विचार


जेलेन्स्कीलाई युरोपले दिएको जीवनदान

तर अमेरिकाको सहयोगबिना टिक्न सक्ला युक्रेन?
जेलेन्स्कीलाई युरोपले दिएको जीवनदान

जेलेन्स्की, स्टार्मर र म्याक्रोँ


गिडियन राकमन
फागुन १९, २०८१ सोमबार २१:१,

भ्लादिमिर जेलेन्स्कीमाथि डोनाल्ड ट्रम्प र जेडी भान्सको मौखिक हमलापछि युक्रेनले विनाशको सामना गरिरहेको थियो। ट्रम्पले भ्लादिमिर पुटिनसँग मिलेर एक्लो परेको युक्रेनलाई रुसको जित स्वीकार्न बाध्य पार्ने खतरा स्पष्ट थियो।

यो जोखिम अहिले पनि कायमै छ। तर, बेलायतका प्रधानमन्त्री किअर स्टार्मर र फ्रान्सेली राष्ट्रपति इम्यानुएल म्याक्रोँले मिलेर गरेको कुशल कूटनीतिले सबैभन्दा खराब नतिजालाई तत्कालका लागि टारिदिएको छ। लन्डनमा भएको बैठकमा जेलेन्स्कीलाई युरोपेली नेताहरूले न्यानो स्वागत गरे। उनले राजा चार्ल्सलाई पनि भेटे, जसले जेलेन्स्कीले सुट नलगाएकोमा कुनै चासो देखाएनन्। सन्देश स्पष्ट थियो– जेलेन्स्की र युक्रेन एक्लो छैनन्।

त्यसभन्दा पनि महत्त्वपूर्ण कुरा के हो भने स्टार्मर र म्याक्रोँले अस्थायी रूपमै भए पनि ट्रम्प र पुटिनको हातबाट कूटनीतिक पहल खोसेका छन्। उनीहरूले पहिले युरोपेली नेताहरूले युक्रेनसँग मिलेर शान्ति प्रस्ताव तयार गर्ने र अमेरिकालाई बुझाउने घोषणा गरे। यसले युक्रेनको शान्तिलाई अमेरिका र रुसको मात्र सरोकारको विषय बनाउन ट्रम्पलाई मुस्किल पर्ने छ।

युरोप र युक्रेनलाई पनि वार्तामा सहभागी गराइनु पर्छ मात्र नभनेर स्टार्मर र म्याक्रोँले उनीहरूलाई वार्तामा बोलाइने सुनिश्चित गर्न महत्त्वपूर्ण कदम चालेका छन्। फ्रान्सले अस्थायी युद्धविरामका लागि पनि जोड दिइरहेको छ। यसले उनीहरू शान्तिका लागि प्रयास गरिरहेका छन् भन्ने देखाउँछ।

तर, यी घटनाक्रमप्रति ज्यादा उत्साहित भइहाल्नुपर्ने स्थिति छैन। अझै पनि शान्तिको प्रयास असफल हुन सक्छ। रुस लडाइँ रोक्न तयार भएको कुनै संकेत देखिँदैन। वास्तवमा पुटिनका लागि सम्झौताको प्रोत्साहन तीव्र गतिमा कम हुँदै छ। किनकि अब उनी साँच्चै आशा गर्न थालेका छन्– अमेरिकाले चाँडै युक्रेनलाई सैन्य सहायता रोक्ने छ।

अमेरिकाले बेलायत र फ्रान्सलाई सैन्य सहायता दिन सहमति गर्ने सम्भावना पनि कम छ। तेस्रो विश्वयुद्धको डरका कारण ट्रम्प कुनै पनि जोखिम लिन अनिच्छुक हुने छन्। तैपनि स्टार्मरले जोड दिइरहेका छन्– अमेरिकी सहायताबिना कुनै पनि सौदाले काम गर्दैन।

शान्ति सम्झौता भयो नै भने पनि वार्तामा महिनौँ लाग्ने छ। त्यतिबेलासम्मका लागि युक्रेनले अझ दृढ भएर आएको रुससँग लडिरहनुपर्ने छ। ट्रम्प र जेलेन्स्कीबीच गत शुक्रबारको झगडाअघि नै ट्रम्पले युक्रेनलाई सहयोगको अर्को प्याकेज नपठाउने स्पष्ट भइसकेको छ। झगडालगत्तै अमेरिकाले युक्रेन पठाउँदै आएको सम्पूर्ण सैन्य सहायता तत्काल रोक्ने चर्चा समेत चलेको थियो। 

लोइड अस्टिन रक्षामन्त्री हुँदा उनको चिफ अफ स्टाफ रहेकी केली माग्सेमेनले सहयोग रोक्ने खबरप्रति दिएको प्रतिक्रिया यस्तो थियो, ‘यसले केही सातामै युक्रेनलाई थला पार्न सक्छ। आधारभूत रूपमा हामीले युक्रेन पुटिनलाई जिम्मा लगाएसरह हुनेछ।’ बाइडेनको पालाका अर्का अधिकारीले अमेरिकी सहयोगबिना पनि युक्रेन महिनौँ लडिरहन सक्ने बताए। सायद वर्षौंसम्म भने सक्दैन।

तथापि, युद्धमा सामेल कयौँ युक्रेनीहरूको मनस्थिति निकै सकारात्मक रहेको गतसाता किभ जाँदा मैले थाहा पाएँ। त्यो कुनै देखावटी कुरा थिएन। युद्ध कसरी लडिँदैछ, त्यसलाई हेरेर गरिएको तर्कसंगत आकलन थियो त्यो।

तीन वर्षको लडाइँको क्रममा ड्रोन युद्धमा युक्रेनले हासिल गरेको विशेषज्ञताले द्वन्द्वको प्रकृति नै बदलिदिएको छ। ड्रोन स्पेस ल्याब चलाउने अलेक्सान्द्र कोमियाक युद्धको सुरुवातमा जसरी रुसले किभमा आक्रमण गर्न अब सम्भव नरहेको बताउँछन्। सेना वा ट्यांक ठूलो संख्यामा जम्मा भए युक्रेनी ड्रोन आक्रमणमा परी नष्ट हुने उनको भनाइ छ।

युक्रेनमा निर्मित ड्रोनको प्रभाव ठूलो छ। गत वर्ष रुसले बेहोरेको झस्काउने खाले क्षति त्यसैको कारण भएको बताइन्छ। युक्रेनको ०.५ प्रतिशत भूमि कब्जा गर्न रुसको ४ लाख सेना मारिएको वा घाइते भएको पश्चिमा स्रोतहरू स्वीकार्छन्।

समस्या के छ भने युक्रेनी सेनाले ड्रोन उडाउँदा इलोन मस्कको स्टारलिंकको इन्टरनेट सेवा प्रयोग गरिरहेको छ। निसाना लगाउने ठाउँको जानकारी वास्तविक समयमै अमेरिकी गुप्तचर निकायहरूले नै उपलब्ध गराउँछन्। त्यस्ता सेवा बन्द हुन सक्छन्। तर, युरोपको सहयोग र घरेलु विशेषज्ञताका कारण युक्रेनले लडाइँ जारी राख्न सक्ने कोमियाकको विश्वास छ।
 
यतिखेर रुसले रुचाएको नतिजा सायद सम्पूर्ण युक्रेन कब्जा गर्नुभन्दा किभमा मस्को समर्थित कठपुतली सरकार स्थापना गर्नु हो। सोही कारण पुटिनले ट्रम्पको समेत समर्थनमा युक्रेनमा चुनावका लागि दबाब दिइरहेका छन्। तर, चुनावमा जेलेन्स्कीको जितलाई रोक्न रुसको हस्तक्षेप पर्याप्त नहुन सक्छ। ट्रम्पले अन्जानमै जेलेन्स्कीलाई जनमत बढाउन ठूलो सहयोग गरेका छन्। 

ओभल अफिसमा ट्रम्प र भान्सलाई चुनौती दिएर जेलेन्स्कीले अरु नेतालाई गलाउने दबाब थेग्न आफू सक्षम रहेको देखाएका छन्। ट्रम्प र भान्सलाई घरेलु मैदानमा कठोर देखिन मजा आयो। तर, जेलेन्स्की साँच्चै कठोर छन्। रुसी सेना नजिक आउँदै गर्दा र सहर बमबारीमा पर्दा पनि उनी किभमै बसिरहे। तर, यसैसाता केही उपद्र्याहाहरूको सामना हुँदा भान्स सुरक्षित स्थानमा गए।

युद्धप्रतिको पश्चिमा दृष्टिकोणलाई अझै पनि २०२१ मा तालिबानको हातमा अफगानिस्तानको पतन भएको घटनाले प्रभावित पारेको देखिन्छ। तर, युक्रेन अफगानिस्तान होइन र किभ पनि काबुल होइन।

जेलेन्स्कीको देश खतरनाक स्थितिमा छ। तर, युरोपको सहयोगले युक्रेन वास्तविक शान्ति प्राप्त हुञ्जेलसम्म लडाइँमा टिकिराख्न सक्छ। जुन शान्तिले युक्रेनको स्वतन्त्रता र सार्वभौमसत्ता ग्यारेन्टी गर्छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad