राजनीति


भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

भक्तपुरमा बाल अदालत गठन गर्ने मन्त्रिपरिषद्को निर्णय

नेपालखबर
माघ १८, २०८१ शुक्रबार १७:५५, काठमाडौँ

सरकारले भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय गरेको छ। यही माघ १५ गते बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार आगामी वर्षको वैशाख २ गतेदेखि बाल अदालत सञ्चालनमा ल्याइनेछ।

सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै बालबालिकासम्बन्धी ऐन बमोजिम काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्ला अदालतको बाल इजलासबाट हेरिने मुद्दाको प्रादेशिक क्षेत्राधिकार रहने गरी भक्तपुरमा बाल अदालत गठन गर्ने निर्णय भएको जानकारी दिए।

सरकारले सिक्टा सिँचाइ आयोजनाका लागि आवश्यक पर्ने बाँकेको नेपालगन्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, वैजनाथ, जानकी, डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा निजी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ।

सरकारले थाइल्यान्डमा विसं २०८१ माघ १५ देखि २० सम्म आयोजना हुने ‘प्रेस्टिजियस एनुअल मिटिङ अफ द प्रिन्स महिडोल अवाडर्स कन्फ्रेन्स’ (पीएमएसी) कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष शिवराज अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्तहरू क्रमशः डा सुमित्रा श्रेष्ठ अमात्य र किशोरकुमार सिलवाल आगामी फाुगन १३ देखि २० सम्म ‘एसियन इन्टिच्युट अफ टेक्नोलोजी’ (एआइटी) मा सञ्चालन हुने ‘गर्भनेन्स एन्ड एन्टी–करप्सन इरेडिसन स्ट्रेजी’ विषयक कार्यक्रममा सहभागी हुन स्वीकृति प्रदान गर्ने सरकारको निर्णय रहेको मन्त्री गुरूङले जानकारी दिए।

त्यस्तै, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति प्रदान गर्ने, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दोस्रो) का लागि विश्व बैंकको विकास नीति ऋणअन्तर्गत प्राप्त हुने १० करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण सहायता स्वीकार गर्ने निर्णय भएको छ।
 
वस्तुको प्रत्यक्ष बिक्री (व्यवस्थापन तथा नियमन गर्ने) ऐन, २०७४ को दफा २१ बमोजिम वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकलाई निरीक्षण अधिकृत तोक्ने र निरीक्षण अधिकृतको कार्यक्षेत्र नेपाभर रहने निर्णय गरिएको छ।

त्यस्तै बोराङ नौबिसे (रातमाटे) २२० केभी प्रसारण लाइनको टावर निर्माण गर्न धादिङको रूविभ्याली, खनियाबास, नेत्रावती डबजोङ, त्रिपुरासुन्दरी गाउँपालिका र नीलकण्ठ नगरपालिका तथा नुवाकोटको तारकेश्वर गाउँपालिका र बेलकोटगढी नगरपालिका क्षेत्रमा पर्ने निजी जग्गा प्राप्ति गर्न स्वीकृत दिने सरकारको निर्णय गरेको छ।

गल्छी रातामाटे दुई सय २० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत धादिङ र नुवाकोटमा दुई सय २० केभी प्रसारण लाइन आयोजनाको टावर प्याड निर्माणका लागि धादिङको गल्छी गाउँपालिका र नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिकामा निजी जग्गाप्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ।

नेपाली सेनाका अवकाश प्राप्त उपरथी यामप्रसाद ढकाललाई राष्ट्रिय सेवा दलको कार्यकारी महानिर्देशकमा नियुक्त सरकारले निर्णय गरेको छ। रामराजप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति प्रदान गर्ने, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिने निर्णय गरेको छ।

नेपाल स्वास्थ्य सेवा नियमावली, २०५५ को अनुसूचीमा हेरफेर तथा थपघट गर्न स्वीकृति दिने, निजामती सेवाका विभिन्न सेवा, समूह र उपसमूहका राजपत्राङ्कित द्वितीय श्रेणीका १९ जना अधिकृतहरूलाई बढुवा समिति/लोकसेवा आयोगको सिफारिसअनुसार सम्बन्धित सेवा, समूह र उपसमूहको राजपत्राङ्कित प्रथम श्रेणीको सहसचिव पदमा बढुवा नियुक्ति गर्ने निर्णय छ।

त्यस्तै, मन्त्रिपरिषद्ले यस वर्षको सहिद दिवस (माघ १६ गते) सङ्घ, प्रदेश र स्थानीय तहले भव्य रूपमा मनाउने भनिएकामा निर्णयबमोजिम सम्पन्न भइसकेकोसमेत मन्त्री गुरूङले पत्रकार सम्मेलनमा जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad