य र अनुशासनमा बढ्ता छ।
दार्शनिक दृष्टिले म ठान्छु– आय, सिर्फ आयले, चिन्ता कम गर्ने ग्यारेन्टी गर्दैन।
घोत्लिनुपर्ने र असाध्यै चिन्ता गर्नुपर्ने विषय यही हो– आय तीन गुणा बढ्दा पनि, नेपालीको किन चिन्ता दुई गुणा बढ्दो छ?
केही महिना वा वर्षअघि, नेपालका परराष्ट्रमन्त्री भैसकेका प्रदीप ज्ञवाली (मैले जानी जानी एमालेका नभनेको हुँ, देशको कुरा आउँदा म पार्टी चिन्दिनँ) ले कुनै भिडिओ अन्तर्वार्तामा गुनासो गरिरहेका थिए– एक लाखभन्दा बढी कमाउने मान्छे पनि विदेशतिर लागिरहेको छ।
उनको भनाइको भाव थियो– देशमा अवसर नभएर कोही मान्छे विदेशिएको होइन, मान्छेकै देशभक्तिमा समस्या छ। उनमा आफूहरूले गरिरहेको चर्तिकलाको समीक्षाभन्दा त्यो चर्तिकलाबाट वाक्क भएर हिँडेको मान्छेमाथि बढी गुनासो थियो।
ज्ञवालीजीलाई म विनम्रतापूर्वक आज आग्रह गर्छु– कृपया, एकपटक आफनो दिमागको तन्तुलाई एकपटक फेरि ‘रिवाइन्ड’ गर्नुस् र सोच्नुस्– एक लाखभन्दा बढी कमाउने मान्छे पनि किन आज देश छोड्न चाहिरहेको छ?
यो त झन् खतरनाक चिन्ताको विषय हो। यो चिन्ताको विषय व्यक्तिसँग होइन, प्रणालीसँग जोडिएको छ।
मेरो विचारमा यसको मतलब कहीँ न कहीँ ‘सिस्टम’मा ठूलो समस्या छ। मतलब, पैसा भएको मान्छेलाई पनि देश, राज्य र त्यहाँको प्रणालीले ‘इन्गेज’ गर्न सकिरहेको छैन।
किन ‘इन्गेज’ गर्न सकिरहेको छैन, म यो विषयमा अमितजी वा प्रदीप ज्ञवालीजस्तै नेपाली विश्लेषकहरूका अलि गम्भीर विश्लेषण पढ्न चाहन्छु।
विश्लेषण लेख्नुअघि ध्यान दिनुहोला, कोही नेपाली नेपाल छोडेर हिँडेको छैन मायै मारेर, बरु नेपाल बोकेर हिँडेको छ, महादेवले मरेकी सतीदेवी बोकेसरी। र, अंगपतन संसारभर भैरहेको छ।
यसरी नेपालबाहिर नेपालरूपी सतीदेवीका अंगपतन गराउँदै हिँडेका महादेवहरू किन नेपालका सत्ता सञ्चालकहरूका प्रिय भइरहेका छैनन्? म बडो विस्मयमा छु।
मेरो यो विस्मयका बारेमा प्रसंग मिलाएर कुरा गरुँला। अहिले मलाई नेपाली लोकतन्त्रमाथि गुनासो गर्न दिनुस्।
आजको नेपाली लोकतन्त्रमाथि मेरा अनेक गुनासाहरू छन्।
पटकपटक मैले लेख्दै आएको छु– नेपालमा अब यस्तो लोकतन्त्रको काम छैन, कहीँकतै पनि काम छैन। नेपाली लोकतन्त्रमाथि पुनर्विचार जरुरी छ। यस्तो लोकतन्त्रले केही नाप्न सक्दैन।
खै किन हो, अमितजी मात्र होइन, नेपालका अधिकांश दलका अधिकांश नेताहरू यो सुन्नै मन पराउँदैनन्– लोकतन्त्रमा केही भएकै छैन। नेपालका कतिपय राजनीतिक नेताहरू पटकपटक भनिरहन्छन्– उहिले पञ्चायत वा राजाका पालामा भएका प्रगतिका सूचकांकभन्दा आजका अनेक सूचकांकहरू निकै माथि छन्।
उनीहरू दृष्टान्त दिन्छन्– उबेला यति औसत आयु थियो, यति मातृ मृत्युदर थियो, यति सडक थियो, यति सञ्चार सुविधा थियो, आज यति छ, उति छ।
हो पनि। तर यो तुलना मलाई असाध्यै फिक्का लाग्छ।
यी तुलना वा सूचकहरूले कति मौलिक र आफ्ना चरित्र बोकेका छन्, मलाई यो जान्न बढ्ता रुचि छ।
यी सूचाकहरूमा नेपाली नेता वा सत्ता सञ्चालकहरूको चेतको कति भूमिका छ, यो जान्न मलाई बढ्ता रुचि छ।
बिश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष, एसियाली विकास बैंक, यूएनडीपी, डब्लूएचओका सर्तका भारी बोकेर भएका एकादुई प्रगतिका सूचकमा मेरो खासै रुचि छैन।
विश्व लहरले ल्याएका केही जबर्जस्त परिवर्तनहरू पनि मेरो दृष्टिमा खासै रुचिकर विषय होइनन्। मेरो रुचि वा चासो मलाई कवि सिद्धिचरण श्रेष्ठको भाषामा भन्न दिनुस्–
विश्व लहरमा लहरी लहरी, हामी मरुस्थलमा पुग्यौँ कसरी?
म नेपाल मरुस्थल बन्दै गइरहेको टाढाबाट देखिरहेको छु।
सांस्कृतिक हिसाबले मरुस्थल, चिन्तन र दार्शनिक हिसाबले झन् मरुस्थल, राजनीतिक हिसाबले मरुस्थल, आर्थिक हिसाबले मरुस्थल, कूटनीतिक हिसाबले मरुस्थल।
अमितजी म त कतै हरियाली देख्दिनँ, आय तीन गुणा बढेर के गर्नु?
नेपालमा अहिले जे भइरहेका छन्– आय तीन गुणा बढे पनि, चिन्ता चार गुणा बढ्नु पर्ने हो।
म त आश्चर्यमा छु– राजनीतिक दलका नेताहरू, तपाईंहरू र नेपाली जनतामा कम चिन्ता देखेर। घर जलाएर खरानी उत्पादन भइरहेको छ। खरानी विकासका पक्षमा तपाईंहरूका तर्क पढेर म त गलेको छु। अमितजी, नेपाली आय वृद्धि ‘सिस्टम्याटिक,’ अनुशासित र गुणवान छैन।
हो, यहीँनेर ठूलो समस्या छ।
कृपया तपाईंहरूजस्ता मान्छेले ओली, देउवा र प्रचण्डहरूलाई यो कुरा कृपा गरेर बुझाइदिनुहोला। कससेकम तपाईंहरू नम्बरमा नबहकिनुहोला।
नम्बरले सधैँ भावनाको प्रतिनिधित्व गर्ने ग्यारेन्टी गर्दैन। यति साधारण कुरा तपाईंहरूजस्ता मान्छेलाई बुझाउन खोज्दा मलाई दकस लागिरहेको छ।
यो बीचमा नेपालमा जे बन्यो तपाईंहरू भनिरहनु भएको छ, त्यो कसको पैसाले बन्यो?
कहाँ छ हाम्रो मौलिक विकास?
विकासको एउटा चरित्र हुन्छ। नेपालको विकासको चरित्र खै अमितजी?
अरब देशहरूको विकासको एउटा चरित्र छ। नर्डिक देशहरूको विकासको एउटा चरित्र छ। युरोपेली विकासको एउटा चरित्र छ। चीनको विकासको एउटा चरित्र छ। जापान, दक्षिण कोरिया, सिंगापुरको विकासको एउटा चरित्र छ। अमेरिकाको विकासको एउटा चरित्र छ। चरित्र नभएको विकास नेपालमा भइरहेको छ। म त्यसलाई खरानी विकास भन्छु।
जब नेपालमा गणतन्त्र र राजतन्त्रको बहस सुरु हुन्छ, कांग्रेस र एमालेका नेताहरू राजाको पालामा बनेका सडक र त्यसपछि बनेका सडक नाप्न फित्ता लिएर निस्कन्छन्। उनीहरू दाँज्न थाल्छन्– राजाका पालामा यति सडक थियो, आज यति छ, राजाका पालामा यति प्रतिव्यक्ति आय थियो, आज यति छ, यति मातृ मृत्युदर थियो, आज यति छ, औसत आयु यति थियो, आज यति छ। हिजो मुस्किलले कसैसँग फोन सुविधा थियो, आज अधिकांशको हातमा फोन छ। यस्तैयस्तै अनेक।
यो जत्तिको फितलो विश्लेषण अरु कुनै हुनै सक्दैन।
मान्नुस्, आज अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले धुन्धान गरेँ भनेर उदाहरण दिँदै गर्दा भने– राष्ट्रपति बाराक ओबामाका पालामा आइफोन १६ थिएन, आज मेरो पालामा आइफोन १६ छ।
तपाईंहरूलाई हाँसो लाग्दैन? सायद ट्वाँ पर्नुभयो यो उदाहरण सुनेर।
हो, म त्यस्तै ट्वाँ परिरहेको छु– नेपालका राजनीतिक दलका नेता तथा एकादुई विश्लेषकहरूले बितेका बीसतीस वर्षमा धुन्धान गरेका छौँ भनेको सुनेर।
यो बेला अरु खासै केही भन्नु छैन। फुर्सद छ भने शिशिर योगीले गाएको, टीकाराम शर्मा पौडेलले लेखेको एउटा गीत कृपा गरेर सुन्नु होला, गितको शीर्षक छ– झोले र चम्चाहरू :
नेताको नकटो लुकाइरहने, छन् जति गम्छाहरू,
साँचो भन्दछु, देशका जहर हुन् झोले र चम्चाहरू
यो भन्दा बढ्ता म अरु के भनूँ?
Shares

प्रतिक्रिया