सन् १९६० को अप्रिलमा काठमाडौँबाट अमेरिकाको वासिङ्टन डीसीमा एउटा अफिसियल वायर आयो। जसमा भनिएको थियो– ‘राजा महेन्द्र राष्ट्रपति आइजनहावरसँग एक्लै अर्थात् वान टु वान वार्ता गर्न चाहन्छन्। र, खुला रूपमा नेपालको राजनीतिक समस्याका बारेमा भन्न चाहन्छन्।’
वायरमा यो पनि भनिएको थियो, ‘राजामा तिब्बतलाई जस्तै नेपाललाई पनि चीनले विलय गर्ने प्रयास गर्छ कि भन्ने चिन्ता छ। र, यस्तै डर भारतका तर्फबाट पनि छ।’
त्यस वायरका खास विषय र त्यसपछिका राजाका भ्रमणसँग सम्बन्धित अनेक रोचक र असाध्यै महत्त्वपूर्ण दस्तावेजहरूका बारेमा हामी लेख्दै गरौँला अरु कुनै बेला।
राजा महेन्द्र आएको केही महिनापछि अर्थात् १९६० कै सेप्टेम्बरमा नेपालका प्रधानमन्त्री बीपी कोइराला अमेरिका आए।
सेप्टेम्बर २२, १९६०।
समय दिउँसोको साढे तीन बजे।
ठाउँ न्युयोर्क।
वार्ता सुरु भएको छ– नेपालका प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपति आइजनहावरबीच।
नेपालका प्रधानमन्त्री कोइराला र अमेरिकी राष्ट्रपति आइजनहावरसँगै वार्तामा सहभागी छन्– अमेरिकी विदेशमन्त्री क्रिस्टियन हर्टर, लेफ्टिनेन्ट कर्णेल जोन आइजनहावर, दक्षिण एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री जी लुइस जोन्स र अमेरिकाका लागि नेपाली राजदूत ऋषिकेश शाह।
अमेरिकी राष्ट्रपति सुरुमै प्रधानमन्त्री कोइरालासँग जिज्ञासा राख्छन्, नेपालको पूर्व–पश्चिम राजमार्ग र यसको निर्माणमा भारतीय चासोको सम्बन्धमा।
प्रधानमन्त्री कोइराला भन्छन्, ‘खासमा भारतको चासो उत्तर–दक्षिण राजमार्ग बनाउनमा थियो।’
वार्तामा सगरमाथामाथि चीनले गरेको दाबी र भएको समझदारीका बारेमा पनि कुरा हुन्छ।
गजब, त्यो वार्ता।
राजा महेन्द्रको त्यो डर, अमेरिकी राष्ट्रपतिसँग उनले गर्न चाहेको एकल वार्ता, बीपी र अमेरिकी राष्ट्रपतिबीचको वार्तामा उठेका विषयहरूको खास अर्थ थिए र छन्।
आजको नेपाली राजनीतिले त्यसको अझै भेऊ पाउन सकेको छैन। दुःख लाग्छ।
आज न नेपालमा राजा महेन्द्र छन्, न बीपी, न अमेरिकामा आइजनहावर।
आज नेपाल ओली–देउवा राजमा छ र अमेरिका ट्रम्प राजमा। कतिपयले आज अमेरिका मस्क राजमा छ भन्छन्।
खासमा दुवैतिर कम्पनी राज छ।
साधारण तथ्य के हो भने कम्पनी र देश दुई बिल्कुलै फरक चिज हुन्। कम्पनी व्यापार मात्र हो, देश व्यापार मात्र होइन। कम्पनी भावनाले चल्दैन, देश भावनाबिना चल्दैन।
समयको दुर्भाग्य, दुवैतर्फ भावना भताभुंग हुँदैछ। हामी चुपचाप साक्षी बसिरहेका छौँ। अरु उपाय पनि खासै छैन। लोकतन्त्रका नाममा जनता निरीह र नेता–व्यापारी शक्तिशाली हुने नयाँ कहर विश्वभरि फैलिँदो छ। राजनीति र कूटनीतिका अनुशासनहरू तोडिने क्रममा छन्।
अमेरिकाको ओभल अफिसमा राष्ट्रपतिका अगाडि छोरोलाई काँधमा राखेर एउटा व्यापारी विश्वलाई लोकतन्त्र र सुशासनको पाठ पढाइरहेको छ। र, उता नेपालमा बालुवाटारको बैठक कक्षमा एउटा र्यापरले हानेको र्याप सुनेर प्रधानमन्त्री ओलीले नेपालीलाई संस्कारको पाठ पढाइरहेका छन्।
हत्तेरी, हामी कस्तो समयमा बाँच्न आइपुग्यौँ?
आज यस्तो लाग्दैछ– यो लोकतन्त्र भन्ने चिज पनि खासै केही होइन रहेछ। यस्तो लाग्दैछ– आज हामी परम्परागत लोकतन्त्रका अन्तिम दिनहरू गनिरहेका छौं।
थाहा छैन हामी यसपछि कहाँ जान्छौँ?
थाहा छैन हाम्रो खास जाने ठाउँ कहाँ हो?
जब हामीले संसारमै लोकतन्त्र र कूटनीतिको ठेकेदार मानिने अमेरिकाको ह्वाइट हाउसको ओभल अफिसमा राष्ट्रपति ट्रम्प र जेलेन्स्कीबीच फेब्रुअरी २८ मा भएको वार्ता हेर्यौँ, हामीलाई लाज लाग्यो। लोकतन्त्र र कूटनीतिका नाममा हामी लजायौँ।
हामी यो भनिरहेका छैनौँ– राष्ट्रपति ट्रम्प ठिक वा जेलेन्स्की ठिक। वा दुवै बेठिक वा एक ठिक, एक बेठिक।
हामी यत्ति मात्र भनिरहेका छौँ– हामीलाई लाज लाग्यो।
कुरा लाजको मात्र होइन, हामी आज यस्तो दुर्भाग्यशाली पुस्ता हुँदैछौँ, जसका लागि उता अर्थात् नेपालमा हुँदा त कमसेकम यताको लोकतन्त्र र कूटनीति लोभलाग्दो थियो। आज यता अर्थात् अमेरिका हुँदा न यताको, न उताको लोकतन्त्र र कूटनीति लोभलाग्दो छ।
हामीलाई यतिबेला नारायणगोपालले गाएको एउटा गीत सम्झेर उनकै शैलीमा भन्न मन लागिरहेको छ– एउटा राष्ट्रपति, एउटा प्रधानमन्त्री वा ती पद धारण गरेको एउटा व्यक्तिको सोच, अहं, शैली र व्यवहारले कति ठूलो फरक पार्दो रहेछ देशको जीवनमा!
जब देशको जीवनमा फरक पर्न थाल्छ, त्यहाँका मान्छेको जीवनको फरकको के कुरा?
कुरै भएन।
हुन त हामीलाई थाहा छ, समय सधैँ खराब हुँदैन। खराब समय पनि बितेर जान्छ। यसैले बीचको समयमाथि हतारिएर प्रतिक्रियात्मक टिप्पणी गर्ने र त्यसैको आधारमा आफ्ना दृष्टिकोण बनाउने कच्चा विश्लेषक बन्न उतिसारो हतार हामीलाई छैन, जतिसारो हतार नेपालका युवराज संग्रौला, डा. सुरेन्द्र केसी मार्कामा छ।
हिजोआज, अझ खासगरी अमेरिकामा राष्ट्रपति ट्रम्पले शासन सत्ता सम्हालेयता हामीले नेपालका धेरै कथित बुद्धिजीवी र परराष्ट्रका जानकारहरूका कुरा सुन्यौँ, पढ्यौँ। परराष्ट्रमन्त्री भइसकेका मान्छेका कुरा पनि पटकपटक सुन्यौँ, पढ्यौँ।
ती यति कच्चा होलान् भन्ने यो तहको आभास आजसम्म थिएन। खासगरी, दुईवटा विषयमाः ट्रम्प प्रशासनले रोक्का गरेको सहायता रकम र गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई देश फिर्ती गराउने विषयमा।
नेपालमा ती दुवै विषयमा गरिएका अधिकांश टिप्पणी वा विश्लेषण असाध्यै आधारहीन र विवेकहीन थिए र छन्। अमेरिकाले यसअघि नेपाललाई दिएका सहायता रकमका सन्दर्भमा नेपालमा यसरी प्रचार गरियो कि त्यहाँ सबै गलतै गलत भएको थियो। सबै गलत भएको कुनै तथ्यपरक विश्लेषण कसैबाट आएको हामीलाई थाहा छैन।
हो, हामी यो भन्न सक्छौँ, वासिङ्टनबाट काठमाडौँ गएको केही रकम काठमाडौँका केही टाठाबाठाहरूका हात लागेकै हो। यसका पनि कारणहरू छन्। ठाडो भाषाम भन्यौँ– पैसामा इज्जत देख्ने नेपाली समाजमा कोही कसैलै पैसा मार्फत इज्जत आर्जन गर्न खोज्यो त के बिरायो? जुन समाज पैसामा इज्जत देख्छ, त्यहाँ पैसामाथि अलिअलि तलमाथि हुने नै भयो। समस्या त समाजको हो, जो पैसामा व्यक्तिको इज्जत मापन गर्छ।
हिजो र आज पनि को नेपाली छैन, जो पैसामा मान्छेको इज्जत देख्छ? हामी पहिला यसको जवाफ खोज्न नेपालका तथाकथित बुद्धिजीवीहरूलाई आग्रह गर्दछौँ।
हामी आश्चर्यमा छौँ– जो मान्छे कहिले चीनको, कहिले भारतको ‘ज्वाइँ भ्रमण’ गरिरहेको छ, त्यही मान्छे यूएसएआईडीको पैसा यसले खायो कि उसले भनेर हिँडिरहेको छ।
बडो विचित्र!
यो बीचमा प्रचार यसरी गरियो कि कुनै अमेरिकीले कुनै नेपालीलाई हातमा डलरको मुठा दियो र यसो वा उसो गर्न भन्यो। प्रचार वा टिप्पणी गर्नेहरूले के बुझेनन् भने पैसा एउटा सिस्टमबाट अर्को सिस्टममा सिस्टमबाटै गएकोे हो। सिस्टम नीतिको एउटा हिस्सा हो। कुरा यति मात्रै हो कि, दोस्रो ट्रम्प राज आउनुअघिको अमेरिकी प्रशासनको नीति जे थियो, आज त्यो छैन। बस्!
यो पनि भनौँ– भोलि फेरि आजको जस्तो नहुन सक्छ। राष्ट्रपति ट्रम्प चार वर्षका लागि आएका हुन्, सधैँका लागि होइन।
त्यसैले हामी टाढाबाट नेपालका कथित नेता, बुद्धिजीवी र परराष्ट्रविदहरूलाई भन्न चाहन्छौँ– ‘प्लिज होल्ड योर थट्स!’
‘होल्ड योर थट्स’ भन्नु पर्ने अर्को पनि एउटा विषय छ: गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरू र तीनको देश निकाला।
यो विषयमा नेपालका सञ्चारमाध्यम र तथाकथित बुद्धिजीवीहरूका टिप्पणी र विश्लेषण पनि आधारहीन र विवेकहीन छन्।
आफूलाई असाध्यै विद्वान ठान्ने र अहिले नेपाली मिडियामा छाइरहेका एकजनाले त यसोसम्म भन्न भ्याए– ‘अमेरिकाले त्यहाँ जन्मेहुर्केका बीस हजार नेपाली बालबालिका, जो नेपाली भाषा र संस्कृति बुझ्दैनन्, जो हाफ प्यान्ट लाउँछन्, तिनलाई नेपाल फर्काइँदैछ, यो नेपालको ठूलो समस्या र चिन्ताको विषय हो।’
नेसनल टेलिभिजनमा यसो भन्दै गर्दा तिनले के खाएका थिए, हामीलाई थाहा छैन। यति चाहिँ पक्का हो– ती सही सलामत बुद्धिजीवी चाहिँ पक्कै होइनन्।
ती र त्यस्ता मार्का नेपाली कथित विश्लेषक र बुद्धिजीवीहरूलाई पनि हाम्रो आग्रह छ– प्लिज होल्ड योर थट्स!
दलको भाग लागेका तथाकथि बुद्धिजीबी र परराष्ट्र नबुझेका परराष्ट्रविदहरूले नेपालमा गर्ने जथाभावी विश्लेषण जब हामी टाढाबाट पढछौँ र सुन्छौँ, असाध्यै मन कुँडिन्छ।
ती यति सतही लाग्छन् कि आजकाल हामीलाई टाढाबाट भन्न मन लाग्छ– भगवान्, कृपया नेपाललाई नेता, तथाकथित बुद्धिजीबी र विश्लेषकहरूबाट बचाउनुस्। नेपालमा कुनै खतरा छ भने यिनैबाट छ।
अमेरिका र युक्रेनका राष्ट्रपतिबीच भएको गरम वार्ताका सन्दर्भमा नेपालका नेता र कथित विश्लेषकहरूबाट आएका पछिल्ला टिप्पणी र विश्लेषणमाथि पनि हामी यही भन्छौँ– प्लिज होल्ड योर थट्स!
Shares

प्रतिक्रिया