विचार


चीनले आविष्कार र अमेरिकाले नक्कल गर्ने पालो

तैपनि डिपसिकबाट चीनभन्दा अमेरिकालाई ज्यादा फाइदा!
चीनले आविष्कार र अमेरिकाले नक्कल गर्ने पालो

डिपसिकका संस्थापक लियाङ वेनफेङ (दायाँ)


जोन थोर्नहिल
माघ १९, २०८१ शनिबार १७:४५,

गएको पूरै साता चिनियाँ इन्टरनेटमा विजयको खुसियाली छाइरह्यो। २०१७ मा ‘गो’ नामक बोर्ड गेमका विश्व नम्बर एक खेलाडी के चाइलाई गुगलको डिपमाइन्डले हराएको घटनापछि आर्टिफिसियल इन्टेलिजेन्समा पश्चिम अब्बल रहेको मानिएको थियो। त्यसैगरी, अहिले दुनियाँलाई जित्ने डिपसिकको एआई मोडललाई चीनमा ठूलो सफलताका रूपमा लिइएको छ।

एक चिनियाँ प्रविधि कम्पनीका कार्यकारी प्रमुखका अनुसार डिपसिकको अरुभन्दा बाठो र सस्तो एआई मोडल ‘त्यस्तो वैज्ञानिक र प्राविधिक उपलब्धि हो, जसले हाम्रो राष्ट्रिय गन्तव्यलाई आकार दिने छ।’ अर्का एकजनाले एआईमा रहेको अमेरिकाको प्रभुत्वलाई चुनौती दिने चिनियाँ टोलीको महत्त्वपूर्ण हिस्सा डिपसिक बनेको टिप्पणी गरेका छन्।

तर, चीनको यो उत्साहले ठूला अमेरिकी प्रविधि कम्पनीहरूलाई भने ठूलो पीडा दिएको छ। किनकि लगानीकर्ताहरूले सोध्न थालेका छन्, डिपसिकको सफलताले एआई पूर्वाधारमा ठूलो खर्च गर्नुपर्छ भन्ने अमेरिकी कम्पनीहरूको तर्कलाई काटिदिएन? अमेरिकी प्रविधि तथा उर्जा कम्पनीहरूले गत सोमबार सेयर बजारमा १ ट्रिलियन डलर गुमाए। यद्यपि, त्यसपछिका दिनमा तिनको मूल्य केही बढेको छ।

विदेशमा अझै पनि चीनको एउटा रुढीग्रस्त छवि कायम छ– अत्यधिक सरकारी अनुदान र ठूलो लगानी चाहिने उत्पादनमुखी चिनियाँ अर्थतन्त्र स्मार्टफोन, सोलार प्यानल र विद्युतीय सवारीजस्ता सस्ता हार्डवेयर उत्पादनमा मात्र अगाडि छ। तर, सत्य के हो भने चीन धेरै पहिले नै विश्वकै सफ्टवेयर महाशक्तिका रूपमा उदाइसकेको छ। ईकमर्स र डिजिटल वित्त सेवामा पश्चिमलाई हराएको उसले एआईमा पनि विशाल मात्रामा लगानी गरेको छ। 

डिपसिकको उदयले नै चीनको नवप्रवर्तनबारेका पुराना पूर्वाग्रहहरूलाई झुटा साबित गर्छ। भलै, यो कुनै आम चिनियाँ कम्पनी भने होइन। अमेरिकाले आविष्कार गर्छ, चीनले नक्कल गर्छ र युरोपले नियमन गर्छ भन्ने पुरानो भनाइलाई पनि यसले खारेज गरिदिएको छ। धेरै हिसाबले डिपसिक सिलिकिन भ्यालीको कुनै आत्मनिर्भर स्टार्टअपजस्तै लाग्छ, भलै यो ग्यारेजमा स्थापना भएको थिएन। २०२३ मा सुरु भएको यो कम्पनीको महत्त्वाकांक्षा ओपनएआई र गुगलको डिपमाइन्डजस्तै मान्छे बराबरीको कृत्रिम बौद्धिकता अर्थात् आर्टिफिसियल जेनरल इन्टेलिजेन्स प्राप्त गर्नु हो। यसका संस्थापक लियाङ वेनफेङ चीनको एउटा प्रमुख हेज फन्ड चलाउँछन्। जसका कारण डिपसिकलाई बाहिरबाट लगानी आवश्यक परेन।

एक अन्तर्वार्तामा लियाङले बताएका छन्– डिपसिक व्यावसायिक उद्यमभन्दा रिसर्च ल्याबका रूपमा सञ्चालित छ। कर्मचारी नियुक्त गर्दा सो कम्पनीले प्रमाण पत्रभन्दा योग्यतालाई ज्यादा प्राथमिकता दिएको थियो। चीनमै अध्ययन गरेका युवा शोधार्थीहरूलाई भर्ती गरिएको थियो। लियाङका अनुसार उनीहरूलाई नयाँ खोज र गल्ती गर्ने स्वतन्त्रता दिइएको थियो। ‘नवप्रवर्तन अक्सर स्वाभाविक रूपमा हुन्छ। यो सुनियोजित र योजनाबद्ध रूपमा गर्न सकिँदैन, न त सिकाउन नै सकिन्छ,’ उनी भन्छन्।

डिपसिक ओपन सोर्स एआई मोडलमा निर्भर छ। यो मेटाको लामाजस्तो छ। ओपनएआई र गुगलको जस्तो स्वामित्व कायम रहने मोडलभन्दा उल्टो। एजीआईसम्म पुग्नका लागि उसले फोटो, अडिओ, भिडिओ सामेल गरेर अघि बढ्नुभन्दा भाषामा ध्यान केन्द्रित गर्छ। ‘‘सोच्नु’ भनेको के हो भनेर सोच्दा वास्तवमा त्यो मस्तिष्कले भाषा बुन्ने प्रक्रिया हुन सक्छ। यसले के थाहा हुन्छ भने मान्छेको जस्तो कृत्रिम बुद्धिमत्ता सम्भवतः ल्याङ्ग्वेज मोडलबाटै उत्पन्न हुन सक्छ,’ लियाङले भनेका छन्।

एउटा क्षेत्रमा मात्र केन्द्रित हुने डिपसिकको तरिकाले गर्दा सो कम्पनी आकर्षक मोडल विकास गर्न सफल भयो। त्यो पनि असाधारण कम्प्युटिङ क्षमता र ठूलो खर्चबिनै। अरु चिनियाँ एपका हकमा जस्तै अमेरिकी नेताहरूले तुरुन्त डिपसिकका बारेमा सुरक्षा र गोपनीयतासम्बन्धी चिन्ता प्रकट गरे। अझ ओपनएआईले त डिपसिकले आफ्नो कपीराइट उल्लंघन गरेको हुनसक्ने आरोप समेत लगायो। ओपनएआईमाथि नै अरुले कपीराइट उल्लंघनको आरोप लगाएको बेलामा कतिपयलाई यो पाखण्ड लाग्न सक्छ।

कतिपय ठूला अमेरिकी प्रविधि कम्पनीले डिपसिकको मोडलप्रति चिन्तासहितको प्रतिक्रिया व्यक्त गरे पनि थुप्रै डेभलपरहरूले यो प्रविधिले पैदा गर्न सक्ने अवसरको लाभ उठाउने तत्परता देखाए। डिपसिकको ज्यादा क्षमता र सस्तोपनले यसको उपयोगिता बढाएको छ। सोमबार डिपसिक अमेरिकामा एप्पलको एप स्टोरमा सबैभन्दा बढी डाउनलोड भएको एप बन्यो।

अनौठो कुरा के छ भने डिपसिकको सफलताबाट चीनलाई भन्दा अमेरिकालाई ज्यादा फाइदा हुन सक्छ। पछिल्ला केही वर्षमा चीनले कडा नियन्त्रण लागू गरेर आफ्नो निजी क्षेत्रको गला थिचिरहेको छ। चीनमा स्थापना हुने स्टार्टअपको संख्या २०१८ देखि घटिरहेको छ। गत वर्ष चीनमा भेन्चर क्यापिटल ३७ प्रतिशतले घट्दा अमेरिकामा जोडदार वृद्धि भइरहेको छ।

डिपसिकले अमेरिकी प्रविधि क्षेत्रका ‘ओलीगार्क’हरूको अंहकार तोडिदिएको छ। यसले एआईको विश्व प्रतिस्पर्धा तीव्र पारिदिएको छ र एआईको प्रयोगलाई पनि तीव्रता दिने छ। अस्थायी रूपले यो चीनले आविष्कार गर्ने र अमेरिकाले अनुकरण गर्ने घटना हुन सक्छ। तर, यो एउटा ठूलो झट्का मात्र हो कि दीर्घकालीन प्रवृत्तिको सुरुवात?

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad