‘कसैले पनि छुट पाउँदैन,’ आइतबार डोनाल्ड ट्रम्पले जोड दिएर भने। उनको यो स्पष्टीकरणले द्विविधा मात्र थप्यो। किनकि त्यसअघि अमेरिकाले स्मार्टफोन र विद्युतीय सामग्रीमा भन्सार महसुल छुट गर्ने घोषणा गरेको थियो। र, भन्सार छुटको घोषणा अघिल्लो साता चीनबाट आउने सामानमा १४५ प्रतिशत कर लगाउने नीतिमा आएको बदलाव थियो। त्यसअघि ट्रम्पले अनेकपटक कर बढाउँदै १४५ प्रतिशत पुर्याएका थिए। तपाईं कुरा बुझ्दै हुनुहुन्छ?
एउटा सामान्य मान्छेले कर नीतिमा अचानक गरिएका यी सबै परिवर्तनलाई ह्वाइट हाउसमा गडबडी छ भन्ने कुराको प्रमाणका रूपमा लिन सक्छ। तर, ट्रम्पका प्रशंसकहरू असहमति व्यक्त गर्छन्। लगानीकर्ता बिल एकम्यानले यस्तो ‘यूटर्न’लाई ‘सानदार तरिकाले लागू गरिएको उदाहरणीय सौदाबाजीको कला’ भनेका थिए।
ट्रम्प उच्च दर्जाका रणनीतिकार हुन् भन्नेमा उनका सबैभन्दा उत्साहित समर्थकहरू अझै विश्वास गर्छन्। जसले यस्तो मान्दैनन्, तीमाथि ‘ट्रम्प डिरेन्जमेन्ट सिन्ड्रोम’ को आरोप लाग्ने गर्छ।
दुर्भाग्यवश म अझै पनि टीडीएस पीडित हुँ। (खोपमा प्रतिबन्ध लगाइएको छ।)
मेरो ज्वरग्रस्त दिमागमा यस्तो लाग्छ– चीनसँगको भन्सार करको जुवामा ट्रम्पको हात उनले सोचेजति बलियो छैन। बरु, निकै कमजोर छ। र, यो यथार्थ ढुक्क भएर स्वीकार्न ट्रम्पलाई जति ज्यादा समय लाग्छ, उति ज्यादा अमेरिकालाई नोक्सान हुन्छ।
ट्रम्प र उनका व्यापार युद्धका योद्धाहरूको सुरुवाती धारण के छ भने भन्सार करमा हुने द्वन्द्वमा चीन स्वतः कमजोर अवस्थामा छ। अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टको तर्क छ, ‘चीन दुक्की जुटको बलमा खेलिरहेको छ। उनीहरूले हामीलाई जति निर्यात गर्छन्, त्यसको २० प्रतिशत मात्रै हामी उनीहरूलाई निर्यात गर्छौं। त्यसकारणले उनीहरूको हात यसै हरूवा छ।’
ट्रम्प र बेसेन्टको तर्कमा रहेको कमजोरीलाई हालै एडम पोसेनले फरेन अफेयर्समा प्रकाशित लेखमा प्रस्ट पारिदिएका छन्। पोसेनले भनेजस्तै चीनले अमेरिकाबाट आयात गर्नेभन्दा कयौँ गुणा ज्यादा निर्यात गर्छ र यो चीनको कमजोरी होइन, सबलता हो।
अमेरिकाले चीनको उपकार गरिदिन उबाट सामान खरिद गरेको होइन। अमेरिकीहरू त्यही चिज चाहन्छन्, जुन चीनले बनाउँछ। त्यसैले सामान अति महँगो भयो अथवा सामान बजारमा पाउनै छाडियो भने घाटा अमेरिकीहरूलाई नै हुने छ।
स्मार्टफोनले दिएको पीडापछि ट्रम्पले सधैँ अस्वीकार गर्दै आएको एउटा तथ्यलाई अन्ततः स्वीकार गर्नै पर्यो– भन्सार कर निर्यातकर्ताले होइन, आयातकर्ताले तिर्छन्।
अमेरिकामा बिक्ने स्मार्टफोनको आधाभन्दा बढी हिस्सा आईफोनले ओगट्छ। र, आईफोनको ८० प्रतिशत हिस्सा चीनमा बन्छ। आईफोनको मूल्य दोब्बरभन्दा बढी भयो भने अमेरिकीहरूले चर्को गुनासो गर्ने छन्। ट्रम्पले घोषणा गरेको ‘मुक्ति दिवस’ को अर्थ स्मार्टफोनबाट मुक्ति होइन।
फोन र कम्प्युटर यस्ता उपकरण हुन्, जसमा आफू गलत भएको ट्रम्पले स्वीकारेका छन्। तर, त्यस्ता सामान यी मात्र होइनन्। यसपालिको बर्खा ज्यादा गर्मी नहोस् भनेर ट्रम्पले आशा गर्नुपर्ने हुन्छ। किनकि विश्वका एयर कन्डिसनरमध्ये ८० प्रतिशत चीनमा बन्छ। साथै अमेरिकाले आयात गर्ने तीन चौथाइ पंखा पनि चीनले नै बनाउँछ।
त्यस्तै, क्रिसमससम्ममा व्यापार युद्ध टुंगियोस् भन्ने ह्वाइट हाउसको चाहना हुनसक्छ। किनकि अमेरिकाले आयात गर्ने खेलौना र साइकलमध्ये ७५ प्रतिशत चीनमै बन्छ।
के यी सबै सामान अमेरिकामै बनाउन सकिन्छ? सायद। तर, त्यसका लागि नयाँ कारखाना बनाउन समय लाग्छ। र, त्यसरी उत्पादित सामान पनि निकै महँगो हुनेछ।
ट्रम्प आफ्ना बारेमा नकारात्मक खबर देख्न सक्दैनन्। तिनलाई सकभर छिटो हटाउने उनको चाहना हुनेछ। त्यसैले अभाव र मुद्रास्फितिको पीडा सहनुभन्दा उनले कर छुट पाएका सामानको सूचीमा एकपछि अर्को नाम थप्दै जाने सम्भावना अधिक छ।
यस्तो स्थितिमा चीनले प्रतीक्षाको खेल खेल्न सक्छ। तर, चीनले कुभलो नै चाहने हो भने उसँग केही अति नै शक्तिशाली उपाय पनि छन्। जसको प्रयोग बेइजिङले गर्न सक्छ। एन्टिबायोटिक्समा प्रयोग हुने करिब ५० प्रतिशत अवयव चीनले बनाउँछ। जुन औषधिमा अमेरिकीहरू निर्भर छन्।
अमेरिकी वायुसेनाको मेरुदण्ड मानिने लडाकु विमान एफ–३५ का उपकरण त्यस्ता दुर्लभ तत्वले बन्छ, जो चीनबाट खरिद गरिन्छ। त्यस्तै, अमेरिकी ट्रेजरी बन्डको दोस्रो सबैभन्दा ठूलो वैदेशिक स्वामित्व चिनियाँहरूसँग छ। बजार दबाबमा रहेका बेला यसले पनि अर्थ राख्छ।
चीनबाट आउनेमध्ये जति कर लगाउँदा पनि अमेरिकामा कसैलाई फरक नपर्ने सामान ट्रम्प प्रशासनले फेला पारिहालेछ भने पनि त्यसले चीनलाई ठूलो नोक्सान गर्ने सम्भावना देखिँदैन।
अमेरिकाको बजारले चिनियाँ निर्यातको मात्र १४ प्रतिशत हिस्सा ओगट्छ। बेइजिङस्थित युरोपियन च्याम्बर अफ कमर्सका पूर्वप्रमुख योर्ग वुत्केको तर्क छ, ‘अमेरिकी भन्सार महसुल असुविधाजनक त छ तर यो अर्थ व्यवस्थामाथिकै खतरा भने बन्ने छैन। चीनको अर्थतन्त्र १४–१५ ट्रिलियन डलरको छ, जबकि अमेरिका निर्यात जम्मा ५५० अर्बको छ।’
ह्वाइट हाउसले निकै दुःखका साथ लगातार सुझाइरहेको छ– राष्ट्रपति सी चिनफिङले तुरुन्तै फोन गरुन्। तर, ट्रम्प लथालिंग पारामा पछि हटिरहँदा चिनियाँ नेताका लागि उनीसँग कुरा गर्नुमा कुनै तुक छैन। दयाको याचना त परको कुरा।
अमेरिकाको तुलनामा चिनियाँ कम्युनिस्ट पार्टीको एकदलीय नियन्त्रणमा रहेको व्यवस्था सायद राजनीतिक र आर्थिक पीडाको अवधिलाई अलि सजिलोसँग झेल्नका लागि ज्यादा तयार छ। जबकि अमेरिकामा आर्थिक उथलपुथल तुरुन्तै राजनीतिक दबाबमा बदलिन्छ।
सी आफैँ भने गल्ती गर्न पूरै सक्षम छन्। कोभिड १९ को व्यवस्थापनले यसलाई साबित गरिसकेको छ। तर, चिनियाँहरूले अमेरिकासँग व्यापार युद्धको तयारी गरेको लामो समय भइसक्यो। र, आफ्नो विकल्पबारे उनीहरूले सोचेकै छन्। त्यसविपरीत ह्वाइट हाउस भने बिनापूर्वतयारी अघि बढ्दै जाँदा विकल्प खोजिरहेको छ।
ट्रम्पले आफैँलाई हरूवा दाउ बाँडेका छन्। ढिलो वा चाँडो उनले ‘प्याक’ गर्नै पर्ने हुन्छ। छैन त गज्जबको सौदाबाजीको कला!
(फाइनान्सियल टाइम्सबाट)
Shares

प्रतिक्रिया