विक्रम संवत् २००७ सालमा १ सय ४ वर्ष पुरानो निरंकुश खानदानी राणाशाही हुकुमी शासन परास्त भएपछि मुलुकमा के परिवर्तन आयो?
एक अर्थमा पक्कै आयो, नेपाल स्वदेशी–विदेशी शक्ति केन्द्रको प्रयोगशाला भयो। राजनीतिक र आर्थिक क्षेत्रमा धेरै प्रयोग र परिवर्तन भए। तर आम जनताको स्वाभिमानी जीवन बाँच्ने अधिकारमा सत्तासीनहरूले लगाएको बन्देजमा कुनै परिवर्तन भएन। ७५ वर्ष खेर गयो!
किन खेर गयो?
जिसस क्राइस्टको नाममा सुरु भएको ग्रेगोरियन क्यालेन्डर भन्दा विक्रम संवतमा आधारित नेपालको पात्रो ५७ वर्ष पुरानो छ। नेपाल राज्य पूर्वमा टिस्टा नदीपारि सिक्किमसम्म फैलिएकै हो। पश्चिमतिर कुमाउँ–गढवाल गोरखाबाट काठमाडौँ जितेर आएको शाह वंशको अधीनमा थियो। भारत आजको ‘इन्डिया’ बनेकै थिएन। त्यहाँ ५ सय ५० भन्दा बढी सामन्ती जमिन्दारहरूको शासन थियो। अहिले आर्थिक युद्धको दादागिरी देखाउने डोनाल्ड ट्रम्पको देश अमेरिका बेलायती उपनिवेशबाट मुक्त भएर एक सार्वभौम मुलुक हुन बाँकी नै थियो। नेपाल राज्यको नक्सा कोरिएको त त्यो भन्दा पहिले नै हो!
यो पुरानो, सार्वभौम र वीरहरूको भनिएको देशका बहुसंख्यक जनता आज किन निर्धन छन्? किन अपहेलित छन्? उनीहरूको इमान्दार जीवन बाँच्ने अभिलाषालाई राज्यले किन सम्बोधन गर्न सकेको छैन?
पृथ्वीनारायण शाहको पालादेखि पेलिएको एउटा गुरुङ समुदायका विद्वान थिए, डा. हर्क गुरुङ। उनको मत थियो, नेपाल भूपरिवेष्ठित भएकै कारण पिछडिएको हो। उनी भन्थे, नेपाल भूपरिवेष्ठित मात्र होइन, भारतवेष्ठित छ। गुरुङको विचारमा नेपाल एक उन्नत राष्ट्र हुने हो भने भारतसँगको सिमाना खुला छोड्नु हुँदैन। नेपालमा काम गर्न आउने भारतीयहरूलाई काम गर्ने अनुमति दिनुपर्छ। त्यसलाई हरेक वर्ष नवीकरण गर्नुपर्छ।
हर्क गुरुङलाई फाँसी दिनुपर्ने आवाज उठ्यो, त्यो पनि नेपाल भित्रैबाट। भारतको तत्कालीन इन्दिरा गान्धी सरकार यसबारेमा चूँ बोलेन। नेपालीहरू एकापसमै लडिरहेका थिए।
इन्दिरा गान्धीका पिता, बेलायती दासताबाट भर्खर मुक्त भारतका प्रथम प्रधानमन्त्रीको सोच थियो– नेपाल केही पनि होइन। भारतको उत्तरी सिमाना त सगरमाथासम्म हो। नेहरूका गृहमन्त्री सरदार बल्लभभाइ पटेल अझ उग्र थिए। उनले हैदरावाद र गुजरातको छेउमा रहेको जुनागढमा सैनिक हस्तक्षेप गरेर ती राज्यलाई संघीय भारतमा गाभिसकेका थिए। कस्मिरमा आधाभन्दा बढी भूभाग पाकिस्तानले कब्जा गरिसकेको थियो। त्यो फिर्ता लिन सम्भव थिएन।
सरदार नेपालमा भारतीय सैनिक हस्तक्षेप गर्न उद्यत थिए। उनको मत थियो, ‘त्यहाँका राजा त्रिभुवनले आफ्नो ज्यान बचाउन हाम्रो शरण लिएका हुन्। कस्मिरका राजा हरि सिंहलाई हामीले जे गर्यौँ, नेपाल पनि त्यसैको लायक छ।’
‘राजा दिल्ली भाग्नु नै दुर्भाग्य भयो’
०४६ सालको आन्दोलनपछि जन्मिएको नेपाली पुस्ताले यो इतिहास पढेको छैन। ०१७ सालपछि जन्मिएको पुस्ता महेन्द्रमाला पढेर हुर्कियो। ००७ सालको जहानियाँ राणा शासनविरुद्ध नेपाली कांग्रेसको नेतृत्वमा भएको क्रान्तिको उपलब्धि इतिहासमा पढाइएन। राजा महेन्द्रपछिका राजा वीरेन्द्रको पालामा ‘नयाँ शिक्षा प्रणाली’को नाममा आज्ञाकारी कर्मचारी उत्पादन गर्ने ‘मेकोली’ पद्दतिको अनुशरण गरियो।
इतिहासको कक्षामा यो पढाइनु जरुरी थियो– नेपाली कांग्रेस तत्कालीन राजा त्रिभुवनलाई सुवर्ण शमशेरका भाइ महावीर शमशेरको हेलिकोप्टरबाट रुद्र शमशेरको स्वामित्वमा रहेको पाल्पा अवतरण गराउन खोज्दै थियो। त्रिभुवनलाई नेपाली कांग्रेसको क्रान्तिले आफ्नो ज्यान जोगाउने कुरामा विश्वास भएन। नेपालस्थित भारतीय दूतावास यो ऐतिहासिक गतिलाई आफ्नो अनुकूल तुल्याउन चाहन्थ्यो। मोहन शमशेरले १९५० को सन्धि गरिसकेका थिए। भारत नेपाललाई यो वा त्यो कारण देखाएर आफ्नो आँगन बनाउने चेष्टामा थियो। त्रिभुवनकी जेठी महारानी बाथको रोगले ग्रस्त थिइन्। उनको उपचार गर्न भारत बसेकी बेलायती ‘फिजियोथेरापिस्ट’ एरिका नेपाल आइन्। दरबारमा कैदी बनेर बसेका त्रिभुवनको छटपटी उनले नजिकबाट देखिन्। भारतीय दूतावासका कर्मचारी र एरिकाको सम्बन्ध राम्रो थियो। उनले त्रिभुवनको भारत पलायनको योजना बनाइन्।
दरबारको भोज व्यवस्थापन गर्ने क्याटरिङ व्यवसायी बीएल शर्मालाई भारतीय दूतावासले आफ्नो एजेन्टका रूपमा प्रयोग गर्यो। उनले त्रिभुवनलाई पाल्पाको सट्टा दिल्ली जान उक्साए। त्यस्तै भयो।
बीपी कोइरालाले आफ्नो आत्मकथामा लेखेका छन्, ‘राजा पाल्पाको सट्टा दिल्ली भाग्नु नै नेपाली क्रान्तिको लागि दुर्भाग्य भयो। भारतले हाम्रो क्रान्ति अपहरण गर्यो।’
बीपी कोइरालाको भारतका प्रथम राष्ट्रपति डाक्टर राजेन्द्र प्रसादसँग व्यक्तिगत र आत्मीय सम्बन्ध थियो। उनीहरू भारतीय स्वाधीनता संग्राममा दुई वर्ष जेलको एउटै कोठामा बन्दी थिए। जवाहरलाल नेहरू बीपीको विद्वताको कायल थिए। त्यसैले उनमा बीपीप्रति ईर्ष्या थियो। तर बल्लभभाइ पटेलको नेपालमा सेना उतार्ने मनसायमा सहमति दिन नेहरूको आँट भएन। अन्यथा नेपालको शाह वंशको इतिहास भारतका पाँच सय बढी रजौटाहरूको जस्तै इतिहासमा धुलिसात हुनेथियो। शाहवंश बीपीको यो पाटोप्रति कहिल्यै कृतज्ञ भएन।
त्रिभुवनका उत्तराधिकारी राजा महेन्द्रले बीपीको अठार महिने सरकारलाई सैनिक कू गरेर अपदस्थ गरे। बीपीलाई जेलमा कोचे। १९९७ मा शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल र दशरथ चन्दलाई मृत्युदण्ड दिने जुद्ध शमशेरको निर्णयमा सही गर्ने आफ्ना बुवा त्रिभुवनको सालिकलाई जनताको शासन स्थापित गर्न प्राणाहुति दिनेहरूभन्दा माथि राखेर सहिद गेट निर्माण गरे। पृथ्वीनारायण शाह राष्ट्रनिर्माता थिए, त्रिभुवनलाई राष्ट्रपिता बनाइयो।
छयालीस सालको आन्दोलनले पञ्चायती सत्ता ढालेपछि जन्मिएको बालक अहिले पैँतीस वर्षको कर्मठ युवा भैसकेको छ। तर उसलाई पञ्चायतकालीन दरबारिया ज्यादतीको कुनै आभास छैन। त्रिसट्ठी सालको आन्दोलनले राजा फालेपछिको अर्को बालक पनि अब अठार वर्षको भयो। यी दुवै पुस्ता आफू जन्मिएको मुलुकको यथार्थ इतिहास भोग्न र पढ्नबाट वञ्चित छन्।
यो पुस्तालाई भ्रम छ– ‘राजाको शासनमा ढुङ्गेधाराबाट दूध बग्थ्यो! खेतमा सुन फल्थ्यो! मान्छे कमाउन विदेश जान आवश्यक नै थिएन।’ राजाहरूको स्वार्थी र संकीर्ण नियतबाट उदेकिएका बलभद्र कुँवर पन्जाबको राजा रणजीत सिंहको सेनामा भर्ती भएको, अफगानी पठानसँगको युद्धमा मारिएको कुरा इतिहासमा लेखिएन।
बरु ज्ञानेन्द्र शाहले आफ्नो अधिनायकी चल्दा ‘राष्ट्रकवि’को उपाधि दिएका माधवप्रसाद घिमिरेले लेखेको कविता पढेर हुर्कियो, ‘नसुती आठै प्रहर, बलभद्र कुँवर ...।’ त्यसपछि के भयो, नेपाली इतिहास मौन छ। बरु नेपाली विद्यार्थीले जंगबहादुर राणाले अंग्रेजको गुलामी गरेर जोगाएको नेपालको इतिहास अर्कै भाष्यमा कण्ठस्थ गरे, ‘रातो र चन्द्र सूर्य, जंगी निसान हाम्रो, साम्राज्य दुई हारे, हारेन सान हाम्रो!’
यसमा दरबारको दोष छैन।
दोषी लोभी–पापी र मतिहीन अग्रगामीहरू
ख्यालख्यालमा २०४६ साल चैत २६ गते मध्यरातमा तत्कालीन राजा वीरेन्द्रले आन्दोलनरत बहुदलवादी नेताहरूलाई दरबार बोलाए। दरबरियाहरूले उनलाई भनेको हुनुपर्छ, ‘यो छत्तीस सालकै अर्को एपिसोड हो। वि विल ओभरकम।’
तर दरबारअगाडि चैत चौबीस गतेको भीड ऐतिहासिक थियो। (०६२ सालमा त्यस्तो भीड दरबारअगाडि पुग्नुअघि नै विस्थापित राजा ज्ञानेन्द्रले आत्मसमर्पण गरे। आफ्नै सेनाले साथ नदिएपछि के लाग्छ?) नेपाली सेनाले आफूलाई जतिसुकै ‘राजावादी’ देखाउन खोजे पनि भारतीय सेनाको इसाराबिना यसले डेग चाल्दैन। दोस्रो जनआन्दोलनमा यो प्रमाणित भैसकेको छ।
दोस्रो जनआन्दोलनपछिको पहिलो चुनावमा अत्यधिक मत पाएर फर्किएको माओवादीका नेता प्रचण्डले अकारण तत्कालीन सेनापति रुक्माङ्गत कटुवाललाई बर्खास्त गर्न खोज्दाको परिणति के भयो? कटुवालले पहिलो फोन भारतीय सेनापतिलाई किन गरे? भारतबाट तत्कालीन राष्ट्रपति रामवरण यादवलाई के ‘चेतावनी’ आयो? कटुवालको सट्टा पुष्पकमल दाहालको जागिर किन खुस्कियो? भूराजनीतिका जानकारहरू यसबारेमा मौन छन्। नयाँ पुस्तालाई सत्यको भेउ छैन।
दरबारियाहरूको वरिपरि साङ्लो घुमेझैँ फुरफुर गर्ने नेपाल टेलिभिजनका तत्कालीन रिपोर्टर विजयकुमारले वाममोर्चाकी अध्यक्ष सहाना प्रधानलाई २०४६ साल चैत २६ को मध्यरातमा दरबारभित्रै सोधे, ‘कस्तो लाग्यो?’
सहानाको सहज उत्तर थियो, ‘एउटा जनताको छोरीलाई राजाको दरबार जाँदा जस्तो लाग्नुपर्ने हो, त्यस्तै लाग्यो। बाँकी कुरा त राजाको आशय के हो त्यसपछि थाहा हुन्छ।’
त्यो बोली सहाना प्रधानको थिएन, उनीभित्रको नैतिक प्राधिकारको थियो। आजको मितिमा त्यस्ता नेता छैनन्।
आजका नेता आफ्नै दरबार खडा गर्दैछन्। आफ्नै चाकर भर्ती अभियानमा छन्। लोकतन्त्रप्रतिको वितृष्णा प्रणालीप्रति छैन। प्रणालीको दुरूपयोग गरेर मुलुकलाई पुरातनपन्थमा लैजाने श्री ३ ओली, देउवा र दाहालमा छ। गतिलो जुत्ता लगाएर हिँडेको एउटा स्वतन्त्र नागरिक चप्पल भिरेर साहुको दास हुन किन चाहन्छ? बिडम्बना, ओली, देउवा र दाहालको सिन्डिकेटले नेपाली नागरिकलाई आफूजस्तै पुरानो चप्पलछाप तुल्याउने कसम खाएको छ।
यो कुरा बेग्लै हो कि शेरबहादुर–आरजुका सन्तान इन्डोनेसियाको सर्वाधिक महँगो ‘हनिमुन स्पट’मा बिकिनी लगाएर घुम्न सक्षम छन्। प्रचण्डका नातिनीहरू चार–पाँच लाख पर्ने हाते ब्याग बोक्छन्। अमेरिकामा पढ्छन्। प्रचण्डले त आफ्ना कार्यकर्ताका सन्तानलाई नेपालको सरकारी स्कुलमा समेत पढ्न दिएका थिएनन्। बुर्जुवा शिक्षा कसैले लिन्छ? हैन त?
ओलीलाई अहिले भेट्न जाँदा बालुवाटारमा पहिले ओलीको सालोको छुनुमुने छोराको सुसुलाई सुगन्ध ठानेर छर्किनुपर्छ। नयाँ सामन्तवादका आआफ्नै शैली छन्।
कुन ठूलो कुरो भो र?
नयाँ चोर बाठो भएपछि पुरानो डाँकाले आफ्नो हतियारमा धार लगाउन थाल्छ। राजावादी आन्दोलन केही पनि होइन। विस्थापित राजा ज्ञानेन्द्र आफ्नो निकम्मा छोराको भरमा नेपालमा जरो गाडिएको खर्बौंको व्यापार छोड्न नसकेर मात्र नेपाल बसेका हुन् भन्ने दाबी गर्नु कुनै अतिशयोक्ति होइन। म्यारिज खेल्दा माल हात पर्यो भने मान्छे उत्साही हुन्छ। ज्ञानेन्द्र शाहलाई पनि त्यस्तै भएको हो। अब उनको हातमा न माल छ न खाल!
कति लघुदृष्टिले ग्रस्त होलान् यी ज्ञानेन्द्र शाह? सुरुमा तुलसी गिरि! जो अरु कसैको त टाढाको कुरा, आफ्नै समेत हुन सकेन! मिति गुज्रेको कीर्तिनिधि विष्ट? नेपालमा भएभरका दूतावासमा सूचना बेच्दै हिँड्ने रमेशनाथ पाण्डे? बीपीको छोरा भएर पनि गिरिजाप्रसादले नपत्याएको प्रकाश कोइराला? सत्ताबाट हटेपछि मधुमेहले ग्रस्त भएर बिस्कुट खोज्दै हिँडेका राधाकृष्ण मैनाली? पहिलो चालमै मात खाएको राजाले दोस्रो चालमा पनि मात खायो।
नवराज सुवेदी?
प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर राणाहरू त्यो राति घर गएर कि पक्कै धुरुधुरु रोए। वा, जाँड खाएर सुते।
बिहान उठेपछि दुवैले पक्कै जाँडको मात उतार्ने औषधि खाएको हुनुपर्छ। आन्दोलनको कमान्डर दुर्गा मार्सी प्रसाईं!
पशुपति शमशेर त ज्ञानेन्द्र शाहको पहिलो श्रीपेच ग्रहण समारोहका साक्षी। दरबारियाको कुरा मिल्छ। तर डाक्टर प्रकाशचन्द्र लोहनी? जो चौबीस वर्षको उमेरमै अमेरिकी स्कुलमा प्राध्यापकको पाएको जागिर छोडेर नेपालमा केही गर्छु भनेर गएका थिए। लाज लाग्दैन ती मान्छेलाई? ज्ञानेन्द्र शाहको ताबेदारी दुर्गा प्रसाईंले गर्दा सुहाउँछ। तर प्रकाशचन्द्र लोहनीले आफ्नो मुखमा कुभिण्डो झुण्ड्याएर हिँडेको देख्दा दुनियाँ हाँसेको छ। लोहनीले आफ्नो जीवनरूपी किताबको केही पाना च्यातेर फाल्नु जरुरी छ।
व्यापारी राजाका निर्धन प्रजा
संघर्षरत व्यापारीहरू घुस दिएर उन्नति गर्छन्। ज्ञानेन्द्र शाह एक विशिष्ट व्यापारी हुन्। उनी घुस लिएर व्यापार गर्थे। छयालीस सालसम्म उनको यो क्रम जारी रह्यो। दिवंगत प्रभाकर शमशेरले उनको सबै कारोबार हेरिदिन्थे। यस्ता सानातिना कुरा खोज्दै जाँदा ज्ञानेन्द्रको त्यान्द्रो जोशी, पाण्डे आदि इत्यादि राजपुरोहित खलकले चलाएको छद्म व्यापार मात्र होइन, अरु धेरै घोटालामा मुछिन सक्छन्।
जुन देशका राजा स्वयं व्यापार गर्छन्, त्यो देशका प्रजा सधैँ निर्धन रहन्छन्।
राजाले छोडेको, तर देउवा, ओली र दाहालले सम्हालेको दाबी गरिएको यो शासन आफै कमिसनखोर सञ्जालको एक निरीह पात्र हुनुमा सीमित छ। राजाको शासनपछि आएका गिरिजाप्रसाददेखि प्रचण्डसम्म किन जनताको सवालमा अडिन सकेनन्? हरेक प्रधानमन्त्री लोभी ठहरिए। नेपालमा एउटा स्थायी सत्ता छ, त्यसले हरेक क्रान्तिकारीलाई किनिदिन्छ। नबेचिएका बीपी कोइराला अठार महिनामै जेल गए। हरेक युवा नेपालीले बीपीको निष्ठा पढ्नु जरुरी छ। तर यो लेखक कांग्रेसी होइन।
लिच्छवीकालबाट सुरु भएको अमात्यगिरी अहिले कमिसन एजेन्टको रूपमा अंग्रेजी नाम सहित उपस्थित भएको मात्र हो। अन्तर्य एउटै हो।
अनि यो दरबारिया तर काकतालीले श्रीपेच भिर्न पुगेको व्यापारी ‘अब बेला भयो, मलाई साथ दिनुस्’ भन्दै सडकमा अराजकताको आगो बाल्दैछ। किन बाल्दैछ? नेपाली जनताले पत्याएको पार्टीका नेताहरू ज्ञानेन्द्र शाहकै पदचिन्ह पछ्याउन थालेका छन्। त्यसैले ज्ञानेन्द्र शाहको आँत हरहर भएको हो।
ज्ञानेन्द्र शाह कुनै पनि स्थितिमा नयाँ युगका नायक हुन सक्दैनन्। दुर्गा प्रसाईं नामको बैंक ठग्ने अराजकलाई पत्याएर कमान्डर नियुक्त गर्ने राजा कस्तो खोपीमा बसेको होला? नवराज सुवेदीको सट्टा टियर ग्यासको स्वाद ज्ञानेन्द्र शाहले पाउनु पर्छ अब।
ज्ञानेन्द्र शाहलाई आफू आत्ममुग्ध नायक ठान्ने अधिकार छ। त्यो त नसा गरेर सुतेको एउटा सडक बालकले पनि देख्छ, सपनामा। तर एउटा कुरा स्पष्ट छ, मसान घाटबाट उठेको सत्ता पिपासुसँग मान्छे नै छैनन्।
एउटा मान्छे बाँकी छन्। रवीन्द्र मिश्र। यी त झन् गजब रहेछन्! बीबीसी लन्डनमा काम गरे। निकालिए। नेपाल आए। राजनीति गर्छु भने। चैते आन्दोलनमा भीड भड्काएपछि अहिले खोरमा छन्। तर उनले हालेको एउटा सामाजिक सञ्जालको तस्बिर याद आयो। ज्ञानेन्द्रको नाति हृदयेन्द्रको फोटो हालेर ‘भावी राष्ट्रनायक’ भनेको रहेछ। यी मान्छे बीबीसीमा काम गर्दा बेलायतमा महारानी थिइन्। नेपालमा ज्ञानेन्द्रपछि पारसको साटो उनको सन्तान नै राजा हुनुपर्ने उनको मान्यता हो भने पूर्णिका किन नहुने? किन हृदयेन्द्र? पुरुष सत्तावादी यो पुरातनपन्थी मानसिकताको काँचो कथाकारलाई नेता मान्नेहरूलाई उपचारको जरुरत छ। रवीन्द्र होस् वा ज्ञानेन्द्र, यी पुरातनपन्थी अवशेष हुन्, जो आजलाई मान्य छैन।
लोकरञ्जकहरूको तमासा
अहिलेको नेपालमा लोकरञ्जक राजनीतिक उद्यमीहरूको बिगबिगी छ। नेताको अभाव छ।
नेता त त्यो हो, जसले गलत दिशामा हिँडेको भीडलाई अलोकप्रिय निर्णय गरेर पनि सही बाटो देखाउन सकोस्। नेता कुकुर हो। कुकुरको पुच्छर कुकुरले हल्लाउँछ। पुच्छरले कुकुर हल्लाउँदैन।
राजधानी उपत्यकाको सबैभन्दा ठूलो बजेट लिएर बसेको काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह पछिल्लो समयमा प्रकट भएका एक लोकरञ्जक पात्र हुन्। उनको सिको गर्दै उदाएको निलो स्यालले त टेलिभिजनको पर्दामा क्रान्ति नै गरेको हो। सत्ताप्रतिको असन्तुष्टि ओकल्नु जनताको अधिकार हो। तर त्यो असन्तुष्टिको निदान गर्ने उपायबिना आगोमा घ्यु थपेर आफ्नो जाउलो उमाल्नु कपट हो। निलो स्याल कपटी थियो। राजनीतिमा आउनुअघि गरेका कृत्यका कारण अब ऊ खोरमा छ। स्यालको नियति नै खोर हो। स्याल र स्यालका छाउराछाउरीले राजनीतिको कखरा नपढी मैदानमा हाम्फाल्नु उचित थिएन। अहिले उनीहरू अनाथ भएका छन्।
गगन थापा अर्का लोकरञ्जक राजनीतिक उद्यमीमा रूपान्तरित हुँदैछन्। नेपाली कांग्रेसले औपचारिक रूपमा गणतन्त्रको मार्ग प्रशस्त गर्ने निर्णय गर्नुअघि नै उनी सडकमा ढुङ्गा हानेर नै सही, गणतन्त्रको नारा उराल्नेमध्येका एक थिए। सैद्धान्तिक रूपले नेपाली कांग्रेसको बहाव यो दिशामा मोड्न खोज्ने नरहरि आचार्य अहिले शारीरिक रूपले अशक्त छन्। त्यसैले निष्क्रिय छन्। तर गगन थापाको गणतान्त्रिक नाराको उपादेयता के रह्यो? गणतान्त्रिक आन्दोलनका विरोधी केपी ओली प्रधानमन्त्री छन्। गणतान्त्रिक आन्दोलन त टाढाको कुरा, संघीय संविधानको अवधारणाका विरोधी शेरबहादुर देउवा गगनका दलका सभापति छन्। शेरबहादुरको नाममा बीपी कोइरालाको दलमा जुद्ध शमशेरकी नातिनी आरजुको कमिसनखोरी चल्दैछ।
गगन थापा त्यही कमिसनखोर सिन्डिकेटलाई बलियो बनाउने कथित उच्च संयन्त्रका एक सदस्यका रूपमा सीमित छन्। उनी जिल्ला दौडाहामा जाँदा दीपक मनाङ्गे वा मिलन चक्रेको शैलीमा प्रस्तुत हुन्छन्। गगनको यो यात्राले निरन्तरता पायो भने उनी अर्को शेरबहादुर देउवाका रूपमा विकसित हुनेछन्।
सैद्धान्तिक धरातलमा उभिएर बोल्ने भाषणबाज अर्का महामन्त्री विश्वप्रकाश शर्मा अहिले पनि टुलुटुलु हेर्दैछन्, भोलि उनको हैसियत कृष्णप्रसाद भट्टराईको भन्दा गएगुज्रेको हुने छ।
भोलि के होला?
नेपाली जनतासँग भोलि के होला भनेर सोच्ने समय र सुविधा छैन। आज के हुँदैछ? सोच्ने समय घर्किंदैछ।
राजतन्त्रको पुनर्स्थापना केपी ओलीको बयलगाडा यात्रा जस्तो कलाविहीन कविता बाहेक अरु केही होइन। जंगबहादुरको उदयअघि नेपालको शाहवंश मधेश कूच गर्न व्यस्त रह्यो। सन् १८४६ मा कोतपर्वपछि शाहवंश खोपीको देवतामा सीमित भयो। त्रिभुवनको प्रजातन्त्र प्रेमको जति महिमामण्डन गरे पनि आफू नमरुञ्जेल उनलाई आफै कार्यकारी हुने लोभ जाग्यो। भारतीय ईशारामा उनले नेपालको मन्त्रिपरिषदमा भारतीय राजदूतको उपस्थितिलाई औपचारिकता दिएकै हुन्।
राजा महेन्द्रले बीपी कोइराला र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूको व्यक्तित्वको टकरावलाई सुविधाजनकरूपमा उपयोग गरेर सत्र सालको सैनिक कू गरेकै हुन्। ०४६ सालको आन्दोलन सफल भएर ०४७ सालमा जारी भएको संविधान घोषणा गर्दा जनताको सरकारले दिएको लिखित वक्तव्यलाई अवहेलना गरेर राजा वीरेन्द्रले खल्तीबाट चटकेले परेवा निकालेको शैलीमा आफ्नो छुट्टै वक्तव्य मार्फत ‘यो संविधान लागू गरेको छु’ भनेकै हुन्। ज्ञानेन्द्रको लोभी स्वार्थी चलखेल त आलो घाउ नै हो।
नेपालको शाहवंश संवैधानिक सीमामा बस्ने चरित्रको छैन। यसको समूल नष्ट हुनु आवश्यक छ। त्यो भन्दापहिले राज्यसत्तामा संसदीय अंकगणितको बाघचाल खेलेर बाख्रा मार्न पल्किएका ओली, देउवा र दाहालहरूको श्री ३ को श्रीपेच खोसेर फाल्नु जरुरी छ।
गगन थापाहरूलाई सुध्रिने मौका छ। एमालेका योगेश भट्टराईहरूको रेल छुटिसक्यो।
राजनीति स्वार्थ र चाकरीभन्दा माथि, त्याग र भक्तिको मार्ग हो। पञ्चायतकालदेखि नै नेपालमा एउटा एउटा भाष्य निर्माण भएको थियो, ‘राजनीति भनेको बिग्रेका मान्छेको पेसा हो।’
मालदिभ्सका एक राष्ट्रपति थिए, मौमुन अब्दुल गैयुम। उनले भारतको सहयोगमा तीस वर्ष शासन गरे। तर जनताको जीवनस्तरमा सुधार भएन। उनको रोचक रणनीति थियो, विदेशबाट पढेर आएका हरेक युवालाई उनी जबर्दस्ती कुनै न कुनै देशको राजदूत बनाएर फेरि विदेश नै पठाइदिन्थे। उनलाई चुनौती दिने मान्छे उनलाई मन पर्दैनथ्यो।
पञ्चायतकालीन राजाका भारदारले पनि त्यही गरे। ०४६ सालपछिका कथित नेताहरूले पनि यही रणनीतिको अनुशरण गरेर आफ्ना चुनौतीलाई पन्छाए। नयाँ पुस्तामा राजनीति खराब ‘पेसा’ हो भन्ने अवाधारणालाई नियतवश स्थापित गरियो। अहिलेको समयले त्यसको परिणाम भोग्दैछ।
नयाँ पुस्ता राजनीतिमा आउनु जरुरी छ। सामन्ती राजावादीहरूको पदचाप अहिलेको समयसँग मिल्दैन। नेपालमा कसैलाई मन परोस् वा नपरोस्, पचहत्तर वर्षदेखिको उत्तराधिकार बोकेको प्रजातन्त्रवादी र प्रगतिशील राजनीतिक धारको विकल्प छैन। नयाँ पुस्ता यसैबाट उदाउनु जरुरी छ। उदाउने छ।
जनताले देश ‘बनाइदिने’ देवदूतको आशा गर्न छोडेर आफ्नो जिम्मेवारी ग्रहण गरेको दिन विस्थापित राजाको राष्ट्रवादी भावनात्मक मोलमोलाइ स्वतः अप्रासंगिक हुने छ। अहिलेका श्री ३ हरू जेलमा हुनेछन्। यही नै उनीहरूको गन्तव्य हो।
अब हुनुपर्ने र हुने नै यही हो।
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
Shares

प्रतिक्रिया